site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घण्टीबाट स्वर्णिमले चुनाव जित्दा पर्वत कांग्रेसमा ‘खतराको घण्टी’ !
SkywellSkywell

पोखरा । वैशाख १० गते भएको उपचुनावको नतिजा १२ गते आयो । नेपाली कांग्रेसले गठबन्धनको शक्ति लगाएर प्रतिष्ठाको विषय बनाउँदा पनि तनहुँ–१ मा आफ्ना उमेदवारलाई जिताउन सकेन । भारी मतान्तरले कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उमेदवार बनेका डा. स्वर्णिम वाग्लेले चुनाव जिते ।

उनको जितलाई लिएर कांग्रेसभित्र र गठबन्धनमा मात्र नभई राष्ट्रिय राजनीति नै तरंगित बन्यो । भएजतिको शक्ति लगाउँदा पनि कांग्रेसका उमेदवारले मंसिरमा समानुपातिकमा पाएको जति मत पनि ल्याउन सकेनन् ।

उमेदवार पराजित भएपछि तनहुँमा चुनावी कमान्डर बनेका कांग्रेस महामन्त्री गगन थापाले निर्मम समीक्षा र आत्मनिरीक्षण गर्ने बताइरहेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पनि उपचुनावको परिणामपछि ‘ठूला पार्टीहरूप्रति जनताले चासो नदेखाएको र पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता देखिएको’ बताएका छन् ।

KFC Island Ad
NIC Asia

कांग्रेसकै नेताहरूको प्रतिक्रिया अनुसार रास्वपाबाट स्वर्णिमको जित, ‘सतर्कताको घण्टी’ हो ।

तर, घण्टी चुनाव चिह्नबाट स्वर्णिमले जित्दैगर्दा त्यसको बाछिटा पर्वत कांग्रेसमा देखिएको छ । हप्ता दिनमा नै कांग्रेस छाड्नेको लहरो हेर्दा पर्वतको कांग्रेसमा ‘सतर्कताको घण्टी’ को सट्टा ‘खतराको घण्टी’ बजेको छ ।

Royal Enfield Island Ad

एक हप्तामा नै पर्वतमा ५० जना बढीले कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् । पार्टी छाड्नेमा जिल्ला सभापतिमा प्रतिष्पर्धा गरेकादेखि लिएर जिल्ला कार्यसमिति सदस्य, क्षेत्रीय समितिका पदाधिकारी, नेपाल विद्यार्थी संघ, महिला संघमा आबद्ध पदाधिकारी तथा सदस्यहरू छन् ।

पार्टी परित्याग गर्नेहरू पर्वतमा संस्थापन इतरको रूपमा चिनिएका थिए ।

कांग्रेसको १४औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा प्रतिष्पर्धा गरेका मिलन सुवेदी सहित ३१ जनाको टोलीले एकैसाथ कांग्रेस छाडे । पर्वत कांग्रेसको सभापतिमा सुवेदीले युवराज जोशी र यामबहादुर मल्ल (रामकृष्ण) सँग प्रतिष्पर्धा गरेका थिए । तर, उनी त्यहाँ पराजित भए । जिल्ला सभापतिमा प्रतिष्पर्धा गर्नुअघि उनी नेविसंघ पर्वतका सभापतिसमेत थिए ।

उनै सुवेदीसहित नेविसंघकै पूर्वसभापति सन्तोष पाठक, जिल्ला कार्य समिति सदस्य किसान थापा, तरुण दलका सचिव सागर भुसाल, प्रदेश सभा सदस्यको उमेदवार बनेका कमलराज पौडेललगायत छन् ।

१४औँ जिल्ला अधिवेशनमा हालका महामन्त्री गगन थापाले नै फोन गरेर सभापतिमा उठ्न भनेका सुवेदीले आखिर किन कांग्रेस छाड्नुपर्‍यो त ?

कांग्रेस परित्याग गर्नुको कारणबारे उनले लेखेका छन, “विगतलाई समीक्षा गर्दै आजसम्म हामी क्रियाशील रहँदै आएको पार्टीबाट साधारण सदस्य पनि नरहने गरी स्वतन्त्र रहेको जानकारी गराउँदछौँ । निकट भविष्यमा नयाँ यात्रासहित यहाँहरूका सुखदु:खमा जोडिने नै छौँ ।"

त्यसयता पर्वतमा दिनहुँ सामाजिक सञ्जालमा कांग्रेस परित्याग गर्नेहरू बढिरहेका छन् । सोमबार नै कांग्रेसको प्रदेश समिति अन्तर्गत क्षेत्र (२) का क्षेत्रीय सचिव ठाकुर रसाइलीले पनि राजीनामा दिएका छन् ।

रसाइली १४औँ महाधिवेशनमा इतर समूहबाट प्रतिष्पर्धा गरी सहसचिव निर्वाचित भएका थिए ।

नेविसंघमा आबद्ध भई ०४६ सालदेखि कांग्रेसमा जोडिएकी महिला संघकी जिल्ला सदस्य माया शर्माले पनि सोमबार नै कांग्रेस छाडेकी छन् । उनी तरुण दल विहादीको कोषाध्यक्ष हुँदै महिला संघको कार्यसमिति सदस्यसमेत थिइन् ।

कांग्रेस परित्याग गर्दैगर्दा उनीहरूले दुईवटा संकेत दिएका छन् । एउटा नेतृत्वको चरम गुटबन्दी र अर्को उदाउँदै गरेको रास्वपाप्रतिको आकर्षण ।

“अवसरका लागि ठूला भनिएका दल र ठूला सोचिएका नेताका आडमा बसिरहने कि परिवर्तनका लागि जनताका साथमा उभिने आफैँ सोचौँ । स्वतन्त्र अभियान पर्वत,” पार्टी त्यागेपछि सुवेदीले भनेका छन् ।

उनले रास्वपाबाट निर्वाचित डा. वाग्लेलाई भेटेको तस्बिर सेयर गर्दै देशको समसामायिक विषयमा छलफल गरिएको समेत जनाएका छन ।

तर, तत्काल रास्वपामा प्रवेश गर्ने वा नगर्ने निर्णयमा पुगिनसकेको उनले जनाए । “हामीले कांग्रेस त्याग गरेका हौँ, कांग्रेसका कारण हामीलाई अन्याय भएको होइन, देशलाई नै अन्याय भएको छ,” सुवेदीले भने ।

मुलुकमा लोकतन्त्र आएर गणतन्त्र आइसक्दा पनि नागरिकले पाउनुपर्ने डेलिभरी ठूला दलबाट नपाएको उनको भनाइ छ ।

तर, पर्वत कांग्रेसमा भने पार्टी परित्यागको विषयलाई लिएर पक्षविपक्षमा टिकाटिप्पणी भइरहेका छन् । कतिपयले पार्टी त्याग गर्नेलाई अवसरवादी भनिरहेका छन् भने कतिपयले पार्टी सच्चिनुपर्ने र परित्याग गर्नेहरूलाई पुनः पार्टीमा नै ल्याउनुपर्ने बताइरहेका छन् ।

पर्वतमा कांग्रेसभित्रको विवाद भने पुरानो होइन । सुवेदी स्वयं नेविसंघको राजनीति हुँदै १४औँ जिल्ला अधिवेशनमा गगन थापा समूहको प्रतिनिधि बनेर चुनावमा होमिएका थिए ।

पर्वतको कांग्रेस राजनीतिमा दुईवटा गुट सक्रिय छन् । अर्जुनप्रसाद जोशी र इतर समूहको गुट टोलसम्म नै सक्रिय छ । १४औँ महाधिवेशनले भने त्यसलाई झनै सक्रिय बनायो ।

पर्वत कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा त्रिपक्षीय प्रतिष्पर्धा भयो । अर्जुनप्रसाद जोशीका भाइ युवराज जोशी, रामकृष्ण मल्ल र मिलन सुवेदी सभापतिका उमेदवार बने । अन्य पदाधिकारी तथा सदस्यको पनि प्यानल बन्यो ।

पहिलो चरणमा नै युवराज जोशी सभापतिमा निर्वाचित भए । निर्वाचित भइसकेपछि सबैलाई मिलाएर लग्नुको सट्टा प्रतिष्पर्धामा उत्रनेहरूलाई निषेध गर्न थालेको इतर समूहको आरोप छ ।

दुईपक्षबीचको यही गुटगत प्रतिष्पर्धा स्थानीय तहमा प्रष्टै देखियो । गठबन्धनका कारण पर्वतका सातमध्ये पाँच पालिकाको अध्यक्ष कांग्रेसले जितेतापनि वडाध्यक्ष भने गुमायो । गठबन्धनबाट नै उपाध्यक्षमा उमेदवारी दिएका माओवादी केन्द्रकाका उमेदवारहरू सबैले जित हासिल गर्न सकेनन् । कांग्रेसको विधान अनुसार वडाको टिकटको अन्तिम टुंगो जिल्ला सभापतिले लगाउँछन । इतर समूहले केही वडाध्यक्ष माग्दा नदिएको भन्दै स्वतन्त्र उमेदवार उठाउनेसम्मका क्रियाकलाप भए ।

कांग्रेसभित्रको यो टकरावको मारमा स्वयं अर्जुनप्रसाद जोशी पनि परे ।

०७९ मंसिरको प्रतिनिधीसभा निर्वाचनमा गठबन्धनका उमेदवार थिए, जोशी । गठबन्धन हुँदापनि उनी दोस्रोपटक फराकिलो मतान्तरले पराजय भोगे ।

कांग्रेसमा एक समूहले अर्को समूहलाई हराउने आरोप एकले अर्कोलाई लगाइरहन्छन् । यतिसम्म कि पार्टीको प्रशिक्षण कार्यक्रममा नबोलाइएको भन्दै पूर्व पार्टी सभापति नवराज गुरुङले माइक नै खोसेर बोले ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकास शर्मा नै उपस्थित भएको प्रशिक्षण कार्यक्रममा पर्वतको कांग्रेसलाई उनले ‘जोशी कम्पनी एन्ड प्राइभेट लिमिटेड’ को संज्ञा दिए ।

पर्वतमा अर्जुनप्रसाद जोशी भएसम्म आफ्नो 'पालो आउँदैन' भन्ने इतर समूहको बुझाइ छ । 

केन्द्रमा सभापति देउवाका निकट जोशीले आफूले टिकट पाएपनि चुनाव जितिँदैन भनेर निकटस्थहरूलाई मंसिरको चुनावताका नै भनेका थिए । सामाजिक सञ्जालमा कतिपयले जोशीलाई अब अभिभावकको भूमिकामा बस्न सुझाव पनि दिएका छन् ।

पार्टी परित्याग गर्नेहरूका कारण कांग्रेस कमजोर हुन्छ भन्ने दुवै समूहले बुझेका छन् । तर, एकले अर्कोको अस्तित्व नस्विकार्ने प्रवृत्तिले जितिरहँदा पर्वतमा कांग्रेस परित्याग गर्ने भने बढिरहेका छन् । यी दुई समूहको नाडी छामेर पार्टी परित्याग गरेकाहरूको आकार बढिरहँदा पर्वत कांग्रेसको साइज घटिरहेको छ ।

यही ‘इगो’ र शक्ति अभ्यासको लोभका कारण एकले अर्कोलाई निषेध गरिरहँदा पर्वत कांग्रेस छाड्नेको लहरो अझै बढ्ने देखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  २१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro