site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा ‘म्याच फिक्सिङ’ र ‘कोर्स  करेक्सन’को सवालजवाफ, सिट खोज्दा अलमलिए मनाङे    
SkywellSkywell

पोखरा । वैशाख १५ गते गण्डकीको मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले बिहीबार प्रदेश सभाबाट विश्वासको मत पाए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का गरी ३५ सांसदबाट विश्वासको मत पाएका पाण्डे संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका हुन् ।

उनले विश्वासको मत माग्दै गर्दा प्रदेश सभामा उनको नियुक्तिको आधार बनेको संविधानको धारा १६८ को उपधारा (२) माथि पनि प्रश्न उठ्यो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले प्रश्न उठाएका हुन् ।

प्रदेश संरचना खारेजीको नारा लिएर चुनावमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)ले गण्डकीमा समानुपातिकबाट दुई सांसद जितेको छ । उसले पनि माओवादीलाई बाँकी छाडेन ।

KFC Island Ad
NIC Asia

पाण्डेले विश्वासको मत पाउँदै गर्दा प्रदेश सभाको बिहीबारको छलफलमा निकै रोचक र घोचक सवालजवाफ भए ।

घोचपेच सुरुवात राप्रपाबाटै भयो । दलीय प्रतिनिधित्व गरेर राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले सम्बोधन गरे । खगराज अधिकारी नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री बनेका गुरुङ केन्द्रबाट राप्रपाले सरकारबाट हट्ने निर्णय गर्दा पनि प्रदेशमा भने समर्थन फिर्ता लिएनन् । बरु अधिकारी सरकार टिक्ने बेलासम्म मन्त्री नै बनिरहे ।

Royal Enfield Island Ad

खगराज अधिकारीले विश्वासको मत माग्ने क्रममा ’नेसनल प्लयेर’ भनेर समर्थन गर्ने जनाएका गुरुङले बिहीबार पाण्डेले मत माग्दा ‘म्याच फिक्सिङ’ गरेको भनेर माओवादीलाई छेडे ।

“कुशल राजनीतिक खेलाडीको रूपमा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकारले राम्रो काम गर्दै गर्दा कुनै राजनीतिक पार्टीले सत्ता केन्द्रित राजनीति गर्दा गोल हुन सकेन । गण्डकीमा 'म्याच फिक्सिङ' भयो । अबको सरकारमाथि म्याच फिक्सिङ नगर्नुहोस् हार्दिक शुभकामना,” गुरुङले भने ।

उनले बोलिसकेपछि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बोले । आफ्नो दलमाथि संघीयता विरोधी र प्रदेश संरचना खारेजीको एजेन्डा लिएर चुनावमा होमिएको दलले छेडेपछि चुमानले त्यसको प्रतिवाद गरे ।

“माओवादी केन्द्र राजनीतिमा स्पष्ट, आफ्नो दर्शन, सिद्धान्त, विचार स्पष्ट भएको पार्टी हो । यसले जे गर्छ, दृढतापूर्वक निर्णय गर्छ । विषयमा कसैको खुसामतले आफ्नो मन फेरबदल गर्दैन । यो पार्टीको नीतिअनुसार निर्णय अनुसार नै आफ्नो मत जाहेर गर्ने पार्टी हो,” उनले भने, “जसरी शंका उत्पन्न हुने गरी भनियो, त्यो माओवादी पार्टीमा लागु हुँदैन । हिजो पनि भएन, भोलि पनि हुँदैन ।”

राप्रपातिरै संकेत गर्दै उनले फोहोरी राजनीति गरिरहेको आरोप लगाए । उनले आफूलाई सजिलो पार्न अरूलाई आरोप लगाउने गरेको बताए ।

“म के देख्दै छु भन्दा राजनीति फोहोर भयो भन्ने गरेका छन् । हिजो राजनीतिमा आउँदा म फोहोर सफा गर्न राजनीतिमा छु भनेर मैले पनि भनेँ । यहाँहरू अधिकांशले पनि भन्नुभयो होला । तर, व्यवहारमा आफूलाई सजिलो पार्न अरूलाई आरोप लगाइदिने गरेका छौँ । त्यस्तो खालको फोहोरी राजनीति हुँदै आएको छ । यसबाट हामी बचेका छौँ, तपाईंहरू पनि बच्नुहोला,” उनले भने ।

चुमानपछि प्रमुख प्रतिपक्षी दल एमालेका नेता खगराज अधिकारीले बोले । भर्खरै मुख्यमन्त्री गुमाएका अधिकारीको पहिलो निसानामा परे, सभामुख कृष्ण धिताल । सभामुख धितालले अधिकारीको नाम लिएर छलफलमा सहभागी हुन समय दिएका थिए ।

रोस्टममा पुग्नासाथ अधिकारीले भने, “माननीय सभामुखज्यूले मलाई माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत सम्बन्धमा राख्नुभएको छलफलमा भाग लिन दिनुभएकोमा धन्यवाद दिन चाहान्छु । यहीँबाट सच्याउन चाहान्छु, को त्यहाँ हुन्छ (प्रमुख प्रतिपक्षीको रो तर्फ संकेत गर्दै) सभामुखलाई मन पर्छ, पर्दैन, त्यसमा धेरै जरुरी राख्न पर्दैन । म माननीय सदस्य मात्र होइन, संवैधानिक हैसियतले विपक्षी दलको नेता हो । त्यति भन्न पनि सभामुखज्यूले सक्नुभएन । हामी कस्तो परम्परा सुरु गर्दैछौँ, कस्तो संसदीय परम्परा सुरु गर्दैछौँ ?”

संविधानको रक्षाका लागि गठबन्धन बनाइएको भनिएको तर संविधानको रक्षा नभएको उनले बताए । त्यसपछि उनले मुख्यमन्त्री पाण्डेलाई प्रश्न गरे । 

“माननीय मुख्यमन्त्रीज्यू तपाईं संविधानको धारा १६८ (३) अनुसार हुनुपर्थ्यो । तपाईं २ मा नै गोलचक्कर काटिरहनुभयो, ३ अब खारेज गर्ने हो र ?,” उनले भने ।

संविधानको पालनाका लागि उपधारा २ को सरकार ढलेपछि ३ मा जानुपर्ने उनको जिकिर रह्यो । सुदूरपश्चिमको नजिर देखाउँदै उनले भने, “एउटै देश, एउटै संविधान, विश्वासको मत राजेन्द्रसिंह रावलले पाउनुभएन । कमलजी मुख्यमन्त्री हुनुभयो ३ बाट । आज तपाईं २ बाट  हुँदै हुनुहुन्छ । हामी आफ्नो पायक परेको व्याख्या गरेर संविधानमाथि परेड नखेलौँ, संविधानको संरक्षण यसरी हुँदैन ।”

माओवादीकै सहयोगमा १०५ दिन गण्डकीको मुख्यमन्त्री बनेका अधिकारी सबैभन्दा बढी माओवादीमाथि नै खनिए । माओवादीसँगको गठबन्धनबाट मुख्यमन्त्री बने पनि आलोपालोको कहिँकतै सहमति नभएको उनले बताए । आलोपालो भन्नु नै अस्थिरताको कारक रहेको उनले बताए ।

यहाँसम्म कि तनहुँ–१ को उपनिर्वाचनलाई देखाएर उनले माओवादीको हैसियतमाथि प्रश्न पनि उठाए ।

चुमानप्रति इंगित गर्दै उनले भने, “यहाँ केही साथीले भन्नुभयो हामी ढुक्कले आफ्नो विचारमा दृढतापूर्वक छौँ भन्नुभयो । मेरो लभ उतै परेको थियो, फ्याट्ट यता आइहालेँ भनेर प्रधानमन्त्री महोदयले भनेको सुनेको पनि छु । अनि त्यो अस्थिरता हो कि होइन, स्पष्ट हो कि होइन ? त्यसैले व्यवहारमा लचिलो हुन सकिन्छ, सिद्धान्त छाड्न सकिँदैन ।”

माओवादीले सिद्धान्त छाडेकै कारण जनताले पत्याउन छाडेको उनको तर्क छ ।

“सिद्धान्तै छाडेर, प्रत्यक्ष कार्यकारी पनि छाड्दै आएको छ, अनि यहाँ भट्याउने अर्कै । यस्ता भट्याउने कुरा जनताले पत्याउन छाडेको त थाहा पाउनु नै भयो । निकै जिताउँछौँ भन्नुभएको थियो, स्वर्णिम वाग्लेले जित्दियो तपाईंको क्षेत्रमा । यस्तै अस्थिरताका कारणले हो, सिद्धान्त छाडेकाले हो । २/२ महिनामा छाड्दै गए हामीलाई मान्छन त,” अधिकारीले भने ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत माग्दै मंगलबार एमाले संसदीय दलका नेता अधिकारीलाई पत्र पनि पठाएका थिए । त्यसबारेमा जवाफ दिँदै अधिकारीले भने, “सबैले भोट हालौँ भन्ने हो भने संविधानको रक्षाका लागि पनि विपक्षमा मत नहाली नहुने छ ।”

जवाफ दिएका पाण्डेले सुरुमा नै संविधानको व्याख्या गरिएको कि अपव्याख्या भन्नेमा बुझाइको फरक परेको बताए । विश्वासको मत माग्दा उनले अघिल्लोपटक अधिकारी मुख्यमन्त्री हुँदा पनि आफूलाई त्यसरी नै पत्र आएको बताए ।

“उहाँले जे बाटो देखाउनुभयो, मैले त्यही गरेको हुँ । केन्द्रमा जे भएपनि प्रदेशमा एकैठाउँमा उभिऔँ भन्नुभएको हो, मैले पनि त्यही भनेको हुँ,” पाण्डेले भने ।

सबैले मत दिँदैमा प्रतिपक्षमा बस्न नसकिने भन्ने नरहेको उनको भनाइ छ । ०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारलाई स्मरण गर्न उनले सुझाव दिए । अहिलेको गठबन्धनलाई उनले कोर्स करेक्सन भएको उनले बताए ।

“म्याच फिक्सिङ त त्यो बेलामा भयो, जुन बेलामा चुनावमा भएको गठबन्धन भन्दा बाहिर गएर सरकार बन्यो, त्यतिबेला म्याच फिक्सिङ भएको हो । अहिले त कोर्स करेक्सन भयो । डिरेल भएको कोर्स करेक्सन भएको हो अहिले,” उनले भने ।

चारवटै दलमध्ये सत्तापक्ष कांग्रेस र माओवादीले विश्वासको मतको पक्षमा मत मागे । एमालेले मत दिन नसकिने बतायो । राप्रपाले 'मुटु दिन सकिने तर मत दिन नसकिने' भन्दै माफी नै माग्यो ।

०००

तर, गण्डकी संसद्मा पाँच दल छन । ती मध्ये अर्को दल हो, एकीकृत समाजवादी । मनाङबाट निर्विरोध निर्वाचित भएका दीपक मनाङे (राजीव गुरुङ) एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । यसअगाडिको प्रदेश सभा बैठकमा स्वतन्त्रको हैसियतमा छुट्टै कुर्सीमा बस्ने मनाङेलाई बिहीबार भने प्रदेश सभा सचिवालयले दलको सांसदको हैसियतमा कुर्सी टेबल उपलब्ध गराउँदै उनी बस्ने ठाउँ पनि परिवर्तन गर्‍यो । सत्तारूढ गठबन्धनमा भएका कारण उनको स्थान सत्तापक्षकै दलका नेताहरूसँगै राखिएको थियो ।

प्रदेश सभा बैठक सुरु हुनुभन्दा आधा घण्टा पहिले नै प्रदेश सभामा पुगेका उनी बैठक हलमा भने निकै ढिला प्रवेश गरे । त्यसको कारण चाहिँ सबै दलका १/१ जनाले पक्ष विपक्षमा बोल्ने भन्ने कार्यसूची तय थियो । तर, मनाङेलाई बोल्ने इच्छा थिएन, अघिल्लो कार्यकालमा एकपटक मात्रै मन्त्रीको हैसियतमा जवाफ दिन रोस्टम उक्लिएका मनाङे प्रदेश सभा बैठकमा कहिल्यै बोल्दैनन् ।

बिहीबार बोल्नुपर्ने भएपछि मनाङे हलमा नै छिरेनन् । आफ्नो पालो काटिएपछि भित्र छिरे । यसअगाडि झैँ स्वतन्त्रको कुर्सी खोज्दै उनी अन्तिम लहरतर्फ अगाडि बढे । तर, सत्तापक्षका सांसदले उनको स्थान भने अगाडि रहेको संकेत गरे । अलमलिएका मनाङे अन्ततः सत्तापक्ष बस्ने बेन्चको पहिलो लहरमा पुगेर बसे । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  २१:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro