1683331970.jpg)
आफैँ कथा भइयो । कथाको अभाव थियो । घरबाट निस्कँदा दुई पेग लगाइएछ । राम्रो कुरा त होइन दारु खाएको कथा लेख्नु । कथा मात्र लेख्नु कहाँ हो र, साथमा छोरी पनि थिई । उसैको किनमेलका लागि नयाँ सडकतिर लाग्नु थियो ।
बस आउँथ्यो कीर्तिपुरबाट । छोरीले थाहा पाएकी थिई मैले सुटुक्क दुई पेग लगाएको । पेगको नाप पनि एक्युरेट थिएन । बढी हालिएजस्तो थियो गिलासमा । स्टिलको गिलासमा लुकाएर खाएको थिएँ हतारमा, बुढीले देखी भने कोठामा थुन्ने थिई ।
कथाको कुरो पनि थियो । बुढीले भन्दा कथाले लखेटिरहेको थियो । कथा लेख्नै सकिएको थिएन । फुरिरहेको थिएन । दारुको मातले केही राहत दिइरहेको थियो, कथा नफुरेको नैराश्यबाट ।
बस स्टपमा हामी दुईजना पुग्यौँ । छोरी मभन्दा अलि टाढा भएर हिँड्न रुचाइरहेकी थिई । मैले यो मार्क गरेको थिएँ ।
‘छोरी मेरो हात समातेर हिँड ।’ मैले उसलाई अनुरोध गरे पनि उसले मानिरहेकी थिइन । टाउको हल्लाएर नाइँ भनिरहेकी थिई र अगिअगि दगुरिरहेकी थिई ।
बस पनि समयमा आउने भए पो । हामी स्टपमा पुग्दा नपुग्दै एउटा बस उम्किसकेको थियो । छोरी यसपटक भने मेरै छेउमा टाँसिएर उभिई । अलि पर सरिता पनि उभिएकी थिई ।
छोरीले भनी, ‘ऊ सरिता आन्टी !’ उसले मैले सुन्ने गरी भनेकी थिई । तर, सरिताले पनि सुनी । ऊ हामीलाई हेरेर मुस्कुराई ।
सरिता उमेरकै थिई । छेउको दिनेश साहुको घरमा काम गर्थी । मैले भनेँ, ‘सरिता, तिमी कता जान लागेकी ?’ मैले सरिताभन्दा टाढै रहेर प्रश्न गर्नुपर्ने थियो ।
मुखबाट हस्को उडेर ऊसम्म पुग्ने डर थियो र उसले अरू केही नभए पनि फर्केर मेरी बुढी अर्थात् उसकी उमा आन्टीलाई भनिदिने डर थियो । त्यसकारण दारुको रमरम मातलाई मैले थिचेर होसमा भएको अभिनय गर्न बाध्य थिएँ ।
छोरी सरिताको छेउमा उभिएर बस पर्खिन लागी । म पनि एक अपरिचित बनेर अलि टाढै उभिएर बस पर्खिरहेँ । कथा यही भइदियो, दारु खाएको लुकाउन आफूले चिनेकाहरूसँग पनि अपरिचितको अभिनय गरिरहनु ।
मनमा आयो– दारु नखाएको भए सज्जन तरिकाले बात मार्न पाइन्थ्यो । छरछिमेकमा हल्ला थियो– सरिता मिलनसार छे । यद्यपि, ऊ मेरै छिमेकका दिनेश साहुकोमा काम गर्थी । बैँसकै थिई, तर एउटा छोरो थियो, जो खाडीको मुलुकमा काम गर्न गएको थियो ।
उसले बेलाबेलामा मेरी बुढी अर्थात् उमासँग एकान्तमा दुःखसुखका कुरा गरेको म सुन्थेँ । प्रायः उसकै छोराका गन्थन हुन्थे । खाडीमा कमाएको पैसा ऊ आमालाई दिँदैनथ्यो रे ! कसलाई दिन्थ्यो त ? त्यो सरितालाई पनि थाहा थिएन ।
एउटा शंका यो थियो, सरिताको छोरोले गाउँमा एउटी केटी फसाएको छ रे !
‘छोरोले केटी फसाएको होइन केटीले उसलाई फसाएकी हो र पैसाजति छोरोले उसको खातामा पठाउँछ,’ सरिता भन्थी ।
केटीले मोहनी लगाएकी छ – भन्थी सरिता । हप्तामा एकदुईचोटि ऊ छोरालाई कब्जामा राखेको मोहनी छुटाउन गुभाजु वा पशुपतितिरका माताहरू भए ठाउँ भक्तिपूर्वक जान्थी । उसको आधा तलब तिनै काममा खर्च हुन्थ्यो ।
बस आयो र हामी सबै त्यसमा चढ्यौँ । छोरी मसँग आइन । सामान किन्न ऊ मसँग नआई धर थिएन । तर, अहिले ऊ सरितासँगै बसेकी थिई । छोरी उसको कानमा मुख टाँसेर केके भनिरहेकी थिई । सरिता बेलाबेला शंकालु आँखाले मलाई नियाल्थी ।
मलाई थाहा थियो, बस सुन्धारामा अडिन्छ र नयाँ सडकका लागि हाम्रो यात्रा त्यहीँ टुंगिन्छ । अनि, सरिता एकातिर र म र छोरी अर्कातिर हुनेछौँ । हामी छुट्टिएपछि कथाको मेसो पनि अर्कै हुनेछ । अहिले त कथामा सरिताको उपस्थिति पनि छ । उसको छोराको कथा पनि यसमा मिसिएको छ । बसबाट ओर्लेपछि ती सबै व्यथाकथा एकाएकातिर हुनेछन् ।
सरिता मेरो ध्यानबाट ओर्लिनेछे र छोरीले पनि आफ्नो बाबाको हात समातेर भीडमा नहराउने प्रयत्न गर्नेछे । तर, म दारुको मातमा छु । मात रमरमको छ, बढ्दै छ । दारु नखाएको भए हुने भन्ने पश्चात्तापमा पनि छु ।
तर, कथाको लागि म तृषित छु र त्यसैको नैराश्यले अभिभूत भएर दुई पेग निलेको छु । त्यो पनि स्टिलको गिलासमा लुकाएर पिउने भएकाले धेरै नै खाएँ भन्ने लागिरहेको छ । कुनै एउटा रेस्टुराँमा बसेर एक छिन मात मत्थर गर्नुपर्ला – यस्तो सोच बनाएको छु मैले ।
यतातिरका एकदुईवटा रेस्टुराँ मैले चिनेको छु । रेस्टुराँमा पसेपछि म छोरीलाई उसले मन पराउने चिकेन मःम एक प्लेट मगाइदिनेछु । यद्यपि, ऊ पूरै प्लेट चिकेन मःम खान सक्दिन । त्यसबाट दुईचारवटा मःम मैले खाइदिनुपर्नेछ ।
छोरी आफैँले भन्नेछे, ‘बाबा, खानुस् न ।’ मैले उसको आग्रह टार्न नसकेझैँ ‘ल ल’ भन्दै दुईचारवटा मःम खाइदिनेछु । यस्तो सधैँ हुने गर्छ । पानी पनि चाहियो । एक बोतल पानी मगाइदिनुपर्नेछ । आधा बोतल खाएपछि बाँकी बोतल पानी छोरीले झोलामा राख्नेछे । छोरीप्रति म आश्वस्त छु । चिजहरू सम्हाल्न जानेकी छे । म मात्र यस्तो भइदिएँ, दारु खाने । मःमपछि म फकाएर उसले सरितालाई केके भनेकी हो, त्यो सबै सोध्नेछु ।
सरिता हामीबाट छुट्टिएपछि रेस्टुराँमा पस्ने भनेको ऊ छुट्टिइन । घटनाक्रमले क्रमभंग गर्यो । छोरीले भनी, ‘सरिता आन्टी हामीसँगै जाने रे !’
मलाई लाग्यो– छोरी डराई । छोरीले मेरो भरोसा गर्न सकिन । तर, म धङधङाएको थिइनँ । मेरा खुट्टा लर्बराएका थिएनन् । तैपनि, छोरीले भरोसा मानिन ।
‘छोरी सुन त, सरिता आन्टीलाई जान देऊ । उनी अर्कै कामले आएकी हुन् । तिमी र म अर्कैतिर जानुपर्छ ।’ छोरी एक छिन अडिई । भीड थियो मिचामिचको । आवतजावतमा छोरी हराउली कि भन्ने डर पैदा भयो ।
तर, उसले सरिताको हात बलियो गरी समातेकी थिई । कथामा यो अर्को मोड थियो । मोड वा घटनाको प्रवेश थियो । दारुको रमरम मातमा पनि मैले यो सोचेँ ।
मलाई रेस्टुराँ भेट्टाउनु जरुरी थियो । अलि बढी घुमाएजस्तो लाग्यो । बिहानदेखि केही खाएको थिइनँ । खाली पेटमा दारुले ताण्डव मच्चाउन खोजेजस्तो लाग्यो । बान्ताको सम्भावना पनि थियो । बीचपेटीमा दारु बान्ता गरेमा मानिसहरू नाक थुनेर हिँडे पनि तिरस्कारमा – के घिचेको होला बिहानबिहानै भन्ने थिए । मै पनि भन्ने थिएँ ।
मलाई छोरीको चिन्ता भयो । ऊ बुझ्ने भइसकेकी थिई । मेरो संकट ऊ बुझ्ने भएकी थिइन अर्थात् म केका लागि किन दारु खान्छु भन्ने । तर, यो बहाना एउटा फितलो बहाना थियो । केही लेख्नैलाई दारु खान्छु भनेर छोरीलाई भन्न सक्दिनथेँ ।
छोरी रचनाकारको संकटलाई त्यसरी हेर्ने भइसकेकी थिइन । उसको छेउमा सरिता आन्टी पनि थिई, जो अरूको घरमा काम गरेर जीवन धानिरहेकी थिई । छोरो थियो खाडी मुलुकमा, जहाँबाट मानिस तह नपरे बाकसको लास भएर फर्किन्थ्यो ।
उसलाई जीवनको संकट थियो । छोराले सरिता आन्टीलाई दुःख दिइरहेको थियो । सानो छउन्जेल हुर्काई बढाई । तर, ठूलो भएपछि त्यही छोरोले उपेक्षा गरिरहेछ र दुःख दिइरहेछ । त्यति हुँदा पनि सरिता सफासुग्घर भएर कपाल कोरीबाटी स्वच्छसफा भएर बस्थी र दिनेश साहुका छोराछोरीलाई बिहानै तयार गरी स्कुल बसमा पुर्याउने ल्याउने अनि घरका सबै काम समयमै पूरा गर्थी । त्यसमाथि हँसिली फरासिली थिई ।
उसलाई दुःख थियो भन्न बाहिरकाले सक्दैनथे । छोरी यस्तो सरल बुझ्थी जीवनलाई सरिता आन्टीको माध्यमबाट । जीवनका अनेक हन्डरले पनि सरिता आन्टीलाई गलाएको थिएन । त्यसैले छोरीले सरिताको हात बलियो गरी समातेकी थिई ।
छोरी आफ्नो बाबाले बिहानै दुई पेग लगाएको हरिरहेकी थिई । उसबाट लुकाएर खान्छु भन्दाभन्दै पनि असफल भएँ, सफल भइनँ । भित्र केहीले कोपरिरहेको अनुभव हुन्थ्यो । एउटा केही लेखिहाल्ने हुटहुटी बेकारैमा पालिराखेको हुन्थेँ म । धैर्य गुमाउँथेँ । केही कोरकार गरेर कुनै एउटा पत्रिकामा पठाउन पाए हुन्थ्यो भन्ने रोगजस्तै थियो ।
छोरीले यो बुझ्दिनथी । उसलाई बुझाउनु जरुरी पनि थिएन । उसको सरल हेराइमा जीवन हाम्रो सम्पन्न थियो, चिन्तारहित । त्यसरी बिहानै दुई पेग चढाएर आफ्नो नैराश्य मेट्नुपर्ने संकट केही आइलागेको थिएन ।
छोरीका लागि पेन्सिल, किताब र फ्रक किन्न निस्कने बाबाले त्यसरी सबै बिर्सेर दुई पेग रक्सी लुकेर किन खानुपरेको होला ? के आइलाग्यो र त्यस्तो गरेको ? बाबा, यो के गरेको हजुरले भनेर ऊ सोध्न सकिरहेकी थिइन ।
सरिता मतिर हेरिरहेकी थिई । छोरीलाई हात छुटाएर मतिर पठाउन पनि सकिरहेकी थिइन ।
मैले भनेँ, ‘पहिले मःम खाऊँ है छोरी । सरिता तिमी पनि हिँड ।’
मैले भन्न त भनेँ । मेरा आँखा राता भएका हुनुपर्छ । उनीहरू दुवैजना डराएर पछि सरे ।
‘अंकल ! अंकललाई आज यो के भयो ? सन्चो नभएजस्तो छ । ट्याक्सी गरेर घर फर्कौँ,’ सरिताले भनी ।
छोरीले पनि होमा टाउको हल्लाउन खोजी । बाबासित भोलि आउन पाइने हो वा होइन, त्यसको भरोसा छैन उसलाई । बाबा भोलि फेरि अरू कुनै काममा व्यस्त भइहाल्ने पो हो कि ?
‘हो बाबा । हामी घर फर्कौँ,’ छोरीले भनी । छोरीले भनेपछि मैले सोच्नुपर्ने भयो । हिजोदखि नै किनमेलको तालिका बनेको हो । नयाँ सडकतिर निस्केर छोरी र बाबा सँगै किनमेल गर्ने ।
छोरीका आवश्यकता धेरै थिएनन् । जति थिए ती किन्दा एक घण्टा पनि लाग्दैनथ्यो । तर, आज मैले बिहानै के सुरमा हो, दुई पेग धोकेछु । किनमेलका लागि उसकी आमाले पनि मन्जुरी दिएकी थिई ।
छोरीले बाबासँग किनमेल गर्न जाने इच्छा गरेकी छे । आज त्यो बिग्रने भयो । भोलिका लागि कार्यक्रम तय गर्दा हुने हो । तर, भोलि पनि यसरी नै बाबा माते भने !
बाबा मात्नुको मूल कारण छोरीले बुझ्न चाहिन । सरिता जो वयस्क थिई, जीवनका तितामिठा अनुभवसम्पन्न थिई, उसले पनि बुझ्न सक्दैनथी । उसलाई छोराको मात्र चिन्ता थियो ।
मलाई कुनै कुराको चिन्तापिरलो थिएन । मैले दारु खानु पनि ठिक थिएन । खासै त्यस्तो के नै भएको थियो र, दारु खानुको कारणलाई एक विशाल परिदृश्य दिएर व्याख्या गर्नलाई ? म परेसान भइगएँ ।
‘छोरी, सरिता आन्टीलाई जान भन । म र तिमी ट्याक्सीमा घर फर्कौँ । मैले नसक्ने भएँ,’ मैले भनेँ ।
कथा लम्बिने भयो । छोरी रुन पनि सक्थी । भीडको बीचमा छोरी आँसु बगाउँदै, पराईको हात समातेर, मातेको बाउले असहाय भएर हेरिरहेको । नजिक गएर फकाउन पनि सक्दिनथेँ ।
एउटा विरोधाभासी कारुणिक चित्र त्यहाँ बन्थ्यो । तर, छोरीले परिपक्वता देखाई । उसले भनी, ‘आन्टी हामीलाई ट्याक्सीमा बसालिदनोस् ।’
सरिता पनि परिपक्व थिई, दुःखले पाकेकी, माझिएकी । बाह्य आवरणमा पाकी देखिए पनि भित्र छोरोले दिनु दुःख दिएको थियो । ऊ बाहिर देखाएर रुनुमा विश्वास गर्दिनथी । छोरो नै आफ्नो हुन सकेन भनेपछि बाहिरी संसारमा त्यसको प्रदर्शन गरेर फाइदा थिएन ।
घर पुगेपछि मैले सोचेको थिएँ– कथाको अर्को अंश मञ्चन हुनेछ । कममा पनि छोरीले आमासित मेरो जँड्याहा प्रवृत्तिको पर्दाफास गर्नेछे । तर, उसले त्यसो गरिन । आमा आश्चर्य मान्दै थिई, छोरीको किनमेल नसकी बाबुछोरी अकस्मात् रित्तै घर फर्के भनेर ।
छोरीले घटनालाई अर्कै मोडमा उभ्याई, भनी, ‘बाबालाई रिङटा लाग्यो । हिँड्न गारो भयो । ज्वरो आउनलाई हो कि ?’
कहिलेकाहीँ मात्र पनि त्यस्तो भएको थिएन मलाई । थकाइले हो कि भन्ने निष्कर्षमा पुगी पत्नी । म सोझै ऊसित कुरा गर्नबाट तर्किरहेँ । ओछ्यानमा पसेपछि भित्तातिर मुख गरेर सुतेँ र केही बेरमै निदाएछु ।
अर्को दिन उठेपछि छोरीको अगाडि उभिन सकिनँ । मेरो लागि कथा यही थियो । आफैँ पात्र भइएको । तर, छोरीप्रति म कृतज्ञ थिएँ । सरिताबाट म धेरै दिन तर्केर हिँडे । यद्यपि, ऊ मेरी पत्नी उमा आन्टीलाई भेट्न र वेदना पोख्न धेरैपटक घर आइसकेकी थिई । मलाई देखे पनि नदेखेझैँ गर्थी ।
मलाई लाग्यो– छोरीले नै उसलाई सतर्क गराएको हुनुपर्छ, नत्र कथाले फेरि अर्कै मोड लिने थियो । मतलब, घरमा एउटा रडाको मच्चिने पक्का थियो ।