
गोपाल एकदमै अल्छी थियो । घरपरिवारका मानिस पनि उसको यो बानीदेखि हैरान थिए । गोपाल हमेसा चाहन्थ्यो, यस्तो जीवन प्राप्त होस् जहाँ उसले दिनभर सुत्न पाओस् । जे चाहन्छ त्यो ओछ्यानमै मिलोस् । तर, त्यस्तो कहिल्यै भएन ।
एक दिन उसको मृत्यु भयो । मृत्युपछि ऊ स्वर्गमा पुग्यो । स्वर्ग उसले कल्पना गरेभन्दा पनि सुन्दर थियो । उसले सोच्न थाल्यो— यो सुन्दर स्थानमा म पहिले नै आउनुपर्ने रहेछ । धरतीमा त काम मात्र गर्नुपर्थ्यो । खैर, अब म यहाँ आरामको जिन्दगी जिउँछु ।
ऊ सोचिरहेको मात्र के थियो, देवदूत उसका सामुन्ने आए र हीराजवाहरातले सुसज्जित ओछ्यानतिर इसारा गर्दै भने, ‘तपाईं यहाँ आराम गर्नुस् । तपाईंलाई जेजे चाहिन्छ, त्यो सबै तपाईंले ओछ्यानमै पाउनुहुनेछ ।’
यो सुनेर गोपाल अत्यन्तै खुसी भयो । यहाँ ऊ दिनरात सुत्थ्यो । उसलाई जेजे चाहिन्थ्यो, त्यो ओछ्यानमै आइपुग्थ्यो । दिन यसरी बित्दै गयो । तर, विस्तारै उसलाई वाक्क लाग्न थाल्यो । न त दिनमा खुसी मिल्थ्यो न रातमा निद्रा नै लाग्थ्यो । ऊ ओछ्यानबाट उठ्न खोज्थ्यो, दासदासीहरूले रोक्थे । यसरी नै कैयन् महिना बिते ।
अब भने गोपाललाई आरामको जिन्दगी बोझ लाग्न थाल्यो । स्वर्गले उसलाई बेचैन तुल्याउन थाल्यो । अब ऊ केही काम गरेर दिन बिताउन चाहन्थ्यो ।
एक दिन ऊ देवदूतका सामु पुग्यो र भन्यो, ‘मैले जे गर्न चाहेको थिएँ सबै गरेँ । अब त मलाई निद्रा पनि लाग्दैन । म केही काम गर्न चाहन्छु । के मैले केही काम पाउन सक्छु ?’
‘तपाईंलाई यहाँ आराम गर्नैका लागि ल्याइएको हो । तपाईंको जीवनको सपना नै यही थियो त ! त्यसैले माफ गर्नुस्, मैले कुनै काम दिन सक्दिनँ,’ देवदूतले भने ।
गोपालले झर्किएर भन्यो, ‘गज्जब छ ! यो जिन्दगीदेखि मलाई दिक्क लागिसक्यो । म यसरी दिन बिताउन सक्दिनँ । योभन्दा राम्रो तपाईं मलाई नर्कमा लगेर छोडिदिनुस् ।’
देवदूतले सुस्तरी भने, ‘तपाईंलाई के लाग्छ, तपाईं कहाँ हुनुहुन्छ ? स्वर्गमा या नर्कमा ?’
‘मैले केही बुझिनँ !,’ गोपालले भन्यो ।
देवदूतले भने, ‘सक्कली स्वर्ग त्यही हुन्छ जहाँ मनुष्यले दिनरात मिहिनेत गरेर आफ्नो परिवारको पालनपोषण गर्छ । तिनका साथमा आनन्दको पल बिताउँछ र जुन सुखसुविधा पाउँछ, त्यसैमा खुसी रहन्छ । तर, तपाईंले कहिले पनि त्यसो गर्नु भएन । तपाईंले त खालि आरामका बारेमा सोच्नुभयो । जब तपाईं पाताललोकमा हुनुहुन्थ्यो, आराम गर्न चाहनुहुन्थ्यो । अब आराम मिलिरहेको छ त काम गर्छु भन्दै हुनुहुन्छ । स्वर्गको आनन्ददेखि दिक्क मान्दै हुनुहुन्छ !’
गोपालले भन्यो, ‘मैले अहिले आएर मात्रै बुझेँ, मनुष्यले कामको बेलामा काम र आरामको बेलामा आराम गर्नुपर्ने रहेछ । दुवैमध्ये एउटा कुरो पनि अधिक होस् त जीवन नीरस हुन्छ । यथार्थ यो हो कि मजस्तो अल्छी मानिसका लागि एक दिन स्वर्ग पनि नर्क बन्दो रहेछ !’
(‘हिन्दी समय’बाट अनूदित ।)