पोखरा । गण्डकीको मुख्यमन्त्री नियुक्त भएको हप्तादिनमा नै सुरेन्द्रराज पाण्डेले प्रदेश सभालाई विश्वासको मत लिने कार्यसूची पठाउँदै बिजनेस दिएका छन् । वैशाख ९ गते विश्वासको मत पाउन नसकेपछि पूर्वमन्त्री खगराज अधिकारी सरकारले प्रदेश सभाको बैठक अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
त्यसको पाँच दिनपछि मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे नेतृत्वको तीन सदस्यीय मन्त्रिपरिषद्ले दोस्रो बैठकबाट प्रदेश सभा बैठक आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गर्यो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार दिउँसो २ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका छन् ।
बैठकमा विश्वासको मत लिने कार्यसूची तय गर्न मुख्यमन्त्रीले मंगलबार नै प्रदेश सभा सचिवालयलाई पत्र पठाएका छन् । सोहीअनुसार बुधबार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची तय गरिएको सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
गण्डकीका चौथो मुख्यमन्त्रीमा पाण्डे नियुक्त हुनुअघि खगराज अधिकारीले १०५ दिन सरकार चलाएका थिए ।
तीन महिना र केही दिन गण्डकी सरकारको नेतृत्व गरेका अधिकारी केन्द्रमा भएको सत्ता फेरबदलसँग सत्तापक्षबाट प्रतिपक्षमा पुगेको छ । त्यस्तै, केन्द्रकै समीकरणको प्रभावका कारण सुरुमा प्रतिपक्षी दलको नेता बनेका पाण्डे अहिले भने सत्तापक्षको बेन्चमा सरेका छन् ।
वैशाख १४ गते नियुक्त भएका मुख्यमन्त्री पाण्डेले पहिलो बैठकमा नै विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत माग्दै उनले मंगलबार नै विपक्षी दललाई पत्र पठाएका छन् । गण्डकीमा अहिले विपक्षमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छन् । बिहीबार नै कांग्रेस संसदीय दलको बैठक बसेको छ । उक्त बैठकले विश्वासको मत लिने बारेमा छलफल गरेको छ ।
सत्तारूढ अर्को दल माओवादी केन्द्रले पनि सोही विषयमा छलफल गरेको छ ।
संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त पाण्डेले उपधारा (४) अनुसार विश्वासको मत लिँदै छन् ।
गण्डकीमा कांग्रेसको २७ सिट छ भने सत्तारूढ माओवादीको ८ तथा एकीकृत समाजवादीको १ सिट छ । माओवादीबाट कृष्ण धिताल सभामुख बनेका कारण विश्वासको मतको प्रस्तावमा मतदान गर्न पाउँदैनन् । वैशाख १४ देखि प्रतिपक्षमा रहेको एमालेसँग २२ र राप्रपासँग २ सिट छ ।
नेकपा (एमाले)ले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । मुख्यमन्त्रीले विश्वासको मत माग्दै पत्राचार गरेकै दिन मंगलबार संसदीय दलको बैठक राखेर एमालेले विपक्षमा मत दिने निर्णय गरेको हो ।
विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने मुख्यमन्त्री पाण्डेको योजना छ । १५ गते मुख्यमन्त्रीको शपथ लिँदा पाण्डेसँगै दुईजना विनाविभागीय मन्त्रीले पनि शपथ लिएका छन् । अब माओवादीबाट थप एकजना र बाँकी मन्त्री कांग्रेसबाट बन्ने सम्भावना छ । तर, दलगत मन्त्रालयको विभाजन भइसकेको छैन । विश्वासको मत पाएपछि मात्रै मन्त्रालयको भागबन्ड मिलाइने मुख्यमन्त्री निकट स्रोत बताउँछ ।
गण्डकीमा स्वतन्त्र निर्वाचिन भएका राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि मन्त्रीका लागि लबिङ गरिरहेका छन् । स्वतन्त्र निर्वाचित भएका मनाङे माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् ।