site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोराला नाकामा फर्फराएका झन्डा
Ghorahi CementGhorahi Cement

फर्फर, फट्फट्, पटपट...।

आवाजको पृथक स्वर–सुसेली । गुन्जिँदै एकनास झंकार परपरसम्म फैलिँदै । देखिँदै हावा, तर सुनिन्छ ध्वनि बेतोड, बेजोडको । त्यसले झन्डालाई यता र उता नचाउँछ । त्यो झन्डा–नृत्यले आँखालाई बेग्लै तृप्तिको स्वाद चखाउँछ । मैले सुनेको आवाज । मैले देखेको दृश्य । र, मैले महसुस गर्न पाएको उचाइ थलोको फरक सुगन्ध ।

मान्छेका आँखा र कान कति चनाखा, कति संवेदनशील । देख्नु र सुन्नुको अमूर्त सौन्दर्य–सुगन्ध अपरिमित । हेर्नु र बुझ्नुको कति प्रिय अनुभूतिहरू । विराट प्रकृति, विशाल परिवेश हेरेर थोरै नयाँ कुरा सँगाल्न सक्नु पनि ठूलै उपलब्धि हो ।

Agni Group

नेपालको उत्तरी सीमास्थल कोराला नाका । नेपाल–चीन सिमानाको सीमास्थल । जहाँ फर्फराएका झन्डामा नेपाली स्पन्दन थियो । देशप्रेमको मिठो विम्ब त्यहाँ छचल्किरहेको भेटियो । झन्डाको जुलुस होइन, नेपाली गौरवको एकता त्यहाँ देखियो । झन्डाको फर्फरमा स्वाभिमानी स्वभावको नेपाली चिनारी प्रत्येक क्षणक्षण त्यहाँ दृष्टिगोचर भयो ।

आँखाले देख्नु कहाँ ? नियाल्नु कता ? कहाँ हो कहाँ चीनको विशालता । मैले केही ठम्याउन सकिनँ । मात्र फैलिएको देखिन्थ्यो समतल भूतल । मात्र बाँझो भूमि एकनासको । त्यहाँ कुनै घरभवन, खेतबारी, बोटबिरुवा समेत केही देखिएन । डाँडाकाँडा वा पहाडी तरेली थिएन । केवल मरुभूमितुल्य पठार । केवल माटैमाटाका तलतन्ने फाँट ।

Global Ime bank

मैले मेरो जिन्दगीमै पहिलोचोटि लेखेको परिवेश । आँखाको प्रथम स्पर्शमा स्पन्दित उत्तरी साँध–सिमाना । मेरो आँखाले देखेको र मनले भेटेको एक अनौठो हिमालपारिको भूमि । जहाँ पुग्न फुर्सद मिलाउनुपर्छ, समय जुराउनुपर्छ । विकटता र कठिनाइका अनेकौँ हन्डर–ठक्करहरू सहन सक्नुपर्छ । बल्ल भेटिन्छ दृश्यका अनगन्ती क्षितिज ।

लोमाङथाङबाट एकाबिहानै गुडेको वेगबतास स्कारपियो । लगभग दुई घण्टामा कोराला नाका पुर्यायो ।

बाटामा देखिने दृश्य र भेटिने सौन्दर्य प्रकृतिप्रेमीका लागि बिछट्टकै साक्षात् विम्ब । कल्पनातीत, अनुभूतिगम्य । शान्त, सुन्दर र मनोरम । पुग्नुको सास्ती । तर, देख्नुको आनन्द, हेर्नुको सन्तुष्टि र अनुभव सँगाल्न पाउनुको उपलब्धि कति–कति । यात्रा त्यत्तिकै सुखद कहाँ हुन्छ र ! यात्रा त्यत्तिकै ऊर्जामय कसरी बन्छ र !

आँखाले हेर्नुको तृप्ति र मनले अनुभूति ग्रहण गर्नुको प्राप्ति अनमोल हुनुपर्छ । फेरि समय कहिले मिल्छ ? फेरि कसरी आउन सकिन्छ ? धेरै टाढाको दूरी । एकलासको भूमि । मुस्किलले मात्रै मान्छे यहाँ आउँछन् ।

बाटोका तमाम व्यवधान बिर्सेर बल्लतल्ल पाइला टेक्न र आँखाले देख्न पाएका दृश्यहरू । त्यही स्वर्णिम दृश्यलाई आत्मसात् गर्नेहरू । अनि, त्यही उत्तरी अनकन्टारको सिमाना हेर्न, रमाउन, हराउन आएका यात्रीहरू ।

कहाँ नरमाई, नहाँसी चुपचाप फर्किन्छन् र ! परन्तु, अधिकांशले मैले जस्तै मनमा विस्मात लिएर फर्किंदा हुन् । यद्यपि, यो विस्मात निराशा र नकारात्मक पक्षको होइन । त्यसमा आशा पनि छ । अनि, सुव्यवस्थापनको विश्वास समेत ।

अन्ततोगत्वा ठूलै उत्साह र उमंगले म आएको यो नौलो भूगोलमा । यही हेर्न, यही देख्न र केही लेख्न ।

हेर्नुपर्ने धेरै छ यहाँ । अनुभव बटुल्नुपर्ने धेरै छ । नवीनतम् ऊर्जाको मरिकुच्चे भारी बोकेर फर्किनु छ । समयले फड्को मार्ने त छँदै छ । तर, मैले यात्राको छलाङ मारेर अनुभूतिजन्य उचाइ थलोको अनुभव लिएर फर्किनु छ । प्रत्येक पाइला–पदचापमा खास जिन्दगीको सुवास भेट्नु छ । निर्मल प्रकृतिको वास्तविक सौन्दर्य देख्नु छ ।

चन्द्र र सूर्यअंकित हाम्रो राष्ट्रिय झन्डाको सानै बेग्लै । हाम्रो झन्डाको आकारप्रकार र मौलिकता नै आफ्नै । सनातन सांस्कृतिक पनि उत्तिकै । शास्त्रीय मान्यतामा निर्मित उस्तै प्राचीन । तथापि, आधुनिक स्वरूप र संरचना उस्तै नयाँ । कुनै देशको झन्डासँग नमिल्ने । कसैसँग दाँज्न पनि नसकिने । अन्य देशको झन्डाभन्दा विशिष्ठ ।

नितान्त फरक हाम्रो प्यारो यही झन्डा । प्रत्येक दिन नाका पुग्ने नेपालीका हातबाट माथिमाथि स्वतः उचालिने झन्डा । उचाइ पुग्ने, पुर्याउने संकल्पमा समाहित हाम्रो झन्डा ।

हाम्रो झन्डा, हाम्रो पहिचान, हाम्रो स्वाभिमान र हाम्रो राष्ट्रियता ।

कोराला नाका यौटा बेग्लै वातावरण । यौटा अलग्गै संसार । अनौठो भौगोलिक धरातल । उत्तरी सिमानाको भूगोल ।

नाका पुग्ने प्रत्येकका हातमा पालैपालो झन्डा–प्रेमको झलक गजबकै झल्किन्थ्यो । झन्डा नहुनेहरू पनि झन्डा लिन पालो पर्खिरहेका । झन्डा हुनेहरू हातमा झन्डा नचाउँदै रमाइरहेका, नाचिरहेका । हावामा झन्डा फर्फराउँदै तस्बिर खिचिरहेका । त्यो क्षणिक रामरमाइलो मात्रै थियो । सबैको मनमा बिझेको पीडा नेपाल सरकारको अनुपस्थिति ।

तथापि, झन्डैझन्डामा नेपालीपन र नेपाली मन पोखिएको थियोे । त्यो विशाल सीमाक्षेत्रमा नेपाली भावना छताछुल्ल देखिन्थ्यो । शान्तिपूर्ण भावनाहरू । मित्रवत् मानवीय पहिचानहरू । तथापि, मन खिन्न, छिन्नभिन्न तनहरू ।

किनभने, दशगजामा नेपालको दशीप्रमाण केही थिएन । नेपाली सुरक्षाकर्मीको अनुपस्थिति । न सरकारी कार्यालय न सुरक्षापोस्ट । खुला भूमि अलपत्र अवस्थामा । सरकारी कर्मचारी कोही नियुक्ति नै नभएको । परिणामतः चीन सरकारलाई हाइसन्चो । घुम्न पुग्ने पर्यटक चर्को बोल्न नहुने । धेरै समय घुम्न नपाइँदो रहेछ ।

कार्यालय, कर्मचारी र सुरक्षाकर्मी नहुनु हामीले पनि खड्किएको पक्ष देख्यौँ । असिना आउँदा, हुरीबतासले हिरिक्क बनाउँदा ओतिने ठाउँसम्म छैन । न खाने ठाउँ न बस्ने ठाउँ । यो बिल्लीबाठको कोराला नाका । यस्तोमा नेपाली पर्यटक निकै भावुक हुनु स्वाभाविक हो । अनि, झन्डा फर्फराउनुले मात्र देशप्रेम नझल्किँदो रहेछ । सिमानामा झन्डा गाड्नु र तस्बिर खिच्नुले मात्र पनि राष्ट्रियता कायम हुँदैन रहेछ ।

४,७०० मिटर उचाइमा पनि मरुभूमितुल्य भूमि । अनौठा बान्की र बनौटका पहाडी तरेली । हिमाल कति हेर्नु ! घुम्ती, कुइनेटा, माटाका ढिस्का कति–कति । मन रमाउने अनेकौँ छटाहरू । कलाकृति कुँदिएजस्ता यहाँका भित्ताहरू । मिहिनेतले बनाइएका सुन्दर आकृतिजस्ता । अद्वितीय आकारप्रकारका रूपहरू, रङहरू, स्वरूप र संरचनाहरू ।

त्यहाँ पुग्दा बिहानको सबेरै समय थियो । तथापि, कलिलो घाम क्रमशः छिप्पिँदै गइरहेथ्यो । मौसम सफा र आकाश पनि सिनित्त बढारिएजत्तिकै स्निग्ध । बिहान ढल्किँदै जाँदा हावाको वेगले उडाउनेजस्तै गर्ने । हावाको आवाज पनि त्यत्तिकै तिखो र रुखो । घाम लागे पनि तापक्रम चिसो ।

स्करपियो, पजेरो, बलेरो, माइक्रो आदिमा सवार आन्तरिक पर्यटकहरूको निकै घुइँचो । विदेशी पर्यटकहरू भने पैदलै आउँदा रहेछन् । घुम्ने ठाउँ धेरै थिएन, त्यही सीमास्तम्भ परिवेश । कता दौडिनु, कहाँ हिँड्नु ? त्यहाँ चिनिया सुरक्षाकर्मीको कडा निगरानी जो छँदै थियो । एकप्रकारले खुरुक्क पुग्यो, सुरुक्क फर्क्यो मात्र । दायाँबायाँ गर्न वा यताउता घुमफिर गर्न त्यहाँ कहाँ पाउनु ?

समतल मैदान आँखाले भ्याइन्जेल लमतन्न फैलिएको । दक्षिण र पश्चिमतिर सेताम्मे हिमाली लस्कर । आँखाकै सामुन्ने कति हिमाल । कतिचाहिँ आँखाको उचाइभन्दा तल हेर्नुपर्ने । चारैतिर खुला परिवेश । विशाल र अनौठो भूगोल । पछाडि फर्किएर हिमाल हेर्नुपर्ने । अगाडि उभिएर छिमेकी मुलुक चीनको सरकारी कार्यालय । नेपालतिर सुनसान ।

सुनसान त्यस सिमानामा नेपाली पर्यटकहरू कति रमाइरहेका । कति पिरोलिरहेका देखिए । पुग्नुको हर्ष एकातिर । नेपालतर्फको अवस्था देखेर विस्मात अर्कोतिर ।

६–६ महिनामा व्यापारिक मेला लाग्ने ठाउँ लकडाउनपछि अझसम्म बन्दै रहेछ । नाका नखुल्दा तिब्बतका व्यापारीले पनि आफ्ना सामान बेच्न पाएनन् । नेपालीले पनि सस्तो भाउमा किनेर केही नाफामा बेचेर गुजारा चलाउन सकेनन् । अन्य सामानहरूका साथै भेडाच्यांग्रा समेत मुस्ताङ ल्याउन पाएका रहेन छन् । यसको प्रत्यक्ष असर नेपाली पर्यटकहरूले महँगो मूल्य तिर्नुपरेको छ । हुन त यसले त्यस क्षेत्रका व्यापारीहरूलाई पनि निकै घाटा भइरहेको थाहा भयो ।

मैले प्रत्यक्ष देखेको यो त्यही उचाइ थलो । मैले बल्लतल्ल भेटेको यो उही नेपाल–चीन सिमानाको सीमास्तम्भ । जहाँ चन्द्र र सूर्य हाम्रो प्यारो राष्ट्रिय झन्डा सबैका हातहातमा । मायाले बोकेका झन्डाहरू । प्रेमले सम्हालेर ल्याइएका झन्डाहरू । हावामा निरन्तर फर्फराउँदै । त्यो एकलासमा राष्ट्रिय स्वाभिमान बोध गराउँदै । हरदम फर्फर–फर्फर । परसम्म पुग्थ्यो । तर, सिंहदरबार–सरकारसम्म कहिले पुग्ने हो ?

अन्ततः हाम्रो झन्डाको फुर्ती नै बेग्लै त्यहाँ । हाम्रो झन्डाको सानै बेग्लै त्यहाँ ।

अनि देख्छु, त्यही झन्डा लिएर फोटो खिच्नेहरूको भीड । लाग्छ, सायद झन्डा र सिमाना नेपाल–चीन सम्बन्धको सम्झना । अथवा, नेपाली सुरक्षाकर्मीको खड्किँदो अनुपस्थितिको अभाव पूर्तिको तिर्सना ।

रातो, निलो रङमा चन्द्र र सूर्यअंकित हाम्रो राष्ट्रिय झन्डा । नेपाली पहिचान झल्किने ती झन्डाहरू लगातार फर्फराएका । एक शान्त दिव्य–दृश्य । नौलो ठाउँमा यौटा अनौठो अनुभूति । थाहा नभएको कुरा खोज्ने र पाउने उपक्रम यात्रा । नदेखेको दृश्य देख्ने र हेर्ने चेष्टा यात्रा । मैले पनि हेरेर देखेँ । देखेर महसुस गरेँ– मेरो नेपाल, मेरो शान्त, सुन्दर देश ।

रमाउँदै पुगेको कोराला नाकामा... त्यसैले मन खिन्न, छिन्नभिन्न । अनेक मन नेपालीपनमा झन्डा भएर एकाकार । ती सबैसबै राष्ट्रियता व्यक्त गरिरहेका थिए । गरिरहेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC