काठमाडौं । राष्ट्रिय निशान छाप र एयरलाइनको पुछारमा तस्बिर राख्दै अष्ट्रेलियाले कंगारुलाई प्रतिमा मान्छ । तर, प्रत्येक वर्ष यसले दशौं लाख कंगारु मारेर मासु तथा छाला निर्यात गरी दश अर्ब बढीको व्यापार गर्छ ।
विश्वमा घोडा, गाईवस्तु, भेडा, बाख्रा, सँगुरलगायत दजर्नाैं किसिमका जनावरहरुको अन्तर्राष्ट्रिय व्यापार हुने गरेको छ ।
हालै श्रीलंकाले त्यहाँ प्रशस्तरुपमा पाइने टोक मकाक जातको छोटो पुच्छर हुने बाँदर चीन निर्यात गर्ने समाचारले नेपालमा पनि चर्चा पाएको छ ।
नेपालभर विभिन्न किसिमका बाँदरहरु रहने गरेका छन् । तर, गाउँदेखि सहरसम्म बाँदरहरुको आतंक नै छ ।
खासगरी खेतीपाती गर्ने ठाउँहरुमा बाँदरहरुले खेती नष्ट गरी किसानहरुको विचल्ली पारेका समाचारहरु सधैंजसो आइरहेका छन् ।
त्यतिमात्रै होइन बाँदर नियन्त्रणका लागि स्थानीय तहले गरेका काम होस् वा सदनमा सांसदहरुले बाँदर नियन्त्रणका लागि सरकारसँग गरेका आग्रह । बहस यसैमा हुने गरेको छ ।
श्रीलंकाले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले संकटापन्न जन्तुको रुपमा वर्गीकृत गरेको एक लाख टोक मकाक बाँदर चीन निर्यात गर्दा नेपालमा उत्पात मच्चाइरहने बाँदर पनि निर्यात गर्ने बहस चलेको छ ।
आइतबार मात्रै प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाँदर आतंक नियन्त्रणका लागि पहल चाल्न ध्यानाकर्षण गराएका थिए ।
प्रतिनिधिसभाको बैठकमा उनले बाँदर ‘निर्यात गर्ने व्यवस्था गर्न’ वा ‘मार्ने अनुमति दिइयोस्’ भनेका छन् ।
नेपालमा कस्ता बाँदर छन् ? के श्रीलंकाले चीनमा निर्यात गरेका जस्तै बाँदर नेपालमा छन् ?
परीक्षणका लागि विश्वकै उत्कृष्ट बाँदर नेपालमा
नेपालमा तीनवटा प्रमुख जात र ६ वटा उपजातका बाँदर पाइने गरेको वन्यजन्तुविज्ञ प्राध्यापक डाक्टर मुकेशकुमार चालिसेले बताए ।
पहिलो भनेको लंगुर बाँदर (कालो) लामो पुच्छरको बाँदर तराई, पहाड र हिमालको छेउमा तीनवटा उपजातसहित रहेको छ ।
यस्तै दोस्रो, रातो बाँदर पूर्वदेखि पश्चिमसम्म एकै जातको रहेको छ । “यो बाँदर नै परीक्षणका लागि विश्वमै सबैभन्दा उत्कृष्ट बाँदर हो,” उनले भने ।
अर्काे पहरे बाँदर, हेर्दा रातो बाँदर जस्तै पहरा पहरामा बस्ने बाँदर पूर्वतिर बेग्लै उपजात र पश्चिमतिर बैतडी, बझाङतिर फरक उपजातमा पाइन्छ ।
श्रीलंकाले चीन निर्यात गर्ने बाँदर भने, नेपालमा नभएको नेपालकै पहिलो बाँदरविज्ञसमेत रहेका प्रा.डा. चालिसेले बताए ।
भारतको गोप्य बाँदर परीक्षण
भारतमा पनि नेपालकै जस्तो केही फरक खाले रातो बाँदर पाइन्छ । मुम्बई, सारङपुर, दक्षिण भारतमा सबैतिर गोप्य किसिमले यी बाँदरहरुमा विभिन्न किसिमका परीक्षणहरु हुनेगरेको बताइन्छ ।
विभिन्न किसिमका अभियानकर्ताहरुले यसको विराध गर्ने गरेका कारण यी विषयहरु खासै बाहिर आउँदैनन् ।थाइल्यान्डमा ठूलो अनुसन्धान केन्द्रहरु नै स्थापना गरिएको उनले बताएका छन् ।
“चीनमा पनि केही फरक बाँदर पाइन्छ तर हाम्रो देशमा पाइने रातो बाँदर विश्वमै सबैभन्दा राम्रो र स्वच्छ बाँदर हो, त्यसैले विश्वभरका वैज्ञानिक अनुसन्धानशालामा हाम्रो देशका बाँदरको खाँचो छ एकदमै,” प्रा.डा. चालिसेले भने ।
उनले नेपालले पनि आवश्यकमात्रामा बाँदर निर्यात गर्न सक्ने बताउँछन् ।
उनले अघि भने, “मान्छे चाहिँ हामी अरब, मलेसिया पठाउन हुने, कमाउन भनेर । यहाँ किसानहरुलाई दुःख दिएर उठिबास लगाइदिएको छ, घरजग्गा छोडेर हिँडिरहेका छन्, बाँझो भइरहेको छ, खेती गर्न सकेका छैनन्, मान्छेलाई दुःख दिएका छन्, यस्ता दुःख दिने बाँदर निर्यात गर्दा केही फरक पर्दैन ।”
दुःख दिने बाँदरहरुलाई सरकार आफैँले निर्णय गरी प्रयोगका लागि पठाएमा एकातिर राजस्व उठ्ने र अर्कातिर बाँदरहरुको संख्या व्यवस्थापन हुने र मानिसहरुले दुःख नपाउने उनको भनाइ छ ।
नेपालमा पूर्वपश्चिम राजमार्ग, अत्तरिया, धनगढी, कर्णालीको पुल पारी, पथलैया ढल्केबार, धरान जताततै बाँदरहरु रहेको प्रा.डा. चालिसेको भनाइ छ ।
काठमाडौं उपत्यकामा मात्रै पनि पशुपतिनाथ मन्दिर, स्वयम्भु, थापाथलीलगायतका ठाउँहरुमा बाँदरले दुःख दिने गर्छन् । यहाँ पाइने बाँदर पनि रातो बाँदर नै भएको उनले बताए ।
दोलखा, खोटाङ, धनकुटालगायतका जिल्लामा बाँदर खेती नष्ट गरेपछि लाखौं पैसा नै दिनुपरेको स्थिति रहेको बताँउदै उनले बाँदर निर्यात गर्न हुने बताए ।
सरकारले वन विभाग, वन्यजन्तु विभाग, चिडियाखाना, भेटेनरी अस्पतालबाट विज्ञहरु लगेर यो पहल गर्न आवश्यक रहेको उनले बताए ।
नेपालमा धेरै पनि नभएर ५–७ हजार बाँदर मात्रै पनि घटाउने हो भने किसानहरु खुसी हुने उनको भनाइ छ ।
बाँदर किन महत्वपूर्ण छ ?
प्रत्येक वर्ष विश्वभर एकलाख भन्दा बढी बाँदर बायोमेडिकल रिसर्चका लागि प्रयोग हुनेगरेको विभिन्न रिपोर्टहरुले जनाएको छ ।
मानिससँगको आनुवंशिक समानताका कारण नयाँ औषधिको परीक्षण, संक्रामक रोग र मष्तिस्कको अध्ययनका लागि बाँदरको प्रयोग हुनेगर्छ । त्यसो त वैज्ञानिकहरुले बाँदर हाम्रै पुर्खा हो भनेका छन् ।
कोभिड–१९को महामारीका बेला विश्वभर खोप परीक्षणका लागि बाँदरको अभाव भएका समाचारहरु समेत आएका थिए ।
बाँदरहरुको व्यापारभन्दा पनि सरकारले व्यवस्थान गर्नुपर्ने कैलाली बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक तथा वन्यजन्तु संरक्षण सम्बन्धी अध्ययन एवम् खोजकर्ता पुजा साउँदको भनाइ छ ।
बाँदरको व्यापार गर्नुभन्दा सरकारले उचित स्थान तथा जंगलहरुमा सार्नु आवश्यक रहेको उनले बताइन् ।
“बाँदरहरू सजिलै मानिसहरुसँग घुलमिल हुन्छन्, कृषकको खेतमा सजिलै आफ्नो खाना भेट्टाउँदा यिनीहरुले जंगल धाउनुपर्दैन, त्यसैले समस्या हुने गरेको हो,” उनले भनिन्, “सजिलै खाना पाएपछि बाँदरहरु किन जंगलमा गएर खानेकुरा खोज्छन् ? त्यसैले सरकारले बाँदर र किसान दुवैलाई असर नहुने विकल्प खोज्नुपर्छ ।”