काठमाडौं । समयानुकूल पहिरनको खोजीले बाह्रैमास चलायमान बनाउँछ, फेसन बजारलाई । कहिले स्प्रिङ त कहिले समर फेसन । कहिले विन्टर त कहिले अटम फेसन । यही मौसमी चक्रानुसार फेसन बजारमा थरीथरीको बान्की देखापर्छ । फेसन डिजाइनर राजेश धाख्वा भन्छन्, “समय र मौसमले नै फेसन ट्रेन्डलाई डोहो¥याउने हो ।”
डिजाइनर धाख्वासँग कपडा व्यापारमा तीनपुस्ते अनुभव छ । उनका बाजे उति बेलै बेलायतबाट कपडा मगाउँथे । कोलकाताबाट काठमाडौं अनि कालिम्पोङ हुँदै ल्हासासम्म व्यापार गर्न जान्थे । बाबुबाजेले गर्दै आएको पेसालाई आधुनिक ढंगले अघि बढाउने रहर उनमा सानैदेखि थियो । आफूले सानैदेखि देख्दै आएको काममा पोख्त हुन सक्छु भन्ने उनमा विश्वास थियो । यही विश्वासले धाख्वा फेसन डिजाइनिङतिर आकर्षित भए ।
बाबुबाजेले गर्दै आएको पेसालाई आधुनिक ढंगले अघि बढाउने उद्देश्यले धाख्वा काठमाडौं पोलिटेक्निक इन्स्टिच्युटमा भर्ना भए । त्यहाँबाट उनले फेसन डिजाइनिङमा डिप्लोमा गरे । फेसन डिजाइनिङमा आफूलाई थप पोख्त बनाउने उद्देश्यले उनी सिंगापुर गए । सिंगापुरको सेलेजिया आर्ट एन्ड डिजाइन स्कुलबाट कलर मेकिङ तथा प्याटर्न मेकिङको स्पेसल कोर्स गरे ।
सिंगापुरमा अध्ययन पूरा गरेपछि धाख्वा नेपाल फर्किए । त्यसपछि उनले २०५३ सालमा मध्यमवर्गलाई लक्षित गर्दै कुपण्डोलमा चाहत बुटिक सञ्चालनमा ल्याए । मध्यमवर्गलाई लक्षित गरी नेपालमा बजेट बुटिक सञ्चालनमा ल्याएको श्रेय उनलाई जान्छ । जति बेला दरबारमार्गमा दुई/तीनवटाजति बुटिकहरू थिए । त्यो सर्वसाधारण नेपाली ग्राहकको पहुँचमा थिएन । राजपरिवार, विदेशी कूटनीतिज्ञलक्षित थियो ।
चाहत नै कुपण्डोलमा सञ्चालनमा आएको पहिलो बुटिक हो । अहिले कुपण्डोल बुटिक हब बनेको छ । अहिले बुटिकैबुटिक रहेको कुपण्डोलका घरहरूमा त्यति बेला प्रायः हार्डवेयरसम्बन्धी पसलहरू थिए । सुरुसुरुमा बुटिक सञ्चालन गर्न निकै कठिन भएको धाख्वा बताउँछन् । पहिलो समस्या त उनलाई दक्ष कामदारको नै थियो । त्यति बेला भारतबाट चार कालिगड ल्याएर बुटिक सञ्चालन गरिएको उनी सुनाउँछन् ।
जति बेला नेपालीमा बुटिकसम्बन्धी खासै जानकारी थिएन । यसले उनलाई थप समस्यामा पार्यो । धाख्वा भन्छन्, “नेपालीहरूमा बुटिकका बारेमा जानकारी नहुँदा धेरै गाह्रो भयो । तर, मैले हिम्मत हारिनँ । निःशुल्क रूपमा कस्तो वर्ण भएका मानिसले कस्तो रङ संयोजन गर्ने, मोटो मान्छेले दुब्लो देखिन कस्तो पहिरन लगाउने आदि कुराहरू बुझाउन थालेपछि भने केही सहज हुँदै गयो ।”
अहिले सहज रूपमा पाल्पाली ढाका, गाँजा र सिस्नोजस्ता प्राकृतिक रेसाका कपडा नेपालमा पाइन्छ । धाख्वाका अनुसार उति बेला बजारमा कच्चापदार्थ पाउन कठिन थियो । कपडा डाई गर्न गुणस्तरीय फेब्रिक अभाव हुन्थ्यो । नेपाली कपडामा मात्र निर्भर हुन गाह्रो भएपछि उनले भारतबाट आयातित सुती कपडामा डिजाइन गर्न थाले । भारतीय सिल्क र कटन महँगिएपछि चीनबाट कपडा आयात थालेको उनको भनाइ छ ।
मनिस बुटिकभित्र छिर्नै नखोज्ने, महँगो हुन्छ भन्ने मानसिकताले केही समय धाख्वालाई धेरै नै सकस भयो । बुटिक सञ्चालनमा ल्याएकै वर्ष सन् १९९७ मा मिस नेपालको आधिकारिक फेसन डिजाइनरका रूपमा काम गरे । त्यसपछि मिस नेपालदेखि सेलिब्रिटीहरू उनका ग्राहक बने । सँगसँगै धाख्वा फेसन डिजाइनरका रूपमा चर्चामा आउन थाले । सोही वर्ष धाख्वाले बेस्ट डिजाइनर अफ द इयरको एवार्ड समेत पाएका थिए ।
कुपण्डोलमा बुटिक सञ्चालनमा ल्याएको केही समयपछि उनी जापान गए । जापानको टोकियोस्थित बुन्का गाकुयानमा अन्तर्राष्ट्रिय वर्कसपमा सहभागी भए । वर्कसपकै क्रममा उनले जापानमा पहिलोपटक फेसन शो पनि गरे । त्यसपछि उनले फेसनसम्बन्धी अध्ययनका लागि जापानमै छात्रवृत्ति पाए ।
त्यति बेला यहाँका विभिन्न जातजातिका वेशभूषा र जापानी राष्ट्रिय पोसाक किमोनो मिलाएर सांस्कृतिक विविधता झल्काउने खालको फेसन शो गरिएको धाख्वा सम्झन्छन् । उक्त फेसन शो जापानमा नेपाली पहिरन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
धाख्वा भन्छन्, “मैले जापानमा विशेष गरी नेपाली पहिरन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त फेसन शो गरेको थिएँ । त्यसपछि, प्राकृतिक कपडा, रेसााबाट बनेका नेपाली कपडाको प्रवद्र्धनका लागि अरू थुप्रै फेसन शो गरेँ ।”
त्यहाँबाट फर्किएपछि उनले जापानको राष्ट्रिय पोसाक किमोनो बनाउन थाले । व्यावसायिक रूपमा किमोनो बनाउने पहिलो नेपाली डिजाइनर धाख्वा नै हुन् । त्यही कारण उनलाई जापानका थुप्रै गार्मेन्ट कम्पनीले राम्रो तलबका साथ जागिरका लागि अफर गरे । तर, नेपालमै आफ्नो नाम स्थापित गर्छु भन्ने लागेर फर्किएका राजेश भन्छन्, “म जापान मै बसेर मनग्य पैसा कमाउन सक्थेँ । तर, आफ्नो देशमै केही गरौँ भनेर आफ्नै व्यवसायलाई अघि बढाएँ ।”
जापानमा सिकेका कुरालाई उनले आफ्नो बुटिकमार्फत अघि बढाए । जापानी टेलिभिजन एनएचकेले त उनको बायोग्राफी नै प्रसारण गर्यो ।
नेपाली चलचित्र तथा म्युजिक भिडियोमा फेसन डिजाइनिङको सुरुआत पनि धाख्वाले नै गरेका हुन् । चलचित्र ‘ए मेरो हजुर’बाट आफूले नै पहिलोपटक चलचित्रमा ड्रेस डिजाइनिङ सुरु गरेको उनी बताउँछन् । त्यसयता उनले ६ दर्जनभन्दा बढी चलचित्रमा आधिकारिक ड्रेस डिजाइनरका रूपमा काम गरिसकेका छन् ।
त्यति बेला अहिलेजस्तो सहज अवस्था थिएन । कच्चापदार्थ नपाइने, जिपर, बटन, लेसदेखि कालिगड पनि भारतबाटै ल्याउनुपर्ने बाध्यता थियो । उनैले पहिलोपटक नेपालमा कपडा डाई गर्ने र इम्ब्रोडरी गर्नै काम सुरु गरेका हुन् ।
त्यति बेला लुगा सिलाउने कामलाई कुनै एक जातीय पेसाका रूपमा हेरिन्थ्यो । त्यही कारण ‘कपडा व्यापार गरे भइहाल्यो नि, किन सिलाउनुपर्यो !’ भन्ने उनका आफन्त र साथीहरू धेरै थिए । कतिपयले त कामको विषयलाई लिएर हेप्थे नै । तर, उनको रुचिको कामले धैर्यताको बाँध फुट्न दिएन । अहिले यो पेसाको छलाङ देख्दा उनी आफैँ दंग छन् ।
अहिले नेपालमा डिजाइनरको संख्या थुप्रै भइसकेको छ । यो पेसालाई गर्वका साथ अँगाल्न थालिएको छ । नेपालमै फेसन डिजाइनरका रूपमा काम गर्छु भन्ने युवा जमात पनि तयार भइसकेको छ । फेसन डिजाइनिङ पढाउने संस्थाहरू दर्जनौँको संख्यामा खुलिसकेका छन् ।
नेपालमा सेलिब्रिटीहरू ‘फेसन कन्सेस’ हुन थालेको धाख्वाको अनुभव छ । अहिले सेलिब्रिटीले कुनै डिजाइनरसँग ‘बार्टर सिस्टम’मा ‘स्पोन्सर’ खोजेर ‘स्टारडम मेन्टेन’ गरिरहेको उनी बताउँछन् । त्यसले डिजाइनरलाई पनि ‘सपोर्ट’ गरिरहेको छ ।
उनी पहिलो मिस नेपाल रुवी राणादेखि प्रायः मिस नेपालहरूमा ‘ड्रेसअप सेन्स’ देख्छन् । त्यसमा पनि माल्भिका सुब्बा र शृंखला खतिवडाको ड्रेसअप सेन्सबाट धाख्वा प्रभावित छन् । उनी भन्छन्, “आफूलाई कस्तो पहिरन, रङले आकर्षक देखाउँछ भन्ने सेन्स छ । त्यही भएर उनीहरू आफूलाई स्मार्ट देखाउन सक्षम छन् ।”
महँगो लुगा लगाउँदैमा राम्रो देखिन्छ भन्ने सोच गलत भएको धाख्वा बताउँछन् । उनी भन्छन्, “ड्रेस सेन्स त्यो हो – रूप, रङ, लगाइने स्थान र व्यक्तित्व झल्कने पहिरन लगाउनु हो । त्यो लुगाले स्मार्ट, कम्फोरटेबल र लुक्स आकर्षक हुनुपर्छ ।”
नेपाली महिलामा ‘राम्रो लगाऊँ’ भन्ने सोच विकसित भइरहेको उनको अनुभव छ । त्यही भएर पनि हजारौँ बुटिक र डिजाइनरहरू यो पेसामा खुसी छन् ।