site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म आफै एउटा कथा
Ghorahi CementGhorahi Cement

म आफैलाई सबै प्रश्नको जवाफ दिन असमर्थ पाउँथे । अनेक प्रकारका मानिसको अनेक प्रकारका सोधाइ, अनि एकै प्रकारको सोधाइका जवाफ अनेक प्रकारका मानिसलाई । तिनीहरूको प्रश्न र मेरो उत्तरमा कुनै सामञ्जस्य थिएन ।

म आफ्नो जीवनधारालाई उनीहरूको सुझाउअनुसार मोड्ने परिस्थितिमा पनि पाउँदिनथेँ । मेरो जीवनको शुरुआत नै कुनै निश्चित धारामा बगेको पाउँदिनथेँ । यसैले बांगोटिंगो मोड लिँदै मलाई अघि बढिरहेको पाएर होला, यस्ता प्रश्नात्मक मानिसहरूसित मैले सामना गर्नुपरिरहेको थियो ।

मेरो विवाह भएको थियो एउटा मध्यमवर्गीय साधारण घरमा । विवाह भएको केही दिनमा नै मैले अनुभव गर्नुपर्यो, म गलत जीवन बिताउन लागेको छु । पति प्रेमको आकांक्षा मेरो लागि भ्रम सिद्ध भयो ।

Agni Group

मेरा सासू–ससुरा र पतिको एउटै स्वप्न थियो, म उनीहरूको स्वप्न साकार पार्न साधन बनूँ । म छिटै आमा बनूँ । उनीहरूको धोको पूरा गरूँ ।

तर मलाई यस्तो इच्छा थिएन । मलाई त पश्चात्ताप भइरहेको थियो, मैले धोका पाइरहेकीमा । मलाई सुनाइयो मेरो पति पढेलेखेका छन् । बी.ए. पास छन्, जबकि उनी प्रवेशिका मात्र उत्तीर्ण थिए ।

Global Ime bank

प्रवेशिकासम्म त म आफै पुगेकी थिएँ । उत्तीर्ण हुन मात्र नसकेकी । अनि मलाई भनियो— घरबार भएको सम्पन्न गृहस्थी छन् । खान–लाउनको दुःख नभएको । एउटी केटीलाई धोकामा पार्न यसरी षड्यन्त्र रचिएको रहेछ ।

विवाह भएको केही दिनपछि नै मलाई त्यस घरको जीवन असह्य भयो । म माइतमा गएर आफ्ना आमाबाबुकहाँ रुन पुगेँ । तर रोएर मेरो पीर कम हुनुको बदला बढ्न थाल्यो ।

म आफ्नो विवाहिते घर सम्झनै चाहन्नथेँ । उमेश— मेरो पतिलाई पनि केही भन्न चाहन्नथेँ । म जहिले पनि उदास रहन लागेँ । उमेश मेरो उदासीको कारण बुझ्दैनथे । मलाई थाहा थियो, उनी आमाबाबुको धोको पुरÞ्याउन मसित शारीरिक प्रेम गरिरहेछन् ।

मलाई खुशी पार्न उसित कुनै साधन थिएन, न मीठो बोलीवचन न प्रेमव्यवहार, न मेरो खुशीको लागि केही खर्च गर्न सक्थे ।

साथीहरू शहरमा चलेका नयाँ–नयाँ सिनेमा हेरेर आएको चर्चा गर्थे । आफ्ना लोग्नेहरूको प्रेमका कुरा सुनाउँथे । तर म उनीहरूको कुराकानीमा निष्क्रिय उत्तेजना लिएर भाग लिन्थेँ । अनि एक्कासि मलाई प्रश्न गर्थे– विमला त आफ्नो कुरै सुनाउँदिनन् !

मेरो वर्तमान आँखाअगाडि अट्टहास गर्न लाग्थ्यो । म लामो सास फेर्न लाग्थेँ ।

माइतमा धेरै दिन बसेकीले मेरो घरबाट मलाई बोलाउन धन्दा गर्ने बूढी बिस्नेकी आमा आइपुगेकी थिई जसले म घरमा नहुँदा घरको हालत बिग्रेको कुरा गरी ।

सासू घरधन्दा गर्दागर्दा बिरामी भएकी, उमेश रातीराती आउन लागेको, कहिले त आउँदै नआउने र आउँदा रक्सी धोकेर आउने गर्न लागेका, ससुरा स्याहारसुसार नपाएर दमको व्यथाले ग्रस्त हुँदै अशक्त भएका— मैले गएर यस्तो अवस्थामा घर सम्हाल्नु पर्यो रे । यो सब गराउने जिम्मेदार मै हुँ रे ।

मलाई जुन घरको सम्झनै गर्न मन लाग्दैनथ्यो त्यही घरको दयनीय अवस्था मेरो सामु उदंग्याएर बिस्नेकी आमा मलाई सँगै लिएर जान आएकी थिई । म आफ्नी आमाको अगाडि गएर उभिएँ । बाबुको अगाडि गएँ । उहाँहरूबाट केही जवाफ निस्केन । मैले अनुभव गरेँ– उहाँहरू पनि मलाई प्रश्नात्मक भावले हेरिरहनु भएको छ ।

‘हुन्छ त जान्छु ।’ मैले जवाफ दिएँ र बिहेमा पाएको साडी आमाको बाकसबाट झिकेर लगाएँ । सिंगारपटार गरेँ । जुत्ता लाएँ । आफूलाई दुनियाँको दृष्टिमा राम्री देखाउन खोक्रो कोशिश गरेँ, किनकि म आफ्नो रूप र जवानीको निरर्थकता र जीवनदेखिको वितृष्णाले गर्दा आफैदेखि झर्किरहेकी थिएँ, दिक्क भइरहेकी थिएँ ।

बिस्नेकी आमा वेला–वेलामा मेरो ध्यान भंग गर्थी, घरका कुराहरू निकाल्दै । घरमा सबै नयाँ बुहारी आउने आशामा बसिरहेका झैँ लाग्यो र म नआएकी भए यस घरको ज्यान गएको जस्तो देखिन्थ्यो । तर म आफ्नै ज्यानमा विश्वस्त नभएकीलाई विश्वास गरिरहेको देख्ता माया पनि पलाएर आयो ।

पोइ इलमी भए पनि मेरो लागि बेइलमी लाग्दथ्यो । उसको मुख हेरेर म के माया गर्न सक्थेँ ? सबै उसको आम्दानीको आशा गर्थे । तर ऊ उनीहरूको आशाअनुसार घर खर्चलाई दिन केही मन गर्दैनथ्यो । उसलाई होटेलमा साथीभाइसित खान पिउनलाई पुग्दैनथ्यो ।

उ भन्थ्यो— पैसा उडाउनलाई कमाइन्छ त्यो पनि आफ्नो आम्दानी, आफ्नो पसीना, कसको अधिकार ! स्वास्नी ल्याइदिएर आमाबाले मलाई घाँडो लगाइदिएका छन्, मलाई स्वास्नी किन ? कोही चाहिन्न ।

उसको सधैँको यस्तो भनाइ सुन्दा पनि आमाबाबुले उमेशलाई बिहे गर्नुअघिकै छोरो सम्झिरहेका थिए । बिहेपछिको उमेश, म माइत गएर बस्नुअघिको उमेशमा पनि मैले फरक देख्न लागेँ । उनीहरू म कसैको भत्केको घर बनाउन, कसैको लत बिग्रेको छोरालाई सम्हाल्ने छोरी भन्ने सम्झन्थे ।

छोरीको कर्म अर्काको घर टाल्नु बनाउनु मात्र हो—उसको महत्त्वाकांक्षा एउटा सानो घरभित्र सीमित रहेर बनाउनु–टाल्नुमै सकिन्छ । के उसका आकांक्षाहरू असीमित हुँदैनन् ? उसको चारभित्ते कोठाभित्र कल्पनाको संसार छ रे जसले वधूशिक्षाअनुसार निर्मित पौराणिक कथा–चरित्रहरूको आदर्शको अनुसरण गर्दै यसैभित्र जीउनुपर्छ रे ।

यस्तै मनोभाव मेरा सासू–ससुराको मप्रति झल्किन्थ्यो । रक्सीबाज पोइको बानी बेहोरा सुधार्नु मेरो जिम्मेदारी रे । अझ म त उसलाई रक्सीबाज बनाउने दोषी पनि बनेकी पाउँथेँ ।

सबै दोष मेरै थाप्लामा परेको थियो । म त यस घरमा विध्वंस गर्न आएकी जस्ती उनीहरूले ठाने । मलाई यस घरले मात्र होइन, छरछिमेकीका दृष्टिले समेत घोचिरहेको झैँ लाग्न थाल्यो । उनीहरू मेरो मुखेञ्जी केही भन्न खोज्दैनथे तर उनीहरू मलाई मनमा के भनिरहेका छन्, अनुभव गर्थेँ । मसित केही जवाफ थिएन । मेरो मनोभाव बुझ्न सक्ने कोही थिएन ।

उनीहरू मलाई सन्देहको भावले हेर्थे । कुरा काट्थे— ‘कुन दिन पोइल जान्छे है खर्दार बाजे !

मेरा ससुरालाई उनका पुराना छरछिमेकी इष्टमित्रहरू सल्लाह दिन्थे— त्यस्ता सीधा–सोझा उमेशलाई कसरी भाँडेकी ए ! सधैँ माइत गइरहनाको कारण अवश्य केही हुनुपर्छ ।

उनीहरूको भनाइको अर्थ स्पष्ट थियो माइतमा मेरो कोही प्रेमी हुनुपर्छ ।

‘हो पनि । अचेलका ठिटीहरूको के विश्वास र ?’ अर्कोले सहमति दर्शाउँथ्यो ।

म उदास अनुहार लाएर बस्नुको कारण मेरो घरदेखि असन्तुष्टि र आफ्नो प्रेमीको विरह भन्ठान्थे । अनि मलाई झन् विरक्ति बढेर आउँथ्यो । मलाई घ्वाँघ्वाँ रुन मन लाग्थ्यो ।

घरको परिस्थिति सम्हालिने अवस्थामा थिएन । सासू दुब्लाउँदै गइन्, ससुरा दमको व्यथाले झन् ग्रसित हुँदै गए । मेरो स्याहारसुसार उहाँहरूका लागि देखावटी मात्र थियो । पोइ मसित बोल्दैनथे । म आफै छक्क पर्थेँ, मेरो दोष के ? मैले त कसैको केही बिगार गरेको जस्तो लाग्दैन । म कसका प्रश्नहरूलाई जवाफ दिऊँ, म त आफै प्रश्नचिह्न भएकी थिएँ ।

मलाई बुहार्तन थपिँदै गइरहेको थियो । म घर–परिवारबाहेक अरूतिर ध्यान डुलाउने फुर्सत नलिएर बिहानदेखि रातिसम्म व्यस्त रहन लागेँ ।

मलाई जसले जेसुकै भनोस् आफ्नो कामको मात्र ध्यान रहन्थ्यो । यसरी अलिक दिनपछि मप्रति जजसले सन्देह र कुधारणा राख्थे तिनीहरू नै मेरो प्रशंसामा सासू–ससुरालाई आफ्नो मन्तव्य प्रकट गर्न लागेको मैले पाउन लागेँ । सासू मोटाएकी, ससुराको व्यथामा सुधार भएको देख्ता मलाई आफ्नो बुहार्तन बुहार्तन नै लाग्न छाड्यो । ममा आत्मविश्वास बढ्यो ।

यही आत्मविश्वासले गर्दा एकदिन मलाई उमेशको बिग्रेको लतलाई सुधार्ने सूझ पैदा भयो ।

उसलाई मैले प्रेम गर्न लागेँ । मलाई लाग्यो, उ प्रेमको भोको रहेछ । प्रेममा नै संसार अडेको छ । फेरि मेरो प्रेम एक व्यक्तिमा सीमित थियो, तापनि म संसारका मानिससित प्रेम बढाउन चाहन्थेँ । तर एउटा व्यक्तिलाई प्रेम बढाउन म सक्तिनँ भने विश्वप्रेम कसरी गर्न सक्थेँ ?

मैले उमेशको चाहनालाई बुझेको हुनाले उसको हृदय सहजै जितेँ । तर हृदय जित्नुको अर्थ थियो म झन् गृहस्थ र पत्नीधर्ममा अल्झिनु । म केही वर्षभित्रै दुइटी छोरीहरूका आमा भएँ । अब त म आफूलाई समाजको दृष्टिमा जुन प्रश्नचिह्न सम्झन्थेँ, त्यो समाप्त भएझैँ लाग्यो ।

दुइटी छोरी पाएर पनि मैले सासू–ससुरा पोइका दृष्टिमा अझै केही पाउन सकिनँ । मैले फेरि पाउनु थियो, आफूलाई खण्ड–खण्डमा टुक्रयाउनु थियो, म समाप्त भएकी थिइनँ । म अझै बाँकी थिएँ ।

तर मलाई लाग्थ्यो मैले आफैसित प्रतिशोध लिन बाँकी छ । म सामाजिक परम्परासित संघर्ष गर्न असमर्थ थिएँ । मैले मेरो जँड्याहा लोग्नेलाई सम्झाउन सकिनँ । म फेरि उसको लागि छोरो पाउन असमर्थ छु भनी बुझाउन सक्तिनथेँ । आखिर विवश भएर रहनुपर्यो । म केही महीनापछि आर्को छोरोकी आमा बन्न पुगेँ ।

मेरो स्वास्थ्य दिनपरदिन खराब हुँदै गयो । पोइले कमाएको धन मसित दुई छोरी र एउटा छोरो थियो । यिनीहरू नै मेरो सम्पत्ति रे । पोइको दृष्टिमा म अब अस्तित्व नभएकी, म ऊसित झगडा गर्न पुग्थेँ— म झगडालु भएँ । म आफ्नो हालत छिमेकमा गन्थन गर्दै जताउँथे । म गनगने बूढी भएँ ।

म कसैलाई देखि नसहने चिडचिडो स्वभावकी भएँ । यो सब हुनाको कारण आर्थिक र मानसिक थियो । यो मैले उहिल्यैदेखि अनुभव गरिरहेको कुरो थियो । अनौठो केही थिएन ।

मेरा सासू–ससुरा नातिको मुख देखेको वर्ष परलोक भइसकेका थिए । छोरो अढाई वर्षको भएको थियो जसको नाउँ चिरञ्जीवी राखिएको थियो, अचानक बिरामी पर्यो । घरमा बिरामी छोरालाई मेरो स्याहारमा छाडेर उमेश निस्कन्थे– अड्डा जान अबेर भो भन्दै । उनलाई छोराको माया नै नभएजस्तो थियो ।

मचाहिँ चिरञ्जीवीलाई बोकेर वैद्य गुभाजुकहाँ पुग्थेँ, डाक्टरलाई पुग्दो फिस दिन नसक्ता र अस्पतालको लामकुराइमा घण्टौँ बसिरहन नसक्ता झारफुकमा विश्वास गर्न पुगेँ ।

एक बिहान चिरञ्जीवीलाई बोकेर हकीमकहाँ पुगेँ । मसित ट्याक्सी चढ्ने पैसा थिएन । हकीमको घरको ढोकामा पुग्न नपाउँदै मेरो मुटुको टुक्रो आफ्नो चिरञ्जीवी नामको, उपहास गर्न भनेझैँ, मेरो काखमै गयो सदाको लागि । तैपनि मैले हकीमलाई देखाएँ । केही बेरअघि मात्र म पुग्न सकेकी भए उसले बचाउने उपाय गर्ने थियो भन्ने सान्त्वना दियो । अनि उसले दया गरी रिक्सा चढ्ने पैसा दिएर घर पठायो ।

म छोराको निर्जीव शरीरलाई आफ्नो प्राणले तताए तात्छ कि भनेझैँ काखीमा च्यापेर आइपुगेँ र घरको संघार अगाडि भैँमा पसारेर क्वाँक्वाँ रुन लागेँ । सामाजिक असन्तोष पीडाको लागि मनमनै कति रोएको थिए तर आज म प्रत्यक्ष रोएँ ।

मेरो क्रन्दन सुनेर आउने जिज्ञासुहरू मेरा वरिपरि झिङ्गा झैँ भन्किन लागे । मेरो छोराको होइन मेरो लाश थियो त्यो । त्यो मैले मनमनै अनुभव गरेँ जसको गन्धमा समाजका झिङ्गाहरू भन्किरहेका छन् । सहानुभूतिको खिल्ली उडाउन जसले मेरो बिरामी छोराको ओखती खर्चलाई एक पैसा दिन चाहेनन्, तिनीहरू नै मलाई जलाउन आएका थिए निर्ममता हृदयहीनताको चितामा फ्याँकेर ।

एकदिन पनि अफिसजान नबिराउने मेरो लोग्ने त्यस दिन जान पाएनन् । उनलाई छोराको निर्जीव शरीर घाटमा सेलाउन जानुपरेको थियो ।

ईश्वरको र समाजको त्यस निर्मम प्रहारपछि मेरो जिन्दगीले नयाँ मोड लेला भन्ने आशा गरेको थिएँ तर मेरो स्वास्थ्यले भने अवश्य नयाँ मोड लियो । म दुब्लाउँदै गएँ । कुरूप भएँ । मेरो जवानीका फोटोहरूले मलाई गिज्याउन लागे । मेरो ऐनाले मलाई धोका दियो ।

मैले सिंगारपटार गर्न छाडिदिएँ । नयाँ कुराप्रति अरुचि पैदा भयो । खानेकुरा रुच्न छोड्यो । करबलले कोच्नुपर्थ्यो । कपाल दुख्ने र भोक नलाग्ने रोग लाग्यो ।

पोइ मलाई मानसिक व्यथा लागेको भन्थे । डाक्टर मलाई पोषक पदार्थ खाने सल्लाह दिन्थ्यो । कोही मेरो ओखती गर्न सक्तैनथ्यो । म उनीहरूको लागि प्रश्न बनेँ जसको जवाफ थिएन, किनकि मेरो चिन्ता गर्ने कोही थिएन ।

मलाई एक्लै टोलाएर बस्ने आर्को व्यथाले सतायो । यस्तो वेलामा कहिलेकाहीँ छोरीहरूले आएर मेरो ध्यान भंग गरिदिन्थे । मलाई बोल्न कर लाग्थ्यो आफ्नो अवस्थाको कुरा गरेर ।

मलाई उमेशसित शिकायत थियो– मलाई यस अवस्थामा पुरÞ्याउने जिम्मेदार, मेरो स्वतन्त्रताको लुटेरा, मलाई चार भित्ताभित्र कैद गर्ने अत्याचारी, मलाई सुकाई–सुकाई मार्न खोज्ने हत्यारा आदि भनेर म ऊसित प्रतिशोधको भावना राख्थेँ । उसको विवशतासित मलाई सरोकार थिएन ।

ऊ मैले भनेको बाटोमा लागेको भए ऊ समेत हामीले सुख पाउने थियौँ । उसलाई त अफिससित सरोकार थियो । ईमानदारी गर्दागर्दा एकदिन ऊ सरकारी तहबिल हिनामिना गरेको भनी पक्डाउ पनि पर्यो । आफ्नो तर्फबाट सफाइ दिन नसक्ता उसलाई ६ वर्षको कैद भयो । जमानत बसेर तारीखमा जेलबाट छुटकारा गरिदिने मानिससम्म नभएर उसले जेलको कष्ट भोगिरहनुपर्यो । उसले ईमानदारीको शिकार हुनुपर्यो । उमेशले संवेदनात्मक स्वरमा मलाई सान्त्वना दिने चेष्टामा भन्यो, ‘मैले तिमीलाई धेरै दुःख दिएँ, अब म त्यसको प्रायश्चित्त गर्न जाँदै छु । मैले जीवनभर प्रायश्चित्त गर्नै पाइनँ, यही मलाई अफसोस र पश्चात्ताप छ ।’ मैले त भनेको थिएँ, ‘श्रीमान् न्यायकर्ताज्यू ! मलाई जीवनभरको लागि जेल सजाय पाऊँ तर मेरो कुरामा उनीहरूले सहानुभूति किन गरे ?’

मैले केही भन्न चाहिनँ । मैले ऊसित प्रेमको भावसम्म प्रकट गर्न सकिनँ । म असमर्थ थिएँ, किनकि ऊसित सधैँभरि शिकायत गरिरहेकी थिएँ । त्यस कैदमा जानुअघि मात्र कसरी प्रेम प्रकट गर्न सक्थेँ ? मैले त्यो क्षण जानीजानी गुमाइदिएँ । चुपचाप उसलाई बिदा दिएँ, हतकडी र नेलमा जकडिएको उमेश मेरो आँखाबाट ओझेल हुँदै गएको थियो केन्द्रीय कारागारतर्फ ।

म प्रश्नहरूले घेरिन लागेँ– तिम्रो पोइले बीस–पच्चीस हजार रुपियाँ कसरी मासे ? तिमीलाई अवश्य थाहा हुनुपर्छ ।

‘स्वास्नी पनि कम छैन । यसैले पोइलाइ उक्साएकी हुनसक्छ ।’

म कान भए पनि बहिरी झैँ उनीहरूको कुरामा मुखभरि जवाफ दिन सक्तिनथेँ । मेरो दुर्बल शरीर प्राण उडेर जान छटपटिन लाग्थ्यो । मेरो सास फेर्ने र शरण लिने ठाउँ कहाँ थियो र ?

यस्तो वेला दुःखीहरू ईश्वरपुकारा गर्छन् तर मेरा ईश्वर रानीपोखरी वा घाँटीको पासो मात्र बाँकी थियो अथवा मुसा मार्ने विष । तैपनि म मर्न सकिनँ । म मरे दुइटी छोरीहरूको के अवस्था होला भन्ने सोचेँ । यो पीर पनि मैले किन लिएको हुँला व्यर्थै । म तिनको लागि व्यर्थै बाँच्न चाहेँ बतासे लहरो झैँ भएर हावामा ।

यसरी ६ वर्षसम्म रोगव्यथाले, पीरचिन्ताले कंकाल भएर पनि बाँचिरहेँ । मृत्युले पनि मलाई लैजान मन्जूर गरेन । मैले दैनिक मजूरी गरेर स्वेटर बुन्ने र सिलाइको काम गरेर छोरीहरूलाई पढाएँ, हुर्काएँ ।

अब दुवै छोरीहरू १३÷१५ वर्षका किशोरीहरू छन् । ठूलीले यसै वर्ष प्रवेशिका उत्तीर्ण गरी । कान्छी, अझै ९ कक्षामै पढ्दै छ । मलाई आत्मविश्वासले मद्दत गर्यो जुन कुरा मैले पोइ छँदा पाउन सकिनँ, त्यही गुमेको विश्वास मैले पाएँ ।

पोइ जेलबाट छुटेर आएको पनि धेरै महीना भइसकेको थियो । ऊ अब अर्धसिल्ली भइसकेको थियो । ऊ अब मेरै आश्रयमा पाल्तु जीव भइरहेको छ ।

(कथाकार कोइरालाको ‘सुर्तीको पात’मा अल्झिएको जीवनबाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC