
काठमाडौं । नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डमध्येको सामसङले नेपाली बजारमा नयाँ फाईभजी मोबाइल एम१४ भित्र्याएको छ ।
सामसङ एम१४ फाईभजी स्मार्टफोनमा ५० मेगापिक्सलको तीन वटा क्यामरा, ६ हजार एमएएचको ब्याट्री र पाँच एनएम प्रोसेसर रहेको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी एम१४ फाईभजीमा ५० एमपिका तीन वटा क्यामराहरू रहेका छन् । यसमा जडित एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न बनाउने कम्पनीले जनाएको छ । यस्तै, यसमा सेल्फी खिच्नका लागि १३ एमपीको फ्रन्ट क्यामरा जडित छ ।
फोनमा रहेको ६ हजार एमएएचको ब्याट्रीले ग्यालेक्सी एम १४ फाइभजीलाई ‘पावर मोन्स्टर’ बनाइदिएको कम्पनीकोे भनाइ छ । यो फोनको चार्ज दुई दिन टिकाउने कम्पनीले सामसङको भनाइ छ । यो स्मार्टफोनले २५ वाटको तीव्र चाजिंङलाई सपोर्ट गर्ने भएकोले छिटो चार्ज हुनेछ ।
मोबाइलको बारेमा जानकारी दिँदै सामसङ नेपाल, मोबाइल बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरूको माया प्राप्त गर्दै आएकोे छ । यही विरासत कायम राख्दै ग्यालेक्सी एम १४ पाँच जी मोडल प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ ।”
कम्पनीले ‘पर्फरमेन्स मोन्स्टर’ पनि भनेको ग्यालेक्सी एम १४ फाईभजीमा अग्रणी पाँच एनएम एक्जिनस १३३० प्रोसेसर जडित छ । यो चिपसेटले प्रयोगकर्ताहरूलाई उत्कृष्ट पर्फरमेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ ।
फोनमा उत्कृष्ट गेमिंग अनुभवका लागि सहज र थ्री डि ग्राफिक्स एवं र्याम प्लस विशेषताले १२ जीवीसम्म र्यामको क्षमता बढाउन सकिने बताइएको छ ।
यसमा ६.६ इन्चको एचडी प्लस, ९० हर्ज डिस्प्ले उपलब्ध छ । ग्यालेक्सी एम १४ मा फाईभजी नेटवर्कसँगै परिस्कृत सुरक्षा र गोपनीयताको लागि सुरक्षित फोल्डरलाई समर्थन गर्ने कम्पनीको भनाइ छ । एन्ड्रोइड १३ मा आधारित फोनमा वान यूआई ५.१ कोर जडित रहेको र दुई पुस्तासम्म ओएस अपग्रेड र चार वर्षसम्म सुरक्षा अद्यावधिक प्रदान गर्ने कम्पनीले जनाएको छ ।
आइसाइ सिल्भर, बेरी ब्लू र स्मोकी टेल गरी तीन रङमा उपलब्ध फोनमा थप्न मिल्ने गरी ६ जीबी र्याम रहेको छ भने १२८ जीबी स्टोरेज छ । २४,९९९ रुपैयाँ मूल्य तोकिएको एम१४फाईभजी आज (बुधबार) देखि देशभरका सबै सोरुममा उपलब्ध हुने सामसङले जनाएको छ ।