site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डको फोन नआएसम्म कांग्रेससँग संवादमा नबस्ने चुमानको अडान

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिनेबारेमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार सहमति भएपछि डेलिगेसन गएका गण्डकीका कांग्रेस सांसद मंगलबार ढुक्क भएर फर्किए ।

गण्डकीको नेतृत्व कुनै हालतमा पनि नछाड्न भन्दै दबाब दिन गएका कांग्रेसका सांसदहरुले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्न भनेका थिए ।

तर, यो उपधाराअनुसार सरकार गठन गर्दा लुम्बिनी प्रदेशको नेतृत्व गुम्ने भन्दै शीर्ष नेताहरुले उपधारा २ अनुसार नै सरकार बन्ने र कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीको आश्वासन दिएर फिर्ता पठाए । माओवादी र कांग्रेसको संयुक्त गठबन्धनबाट मुख्यमन्त्री बन्ने भन्दै पाण्डे मंगलबार नै पोखरा फर्किए । तर, उनले हालसम्म पनि माओवादीसँग संवाद गर्न सकेका छैनन् ।

यता, गण्डकीको नेतृत्व कांग्रेसले पाउने भएपछि माओवादी संसदीय दलका नेता मंगलबार नै काठमाडौं लागे । काठमाडौं गएर पार्टी अध्यक्षसँग वार्ता गरेका चुमान बुधबार पोखरा फर्किएका छन् । 

प्रचण्डले गण्डकीको मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति नभएको बताएपछि चुमानमा आफै मुख्यमन्त्री बन्ने आशा अझै सकिएको छैन । सोहीकारण उनी कांग्रेससँग संवाद गरेका छैनन् ।

अध्यक्ष प्रचण्डले उनलाई कुनै सहमति नभएको र बुधबार नै कांग्रेस सभापति देउवासँग भेट गरेर मुख्यमन्त्रीको निर्णय लिने बताएका छन् । देउवासँगको भेटपछि हुने निर्णयको बारेमा फोनमार्फत जानकारी गराउने भनेपछि चुमान पोखरामा छन् र उनले अध्यक्ष प्रचण्डको फोन कुरिरहेका छन् ।

“अध्यक्षज्यूले गण्डकीको नेतृत्व कसले पाउने भन्नेबारेमा कुनै निर्णय भएको छैन भन्नुभयो । आज (बुधबार) नै कांग्रेस सभापति देउवासँग भेट्ने र त्यसपछि टुंगो लाग्छ भन्नुभयो । निर्णय भएपछि तपाईँलाई फोन गर्छौँ भन्नुभएको छ,” चुमानले भने ।

प्रचण्डको फोन कुरेर बसिरहेका चुमान पनि गण्डकीको मुख्यमन्त्रीका दाबेदार हुन् । आलोपालोबाट सरकार चलाउने र सुरुमा माओवादीले नेतृत्व पाउनुपर्ने उनको अडान छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहिबार दिनको ४ बजेसम्म सरकार गठनको लागि दलहरुलाई आह्वान गरेका छन् । सरकार गठनको अन्तिम समयसीमासम्म पनि माओवादीले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयास गरिरहेको छ । त्यसका लागि माओवादीका प्रदेश कमिटीदेखि केन्द्रीय पदाधिकारीसम्मले प्रचण्डसामु दबाब बढाइरहेका छन् ।

चुमान मंगलबार काठमाडौं गएर प्रचण्डसँग भेट्नुलाई माओवादीकै नेताहरुले भने बार्गेनिङ रणनीतिको रुपमा बुझेका छन् । “सके पहिलो नेतृत्व लिने अन्यथा आलोपालो गर्दा कति समय सरकार नेतृत्व गर्ने हो, स्पष्ट पार्न कै लागि भनेर चुमान काठमाडौं गएका हुन्,” माओवादीका एक केन्द्रीय सदस्यले भने ।

गण्डकी सरकारमा चुमान दुईपटक मन्त्री भइसकेका छन् । सुरुमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको क्याबिनेटमा उनी आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । गुरुङ सरकार ढलेपछि माओवादीबाट अरु मन्त्री भए । दोस्रोपटक पनि प्रदेशसभामा नै चुनाव लडेका चुमान खगराज अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री भए । तर, तीन महिनामै अधिकारी नेतृत्वको सरकार ढलेको छ । 

यहाँ अब कांग्रेस र माओवादीको संयुक्त सरकार बन्नेछ । दुई÷दुईपटक मन्त्री भइसकेपछि मुख्यमन्त्री बन्नको लागि चुमानको दौडधुप तीव्र छ । तर, उनी पहिलो कार्यकालको मुख्यमन्त्री बन्न भने उनलाई सम्भव छैन ।

खगराज अधिकारी नेतृत्वको सरकार १६८ (२) अनुसार बनेको हुँदा यो सरकार ढलेपछि स्वतः संविधानको धारा १६८ (३) मा जाने र सबैभन्दा ठूलो दलको हिसाबले कांग्रेसबाट मुख्यमन्त्री बन्ने तर्क कांग्रेसका प्रदेशसभा सदस्यहरुको थियो ।

चुमानले भने यसमा फरक मत राख्दै आएका थिए । १६८ (२) अनुसार नै सरकार बन्न सम्भव भएसम्म उपधारा ३ मा नजाने उनको तर्क थियो । पुनः १६८ (२) अनुसार नै सरकार बनाउने र नेतृत्व आफूले गर्ने तीव्र इच्छा चुमानको छ । त्यसकै लागि उनले प्रधानमन्त्रीलाई भेटेरै आफ्ना कुरा राखेका छन् । 

अब चुमानलाई एकमात्र आशा भनेको प्रचण्डले देउवालाई मनाउन सके आफू मुख्यमन्त्री बन्न सकिन्छ भन्ने छ । प्रचण्डकै फोन कुरिरहेका कारण कांग्रेससँगको संयुक्त बैठकमा पनि उनी उपस्थित भएका छैनन् ।

कांग्रेसभित्र मन्त्री बन्न हानथाप

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले नै गण्डकीको मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति गरे पनि कांग्रेसका सांसदहरुको दौडधुप सकिएको छैन । प्रचण्ड र देउवाको सहमतिअनुसार संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे त मुख्यमन्त्री बन्लान्, तर मन्त्री बन्नेको होडबाजीका कारण कांग्रेसमा शीर्ष नेता गुहार्नेदेखि लिएर मन्त्री दोहोर्‍याउन नहुने सन्देश सांसदहरुले शीर्ष नेताकहाँ पुर्‍याएका छन् ।

मन्त्री दोहोर्‍याउन नहुने सन्देश शीर्ष नेतालाई पुर्‍याउनुको अर्थ ‘विन्दुकुमार थापा’सँग जोडिन्छ । थापा आफै संसदीय दलको नेताको आकांक्षी थिए । तर, शीर्ष नेतृत्वले नै सुरेन्द्रराज पाण्डेलाई सघाउन भनेपछि थापा ब्याक भएका थिए ।

कांग्रेसमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री र विन्दुकुमार थापा मन्त्री बन्ने निश्चित जस्तै थियो । तर, थापालाई मन्त्री बन्न नदिन कास्कीकै केही नेता लागेका छन् । “ममाथि चौतर्फी आक्रमण भइरहेको छ,” थापाले भने ।

अघिल्लो निर्वाचनमा कास्कीमा कांग्रेसको बिउ जोगाइदिएको र अनुभवका आधारमा पनि आफू मन्त्री बन्नुपर्ने तर्क थापाको छ । थापा आउट भएको अवस्थामा कास्कीकै सरस्वती गुरुङ र प्रकाश बरालको सम्भावना बढेर जान्छ ।

खगराज अधिकारी नेतृत्वको सरकारले मन्त्रालयको संख्या १२ बाट घटाएर सातमा झारेपछि पनि मन्त्री छान्न सकस नै हुने देखिएको छ ।

अधिकारी नेतृत्वको सरकारमा एमालेले मुख्यमन्त्रीसहित चार, माओवादी केन्द्रले दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा मन्त्रालय पाएका थिए । माओवादीलाई अघिल्लै सरकारमा पाएको हिसाबले दुईवटा मन्त्रालय दिने र राप्रपाको मन्त्रालय आफूले लिएर मुख्यमन्त्रीसहित पाँचवटा मन्त्रालय लिने कांग्रेसको रणनीति छ ।
तर, २७ जना सांसदबाट आफूबाहेक चारजना मन्त्री छान्न पाण्डेलाई पनि सकस नै पर्ने देखिन्छ ।

पाण्डे गोरखाका हुन् । उनी मुख्यमन्त्री भए गोरखाबाट अन्य कांग्रेस सांसदहरुको मन्त्री बन्ने च्याप्टर क्लोज हुन्छ । लमजुङका डा. टकराज गुरुङ पनि मन्त्रीका बलियो दाबेदार हुन् । गुरुङलाई मन्त्री बनाउँदा एउटा समुदायको प्रतिनिधित्व पनि हुने हुँदा उनको सम्भावना बढी देखिन्छ ।

मन्त्रीको नाममा गुरुङ समुदायबाट कास्कीकै सरस्वती र पर्वतकी रेखा गुरुङको नाम पनि उत्तिकै चर्चामा छ । रेखा गुरुङलाई मन्त्री बनाउन मुस्ताङका पूर्वसांसद रोमी गौचनको जोडबल छ । संसदीय दलको चुनावका बेला रोमीले सुरेन्द्र पाण्डेलाई सघाएका थिए । त्यही गुन तिर्न पनि रेखालाई मन्त्री बनाउनुपर्ने दबाबमा हुनेछन पाण्डे ।

स्याङ्जाकी सरस्वती तिवारीको दाबी पनि सशक्त छ । उनी पार्टी केन्द्रीय सदस्य हुन् । बागलुङकी चम्पादेवी खड्का संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री समेत हुन् । बागलुङकै दिपेन्द्रबहादुर थापा पनि आकांक्षी हुन् ।

शेखर गगन समूहबाट बागलुङका डिल्लीराम सुवेदीको मन्त्रीका लागि सशक्त दाबी छ । बागलुङकै जित शेरचन पनि उत्तिकै दाबेदार हुन् ।

शेखर गगन समूहबाट संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका स्याङजाका भोजराज अर्याल पनि मन्त्री बन्न लालायित छन् । यही समूहबाट नवलपुरका महेन्द्रध्वज जिसीको पनि चर्चा छ ।

माओवादीबाट रेशम जुग्जालीलाई निरन्तरता दिने र हालकी प्रमुख सचेतक सुशिला सिम्खडालाई मन्त्री बनाउने चर्चा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ००:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro