site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

राजमार्गमा बनाइएका मोटर चल्ने पुलहरू एक्कासि भत्किन थालेका छन् । केही दिन यता पृथ्वी राजमार्गमा पर्ने धादिङको धार्के नजिकको गणेश खोलाको पुल दुईपटक भत्केर आवागमन रोकिएको थियो । 

गणेश खोलाको पुलकै जस्तो अवस्थामा सँगै बनेका अरू धेरै पुलहरू हुनसक्छन् । तिनको अवस्थाको अध्ययन गरी बेलैमा मर्मत सम्भारका उपाय अपनाएको भने देखिँदैन । यो नै चिन्ताको विषय हो । 

सडक विभागका अधिकारीले पृथ्वी राजमार्ग निर्माण हुँदा बनेका अरू पुल पनि जोखिममा रहेको बताएका छन् । तिनका अनुसार त्यतिबेला पुल निर्माणमा अपनाइएको विधि नै अहिलेभन्दा कमजोर रहेकाले पुल भत्केको हो ।

Dabur Nepal
NIC Asia

परन्तु, पृथ्वी राजमार्गको त्यही खण्डमा मात्र बढी यस्तो समस्या देखिएको छ । यसैले क्षमताभन्दा बढी भार थेग्न परेका कारण पुलहरू  बढी जोखिममा परेको अनुमान पनि सहजै गर्न सकिने देखिन्छ । 

यसैगरी पुलको नजिकै ढुंगाबालुवा झिक्ने र त्यसमा एक्स्काभेटर प्रयोग गर्ने गरिएको कारणले पनि पुलहरू जोखिममा परेका हुन् ।  पुलको नजिकै त्यसरी ढुंगाबालुवा खन्ने तथा खोस्रने गरिएको जताततै देखिन्छ । 

पृथ्वी राजमार्ग आधा शताब्दी पुरानो प्रविधिमा आधारित भए पनि निर्माणमा त्यसको गुणस्तरमा सम्झौता गरिएको थिएन । तर, नियमित हेरचाह हुन नसक्ता पनि अहिले पुलहरू जोखिममा परेको हुनुपर्छ ।  

सडक विस्तारका क्रममा पृथ्वी राजमार्ग पुलहरू पनि फराकिलो बन्दैछन् । तर, निर्माण कार्य भने निकै सुस्त देखिन्छ । यस्तै हालका अनुभव हेर्ने हो भने निर्माण कार्यको गुणस्तर कायम हुन्छ भनेर ढुक्क हुन पनि सकिँदैन ।

पृथ्वी राजमार्ग धेरै दिन बन्द भए काठमाडौंको जनजीवन कष्टकर त हुन्छ नै राजधानी र मोफसलको सम्पर्क पनि टुट्छ । यसैले बलिया पुलहरू नबन्दासम्म विधि र निषेधका उपाय अपनाएर पनि पुल र सडक जोगाउने प्रयत्न गर्नु बुद्धिमानी हुनेछ ।

तत्काल गर्नुपर्ने नियमनमा पहिलो सडकको भारवहन क्षमताभन्दा बढी तौलका सामान ढुवानी गर्न रोक लगाउनु हो । सडकमा काठमाडौंतर्फ आउने ट्रक हिँड्नेपट्टि सडक भासिएजस्तै भार पुलमा पनि त पर्छ होला नि !

यसैगरी पुलका अवस्थाको विस्तृत अध्ययन गरी बेलैमा मर्मत सम्भार र पुनःनिर्माण कार्य अगाडि बढाउनुपर्ने देखिन्छ । यस कार्यलाई नियमित ठेक्कापट्टाको चक्रभन्दा बाहिर ल्याएर भए पनि बेलैमा निर्माण सम्पन्न हुने र गुणस्तरको मापदण्ड कायम हुने सुनिश्चित गर्नुपर्छ ।

पुलका छेउछाउबाट ढुंगाबालुवा संकलन गर्न तत्काल कडा प्रतिबन्ध लगाउनु जोखिम कम गर्ने अर्को उपाय हो । स्थानीय प्रशासनले यतिमात्र गरिदिए पनि पुलहरू कम जोखिमपूर्ण हुनेछन् ।

थाहा नभएको जोखिमलाई भवितव्य भन्न सकिएला तर जानीजानी दुर्घटना हुन दिए त्यो कसुर हुन्छ । यसैले सडक विभागले जनताको जीवनकै सुरक्षासमेत जोडिएको विषयमा हेलचेक्य्राइँ नगरोस् । भयावह दुर्घटना भयो भने उतिबेलाको प्रविधिलाई दोष दिएर उम्कन पाइनेछैन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu