चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्राच. डा. गोविन्द केसी तेह्रौ अनशनमा छन् । बारम्बारको अनशनले गर्दा आफ्नै शरीर रोगी बनाएका यी डाक्टरले तैपनि सत्याग्रह छाडेका छैनन् । उनी बिहीवारदेखि पुनः अनशनरत छन् ।
उनीसँग कुनै दलको बल छैन । न त उनले टुँडीखेलको मैदानमा लाउडस्पिकर राखेर लम्बेतान भाषण छाँटेका छन् । त्रिवि शिक्षण अस्पतालको रंगरोगन र निर्माणकार्य हुँदैगरेको एउटा सानो कोठाको कुनाको एउटा बेडमा उनी अनशन बसेका छन् । त्यहाँ बिरामी त के अरू पनि सामान्तः पुग्दैनन् । उनले कसैलाई अप्ठेरोमा नपारी सरकारसँग सुशासनको माग गरेर भोकै बसेका छन् ।
भोकभोकै शब्द त्यति मीठो लाग्दैन । आमरण अनशन ध्वन्यात्मकरूपमा पनि गहकिलो सुनिन्छ । अर्थ हेरौं, आमरण भनेको नमरुन्जेल । अर्थात् नमरुन्जेल भोकै बसेर हक र सुशासनको लागि सरकारमाथि दबाब सृजना गर्नु । दुई दिन खान नपाएका व्यक्तिको मानसिक अवस्थाको कल्पना गर्छु र ६० आसपासका डा. केसीको उद्देश्यसहितको दिनदिनको लामो भोकहड्तालको कल्पना गर्छु र म काँतर हुन्छु । शब्द लेख्नु जतिको सजिलो कहाँ हुन्छ र ?
सत्याग्रह गरेरै भारतमा महात्मा गान्धीले ब्रिटिस साम्राज्यको अन्त्य गरी देशलाई स्वतन्त्र गराएका थिए । उनले कुनै हतियार एठाएका थिएनन् र पनि देशलाई स्वतन्त्र गराउने श्रेय पाएका छन् र भारतमा उनको पूजा हुन्छ ।
कालोधनको विरोध गर्दै महिनौसम्म सत्याग्रहमा बसेका भारतका अर्का सत्याग्रही अन्ना हजारे हुन् वा काला जातिको मुक्तिको लडाइँ लड्ने नेल्सन मन्डेला यिनले सफलताका लागि हतियार उठाउनु परेको थिएन । सत्कर्म गरेको बोधले जनता स्वयम् तिनको समर्थनमा सडकमा उत्रेका थिए । नेता वा सरकार चयन गर्दा बारम्बार विवेकहीनताको आरोप लाग्दै आएका नेपालीसमेत जनताका सच्चा हितैषीको पक्षमा स्वःस्फूर्तरूपमा सडकमा उत्रेको दृश्यले यसको पुष्टि गर्छ ।
ज्यानकै खतरा आइपरेको पछिल्लो पटकको अनशन पनि सरकारले बेवास्ता गरेपछि संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक सहमतिविपरीत माफियाको हितमा हुनेगरी पारित गर्न लागिएको भन्दै डा. केसीले पुनः अनशन बस्नुपरेको हो । बिहीबार उनीसँग भेट्न जाँदा उनले जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेकोले पुनन अनशन थालेको बताए ।
सधैंँ सामान्य मुद्रा र हँसिलो अनुहारमा भेटिने डा. केसीले अनायास गम्भीर र आक्रोशित हुँदै भने मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी १७ बुँदे सुझावसमेत दिएको हुँ । सुझावपत्रमा संसद्मा छलफलको क्रममा रहेको विधेयकमा दुर्गमका सामुदायिक विद्यालयमा पढेका र सीमान्तकृत योग्य विद्यार्थीलाई डाक्टरी पढ्न निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्नेलगायतका व्यवस्था राख्नुपर्ने माग छ ।
केसीको आक्रोश बढ्ने कारण थियो विधेयकका महत्त्वपूर्ण बुँदा चिकित्सा शिक्षामा स्वार्थ गाँसिएका केही सांसदले हटाउनु । माफियाका पक्षबाट संशोधनका लागि राखिएका बुँदा हटाएर माथेमा प्रतिवेदनको मर्मअनुरुप तीन करोड नेपाली जनताको हितको लागि सुझाव दिएको हुँ र त्यो पूर्ण नहुँदासम्म म अनशनरत रहने छु । उनमा गजबको आत्मविश्वास देखिन्यो ।
डा. केसीका प्रमुख मागमध्ये माथेमा प्रतिवेदन तथा उनका सुझावअनुसार परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गरियोस् भन्ने नै हो । मेडिकल माफियासंँगको मिलेमतोमा एमबीबीएसका लागि सरकारले तोकेको भन्दा दसौं लाख बढी शुल्क अवैधरूपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गरी सरकारले तोकेबमोजिम एमबीबीएसका लागि रु ३८ लाख ५० हजार उपत्यकाभित्र, त्यस्तै रु ४२ लाख ४५ हजार उपत्यका बाहिर तथा बीडीएसका लागि रु १९ लाख ३२ हजार ६१२ कायम गरियोस् भन्ने पनि उनको माग रहेको छ ।
त्यस्तै उनका मागमा माफियासँग मिलेमतो गरेर अर्बौंको चलखेल गर्ने डिन राजेन्द्र कोजु तथा उपकुलपति रामकण्ठ मकाजुलाई तत्काल बर्खास्त गरियोस्, त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजमा स्नातकोत्तरको शुल्क रु २२ लाख ५० हजार कायम गरियोस्, अनियमिततापूर्वक धेरै शुलक तोक्ने तथा खाली भवनलाई एमबीबीएसको सम्बन्धन दिने त्रिवि पदाधिकारीलाई बर्खास्त गरेर कारबाही गरियोस् र आईओएमबाट त्रिविले खोसेर लगेका अधिकार तत्काल फिर्ता गरियोस् भन्ने पनि रहेका छन् ।
यसका साथै कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन अध्यापन सुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था गरिनुको साथै कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम शीघ्र अगाडि बढाइयोस्, डोटी, डडेलधुरा, धनुषा, महोत्तरी, उदयपुर, पाँचथर, इलाम आदि स्थानमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् भन्ने मुख्य मागसहित डा. केसी अनशन बसेका छन् ।
सत्याग्रहले स्वतन्त्रता र विद्रोहको सयौं कथा बोकेको इतिहास छ । डा. केसीले रोजेको बाटो अप्ठेरो त पक्कै छ तर यसमा उनी एक्ला भने छैनन् ।