दसैंअघि फुटसल खेल्ने क्रममा खुट्टामा चोट लागेर उपचारका लागि म शिक्षण अस्पताल, महाराजगञ्ज पुगेँ । तर, त्यहाँ त्यस दिन एक्सरे मेसिन नचलेकोले भोलि आउनु भनियो । मेरो भोलिपल्टसम्म कुर्न सक्ने अवस्था नभएकोले मलाई हाम्रै घर नजिकको ग्रान्डी अस्पतालमा लगियो । डाक्टरको टोलीको सिफारिसबमोजिम मेरो खुट्टाको लिगामेन्टको अपरेसन गर्नु पर्ने भयो । त्यो ग्रान्डी अस्पतालमा नै सफतापूर्वक सम्पन्न गरियो । अस्पतालबाट घर फर्किएपछि फलोअपका लागि टीकाको भोलिपल्ट ग्रान्डी अस्पताल पुगेको थिएँ । दसैंको बिदा परेकोले बहिरंग सेवा बन्द रहेको हुनाले मेरो बुवा र म आपत्कालीन सेवा कक्ष अगाडि पालो कुरेर बसेका थियौं ।
अस्पतालका एम्बुलेन्स चालक चिनेको हुनाले मलाई सो अस्पतालमा कस्ता कस्ता बिरामी आउने रहेछन् र कुन माध्यमबाट आउने रहेछन् भन्ने जान्ने प्रयासमा लागेँ । कुराकानीकै क्रममा सरदरमा हेलिकप्टरबाट कति बिरामी उपचार गर्न आउँछन् भन्दै सोधेँ । चिकित्सा शिक्षामा डा. गोविन्द केसीको अभियानको समर्थक भएकोले पनि त्यो जान्न चाहेको थिएँ । ग्रान्डीजस्तो सुविधा सम्पन्न अस्पताल अन्य क्षेत्रमा पनि बनाउनुपर्छ भन्ने कुरा मलाई मन परेको थियो । ठीक त्यही नै बेला सेनाको हेलिकप्टर अस्पताल हातामा ओर्ल्यो । डाक्टर, नर्स र सहयोगीहरू बिरामीलाई अस्पतालमा ल्याउ स्ट्रेचर, ह्विलचेयर लिएर हेलिकप्टरतर्फ बढे । म पनि वैसाखीको सहायतामा के भएको रहेछ भनी बुझ्न नजिकै पुगेंँ ।
हेलिकप्टरबाट एक जना वृद्ध महिला, एक वयस्क पुरुष र एक वृद्ध पुरुषलाई करेन्ट लागेकोले उपचारका लागि रामेछापको दोरम्बा भन्ने ठाउँबाट ल्याइएको रहेछ । वृद्ध महिला र वयस्क पुरुष बेहोस थिए । ह्विलचेयरमा सँगै आएका व्यक्तिका अनुसार पूरै गाउँमा उच्च भोल्टेजको बिजुली आएको हुनाले त्यतिबेला बिजुलीका सामान प्रयोगकर्तालाई करेन्ट लागेको रहेछ । मैले यति थाहा पाइसक्दा सम्म त्यहाँ आक्रोशको वातावरण बनिसकेको थियो । उपस्थितहरुले सरकारलगायत राजनीतिक दललाई गाली गर्न सुरु गरिसकेका थिए । त्यही भिडमा रहेका एकजना व्यक्ति भन्दैथिए "युवा खाडीमा जान्छन्, केही पैसा बोकेर फर्कन्छन् अनि भन्छन्, म त कांग्रेस हुँ, एमाले हुँ, माओवादी हुँ । हामी नेपाली चाहिँ कहिले बन्ने ? देश कसरी बनाउने ?"
केही बेरमा परवाट एकजना युवा रुँदै हामीतर्फ आउँदै थिए । उनी चाहिँ उपचार गर्न ल्याइएका व्यक्तिका छोरा रहेछन् । उनका बुबा आमालाई करेन्ट लागिसकेपछि बचाउन जाँदा आफैँ करेन्टको सिकार भएका छन् । काठमाडौँमा पढ्दै गरेका ती युवा आफ्नो बुबालाई तलमाथि भयो भने कसरी आफ्नो पढाइ सुचारु राख्ने चिन्तामा थिए । यी बिलौना तथा आक्रोशको बीचमा मन्त्री आउने खबर फैलियो । उता अस्पतालका एम्बुलेन्स चालक दाइ भित्र उपचारार्थ लगिएका वृद्ध महिला र वयस्क पुरुषको मृत्यु भइसकेको खबर सुनाउँदै थिए ।
म निराश भएँ । मेरो मनमा सरकार र हामी नेपाली सबैप्रति नै प्रश्न थियो । साथै इतिहासको कालखण्डमा जनताको लागि भन्दै क्रान्ति गर्ने नेताहरूसँग पनि प्रश्न उब्जेको थियो । संविधानमा समाजवादउन्मुख राजनीतिक प्रणाली अवलम्बन गर्ने लेखिए पनि नेताहरू नवधनाढ्य बन्दै गइरहेका छन् । तैपनि किन यस देशका नागरिक राजनीतिक पाटो केलाई हाम्रा हैन राम्रालाई भोट खसाउन सकिरहेका छैनन् ? मेरा मनमा यी प्रश्न आउँदै गर्दा मन्त्री आएर बिरामीको उपचारमा केही कमी हुन नदिने प्रतिबद्धता गरे । म पनि मन्त्री नजिकै पुगेर सोधेँ "जनताका समस्या किन नीतिगत तहबाट नै समाधान गरिँदैन ?" तर उनलाई मेरो प्रश्न मन नपरेन क्यारे त्यसको जवाफ नदिई त्यहाँबाट गए ।
एकातिर आफ्नै अपरेसन गरेको खुट्टाको पीडा छ भन् अर्कोतिर गाउँमा नै धेरै धनजनको क्षति हुने गरि करेन्ट प्रवाह भएको दुःखदायी खबरले मेरो मन स्थिर हुन सकेन । प्रश्नहरु एकपछि अर्को गर्दै आइरहे । केही यस्ता थिए । गाउँ ठाउँबाट बिरामी लिएर आउने हेलिकप्टर सरकारी अस्पतालमा किन बस्न सक्दैन ? हेलिकप्टर अवतरण गराउने ठाउँ त शिक्षण अस्पतालमा पनि छ । किन डा. केसी सधैँजसो एउटै माग राखेर अनशन बस्नु पर्ने अवस्था आउँछ ? बिरामीको उपचारमा कमी आउन नदिने प्रतिबद्धता गर्ने मन्त्री किन सरकारको आफ्नै प्रतिबद्धताबमोजिम काठमाडौँ बाहिर पनि मेडिकल कलेज खोल्ने बाटोमा तगारो हाल्छ ? किन करोडौँ पर्ने गाडी सडकमा हुइँकिदा सडकको अवस्था भने बेहाल हुन्छ ? सरकार जनताका लागि हुनुपर्ने हो । म किन सरकारको आफ्नो बन्न सकिनँ ?
देशमा उपलब्धमध्ये सायद उत्कृष्ट सेवा पाएकोले दुई दिनपछि नै म घर जान मिल्ने भयो । त्यही बसाइको क्रममा मेरा मनमा उठेका यी प्रश्नका उत्तरका खाका पनि आए । हाम्रो राजनीतिक प्रणालीमा जो अहिलेसम्म टिकेका छन् र जो पार्टी तथा सरकारमा उच्च पदमा पुग्छन् उनीहरू कुनै सिद्धान्तप्रतिको प्रतिबद्धता र देशलाई केही गर्छु भन्ने हुटहुटीबाट टिकेका हैन रहेछन् भन्ने लाग्यो । उनीहरू त्यहाँ पुग्न जोसँग पनि सम्झौता गर्ने रहेछन् । त्यहाँ पुगिसक्दा उनीहरुको आँखामा सपना मरिसक्दो रहेछ । अनि मनमा केही गर्नुपर्छ भन्ने छटपटाहट सधैंको लागि मरिसक्तो रहेछ । अब नियतको त कुरै नगरौं !
हाम्रो बाटो के त भन्ने प्रश्नको जवाफ दिएर यो लेखलाई बिट मार्छु । सामान्य नागरिकले आफ्नो स्वार्थ हेर्नुपर्छ । चुनावको एक दिनअगाडि आएर कसले कस्तो भोज लगायो, कसलाई कति दियो र कुन नेताले कसलाई जागिर लगाइदियो, कसलाई ठेक्का मिलाइदियो भन्ने हिसाब लगाउने होइन । कसले हाम्रा साझा समस्यालाई हल गर्न मन, वचन र कर्मले काम गरेको छ र कसले त्यसो गर्ने सम्भावना छ ? हामी बिरामी हुँदा उपचार गर्ने अस्पताल हाम्रो घरगाउँ नजिकै बनाउन कसले सहयोग गरेको थियो ? हाम्रा छोराछोरीले उत्कृष्ट शिक्षा पाऊन् भनेर कसले निरन्तर मेहनत गरिरहेको छ ? गाउँमा बाटो ल्याउन कसले पहल गरिरहेको छ ? अनि कसको नियत ठीक छ भन्ने प्रश्नमा जसले बढी अंक ल्याउँछ उसैले मेरो मत पाउँछ र म नै त्यसलाई अगाडि बढ्न पनि सहयोग गर्छु भन्नुपर्थ्यो । नत्र हामी नागरिकले आफूले पाउन लायक स्तरको नेता नै पाइरहन्छौं । यस्ता दुर्घटना भइरहन्छन् । मन्त्री सरकारी प्रतिबद्धताअनुसार अस्पताल खोल्न जाँगर गर्दैनन् । बरु बिरामीलाई हेलिकप्टरमा हालेर काठमाडौँमा ल्याउन विवश बनाउँछन् । र अस्पतालमा आएर बिरामीको उपचारमा कुनै कसर बाँकी राखिन्न भनेर ठूला कुरा पनि गरिरहन्छन् ।