site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘डिफेन्डर’बाट ‘स्ट्राइकर’ बनेका सुरेन्द्रराज
SkywellSkywell

पोखरा । शुक्रबार मुख्यमन्त्रीको शपथ लिँदै गर्दा सुरेन्द्रराज पाण्डेको बेन्च प्रदेश सभामा प्रतिपक्षबाट सत्तापक्षमा हुनेछ । यसका लागि उनले ११० दिन कुर्नुपर्‍यो । उनकै शब्दमा भन्ने हो भने उनी यो समयसम्म 'डिफेन्डर' थिए, अब 'स्ट्राइकर' बन्नेछन् ।

पुस २९ गते प्रदेश सभामा तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत माग्दै गर्दा पाण्डेले भनेका थिए, “...राजनीतिक दाउपेच, लुछाचुँडीबाट नै अगाडि बढ्न प्रयत्न गर्छ भने सत्तापक्षमा पनि नेसनल खेलाडी नै आउनुभएको छ । यति पनि याद गर्नुहोस् डिफेन्डर पनि नेसनल खेलाडी नै छ । त्यसकारण गोल त गर्नुहोला र फल नखेल्नुहोला । यति चाहिँ म आज भनी नै हाल्छु ।”

आफूलाई 'नेसनल डिफेन्डर' बताएका पाण्डेले अब गण्डकीको मुख्यमन्त्री बनेर प्रदेशका लक्ष्य प्राप्तिका लागि स्ट्राइकरको भूमिका निभाउने छन् । त्यसमा उनी कति सफल हुन्छन्, समयले देखाउनेछ । अघिल्लो सरकारमाथि प्रतिपक्षी बनेर उठाएका प्रश्न, प्रदेशका अधिकारका विषय र चुनौतीहरू अब उनीमाथि नै फर्किएका छन् ।

KFC Island Ad
NIC Asia

मंसिर ४ को चुनावी गठबन्धन कायमै रहेको भए उनी सुरुदेखि नै मुख्यमन्त्री हुने थिए । बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले त गोरखाबाट आफू उमेदवार बन्दै गर्दा सुरेन्द्रराज पाण्डेलाई भाबी मुख्यमन्त्रीको रूपमा नै चिनाउँदै मत मागिदिएका थिए ।

प्रचण्डले पनि जिते, पाण्डेले पनि जिते । तर, चुनावमा मिलेको कांग्रेस र माओवादी सहितको गठबन्धनबाट प्रधानमन्त्री बन्ने संकेत नदेखेपछि प्रचण्ड एमालेसहितको गठबन्धनमा मिसिए । पुस १० गते उनी प्रधानमन्त्री पनि भए । प्रचण्डले गठबन्धन फेर्दा त्यसको असर भने पाण्डेलाई पर्‍यो ।

Royal Enfield Island Ad

मुख्यमन्त्री बन्ने भनेरै प्रदेश सभामा चुनाव लडेका पाण्डे मुख्यमन्त्री बनेनन्, प्रमुख प्रतिपक्षी दलको नेता बन्न पुगे ।

केन्द्रमा प्रचण्ड प्रधानमन्त्री भएकै दिन पोखरा झरेका पाण्डेले भनेका थिए, “यो घटना मेरा लागि अनपेक्षित थिएन ।  तर, पोखराबाट काठमाडौं आउँदा प्लेन त ल्यान्ड भयो, तर राजनीति क्र्यास भयो । म सकुशल अवतरण भएँ । म आइपुग्दा राजनीति चाहिँ क्र्यास भयो ।”

उनले क्र्यास भयो भनेको राजनीति बिहीबार 'सुध्रिएको' छ । यसको लागि भने राष्ट्रपति निर्वाचन कारक बन्न पुग्यो । प्रधानमन्त्री बन्नका लागि एमालेसँग सहकार्य गरेका प्रचण्ड राष्ट्रपति निर्वाचनमा भने पुरानै गठबन्धनमा फर्किए । उनै प्रचण्ड पुरानो गठबन्धनमा फर्किएपछि गोरखा–२ ले प्रधानमन्त्री पायो, गोरखा २ (ख) ले गण्डकीको मुख्यमन्त्री पाएको छ ।

उनलाई मुख्यमन्त्री बन्न कति हतार थियो भन्ने कुरा शनिबारको कुराले पुष्टि गर्छ । शनिबार निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत मागे । तर, पाउन सकेनन् । उनले विश्वासको मत नपाउनासाथ संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठूलो संसदीय दलको नेताको हिसाबले आफूलाई मुख्यमन्त्री नियुक्त गर्नको लागि प्रदेश प्रमुखकोमा सन्देश पुर्‍याए । यहाँ यो उपधारा अनुसार मुख्यमन्त्री नियुक्त गर्दा लुम्बिनीमा गठबन्धनको मुख्यमन्त्री फुत्किन्छ भन्ने कुराको हेक्का पनि उनले राखेनन् ।

त्यति मात्रै होइन, उपधारा ३ अनुसार नै मुख्यमन्त्री नियुक्त गर्नुपर्छ भन्दै उनले सांसदहरूलाई काठमाडौंमा डेलिगसन गर्न बोलाए ।

तर, प्रचण्ड र कांग्रेस सभापति देउवाले उपधारा (२) अनुसार संयुक्त सरकार बन्ने र सुरेन्द्रराज पाण्डे सुरुमा मुख्यमन्त्री बन्ने सहमति गरेपछि सांसदहरू मंगलबार पोखरा फर्किएका थिए ।

यता माओवादीबाट हरि चुमानले बिहिबार बिहानसम्म पनि मुख्यमन्त्रीको दाबी छाडेका थिएनन् । तर, तनहुँमा गठबन्धनका उमेदवार हारेपछि कांग्रेसले माओवादीबाट दबाब बढायो । पाण्डे नै मुख्यमन्त्री बन्ने र त्यसमा माओवादीले समर्थन गर्नुपर्ने विषयमा चुमानलाई शीर्ष नेताहरूले निर्देशन दिए । कति समयसम्म कांग्रेसले मुख्यमन्त्री लिने, कति समय माओवादीले नेतृत्व गर्ने भन्ने विषयमा लिखित सहमति गर्ने भनेर चुमानले पनि सुरुमा पाण्डेलाई मुख्यमन्त्रीमा सघाउन तयार भए ।

माओवादी तयार भएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ (२) अनुसार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरे । उनको शपथ शुक्रबार हुँदै छ । 

गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङमा जन्मिएका पाण्डे पहिलोपटक प्रत्यक्ष चुनाव लडेका हुन् । यसअगाडि उनी राष्ट्रिय सभा सदस्य भई कांग्रेस संसदीय दलको नेता बनेका थिए ।

उनी लगातार तीनपटक केन्द्रीय सदस्यमा निर्वाचित भए । २०२१ भदौ ९ गते जन्मिएका पाण्डे विद्यार्थीकालदेखि नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघमा आबद्ध थिए ।

२०३७ सालमा अमरज्योती जनता माविबाट एसएलसी उत्तीर्ण गरेका पाण्डेको एक छोरा र श्रीमती छन् । राजनीतिक संघर्षका क्रममा २०४५ सालदेखि ०६१ सम्म पटकपटक गरि उनले आठ महिना जेल जीवन भोगे ।

२०३६ सालमा नेविसंघको सदस्यता लिएका पाण्डे २०३९ सालमा नेविसंघ अस्कल इकाई सचिव हुँदै २०४५ मा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति बने । 

उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  २०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro