site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
छोरीको कथा र म

‘पापा, क्यान यु टेल मी अ निउ स्टोरी ?,’ अंग्रेजी बोल्न रुचाउने एक कक्षा पढ्दै गरेकी मेरी छोरीले कथाका लागि अनुरोध गरिन् ।

मैले ‘नो, तिमी नै सुनाउन त’ भनेँ । अनि, छोरीले फेरि प्रश्न गरिन्, ‘तपाईंलाई कुन कथा मन पर्छ ?’

मैले छोरीका लागि भर्खरै बजारबाट ल्याइदिएको ‘मोरल स्टोरिज’ नामको स्टोरी बुकमा रहेको ‘द घुस द्याट लेड गोल्डेन एग्स’ भन्ने कथा सुनाउन भनेँ । छोरी ‘ओकेई’ भन्दै कथा सुनाउन तयार भइन् । र, कथाको पुस्तक खोल्दै वाचन गर्न थालिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लामो समय भइसकेको थियो, बालबालिकामा नैतिकचरित्र निर्माणमा महत्त्वपूर्ण हुने यस्ता नीति कथा सुन्न नपाएको । पढ्ने बेलामा निम्न माध्यमिक तहमा समाहित यस्ता नैतिक मूल्य–मान्यतामा आधारित कथाहरू भाका हालीहाली घरको बार्दलीमा आएर ठूलो स्वरमा पढ्दा कम्ताको आनन्द आउँदैनथ्यो ।

पछि यस्ता कथा समावेश नैतिक शिक्षा र विश्वको सबैभन्दा समृद्ध भाषा संस्कृत भाषा, शिक्षा विषयलाई नीतिकर्ताले बुर्जुवा र पुरातन शिक्षाका नाममा पाठ्यक्रमबाट हटाइदिएको थाहा पाउँदा मन कम्ता दुखेको थिएन ।

यता छोरी कथा भन्दै थिइन्, उता म आफ्नो बाल्यकालीन स्मृतिमा पुगिसकेको थिएँ । मीनपचासको जाडो बिदामा दिनभर जंगलमा झिझा बटुल्दै बेलुकाको कथा सुन्ने वातावरणको प्रबन्धमा बित्थ्यो, हाम्रो जिन्दगी । बेलुका गाउँभरिका केटाकेटी भेला भएर पालैपालो आफ्ना पढ्ने पुस्तकमा भएको अनि अरू लोककथा सुनाउने गर्दथ्यौँ ।

धेरैजसो साथीहरूले पूरै कथा सम्झन नसक्ने कारण त्यसको मज्जा नै बिग्रिन्थ्यो । तसर्थ, हरेक रात पूरा कथा सुनाउने जिम्मा अधिकांशतः मेरो नै हुन्थ्यो । मेरो भने धेरैजसो पञ्चतन्त्रका र बाँकी आफूले पढेको पाठ्यपुस्तकमा रहेका यस्तै कथाहरू हुन्थे । तिनमा चतुर स्यालको कथा सुनाउँदा बढी रोमाञ्चक हुन्थ्यो । बीचबीचमा उन्मुक्त हाँसो र तालीको गडगडाहट पनि मिसिन्थ्यो ।

हामीले भन्ने कथाहरूमा केही मौलिक पनि हुन्थे । तीमध्ये पनि ‘केसलडी’को कथाले हामीलाई रुवाउँथ्यो पनि । जुन कथा मैले मेरी आमाबाट सुनेको थिएँ ।

म केसलडीको कथा सम्झिँदै थिएँ । उता कथा पढ्दै गरेकी छोरीले ‘हाउ मच मनी फारमर ह्याज पे फोर घुस ?’ भनेर सोधिन् ।

छोरीको यो प्रश्नमा म अनुत्तरित भएँ । किनकि, कथामा हाँसको मूल्य उल्लेख थिएन । यस बाल जिज्ञासाको उत्तर दिन मलाई अप्ठ्यारो भयो । हुन त हामी पनि कथा सुन्दै गर्दा यस्ता तमाम प्रश्न गर्दथ्यौँ । हामीबीच थुप्रै तर्क–वितर्क चल्दथे ।

मैले छोरीको प्रश्नलाई ‘तीन हजारजति तिर्यो होला’ भनेर टारेँ । छोरी पनि ‘ओह !’ भन्दै कथावाचनतर्फ लागिन् । म भने बाल्यकालको स्मृतिमै फर्किएँ ।

हाम्रा खेल्ने कुरा, पढ्ने शैली कति फरक, कति मौलिक ! बिहानै बार्दलीमा आएर चर्को स्वरमा चिच्याइचिच्याइ पढेर रट्टा मार्ने हामी ‘रटन्त विद्या मथन्त पानी’ भन्ने लोकोक्तिको दर्शनबाट गाइडेड थियौँ ।

अभिभावक र स्कुल ‘लालयेत् पञ्च वर्षाणि दश वर्षाणि ताडयेत् । प्राप्ते तु षोडशे वर्षे पुत्रं मित्रवदाचरेत्’ भन्ने उक्तिमा पूर्ण विश्वस्त । त्यही भएर होला, स्कुले जीवनमा कति कुटाइ खाइयो खाइयो ।

तर, नैतिकचरित्र निर्माणमा आधारित त्यो शिक्षा प्रणालीले पूर्वीय दर्शनलाई केही हदसम्म जीवन्त पनि राखेकै थियो ।

बालमनोविज्ञानमा आधारित भनिएको वर्तमान शिक्षालाई चुनौती पनि थियो । सामाजिक अनुशासन कायम राख्न र बालबालिकालाई सक्षम बनाउन त्यो शिक्षा प्रणाली काबिल नै देखिन्थ्यो । त्यही भएर होला, अहिले पनि बुढापाकाहरू ‘तिम्रोजस्तो पढाइ हो र हाम्रो ?’ भनी छाती फुलाउँछन् ।

केटाकेटीले पूर्ण स्वतन्त्रता पाउने भनेको त्यही मीनपचासको लामो छुट्टी थियो । त्यसमा हरेक केटाकेटी स्वच्छन्द विचरण गर्दै मनलाग्दी उपद्रो गर्न भ्याउँथे । चोर–पुलिसको खेलमा ठूला–ठूला कान्लामाथिबाट हामफालेको सम्झँदा अहिले पनि आङ सिरिङ्ङ हुन्छ ।

एक दिन स्कुलबाट घर फर्केकी छोरीले त्यही खेल खेल्ने भनिन् । तर, उनको सर्त – आफू साइकल चढेर आउने र मलाई बैंक ‘रबरी’ गरेर भागेको डाँकाको भूमिका दिइन् ।

उनले मोबाइल स्क्रिनमा त्यसरी नै खेलेको देखेकी होलिन् – मैले लख काटेँ ।

अघिअघि मैले दौड्नुपर्ने, पछिपछि छोरी साइकलमा पक्रिन आउनुपर्ने । अनि, छोरीले ‘ह्यान्ड्स अप’ भन्दा मैले ‘सरेन्डर’ गर्नुपर्ने ! छोरीको स्पष्ट निर्देशन थियो मलाई ।

बाल्यकालमा खेलिसकेको यो खेल बडो उन्नत र प्रविधियुक्त भएकामा म हाँसे पनि । तर, ‘किन हाँसेको पापा ?’ भनेर छोरीले सोध्दा ‘त्यसै’ भनेर टारेको थिएँ ।

उसले ‘व्हाई फारमर कट घुस स्टोम्याक ?’ भनेर सोध्दा झल्याँस्स भएँ । किनकि, मैले कथा पूरै कथा सुनेको थिइनँ । म पुरानै स्मृतिमा भुलेको थिएँ ।

मेरो मौनता बुझेर होला, छोरी आफैँले उत्तर दिइन्, ‘बिकज फारमर बिकम मच मोर ग्रिडी सो दे वान्ट्स अल गोल्डेन एग एट वान्स’ भनेर । अनि, कथाको नैतिक पाठ पनि सुनाउन भ्याइन्, ‘टु मच ग्रीड अलवेज लिडस टु ग्रेट लस ।’

मैले पनि ‘हो र !’ भनेँ ।

छोरीले धेरै लोभ नगर्न उपदेश दिइन् । मैले ‘हस्’ भनेर जवाफ फर्काएँ । त्यसपछि छोरी मोबाइल कोट्ट्याएर कार्टुनतिर लागिन् । म भने आफ्नै स्मृतिमा फर्किएँ ।

धनी–गरिब, राम्रो लुगा लगाउने वा टालेको लगाउने, सबै समुदाय र सम्प्रदाय अनि जातजातिका बच्चाको एउटै छानो हुने ती स्कुल सम्भिएँ । र सम्झिएँ, अहिलेका वर्गीय विभाजनजस्तो सहर र गाउँ छुट्ट्याएजस्ता देखिने यी विद्यालयहरू । अनि, पढाइ पनि सम्भ्रान्तको पेवा पो हुने हो कि भन्ने चिन्ता तैरियो मस्तिष्कमा ।

कस्तो रमाइलो थियो त्यो समय विद्यालयको उपस्थिति, चार जात छत्तीस वर्णको साझा फूलबारीजस्तै । अनि, त्यसले दिने समाजशास्त्रीय ज्ञान कुनै विश्वविद्यालयले दिनेभन्दा बढी हुन्थ्यो होला । तर, अहिलेको अवस्था निकै भिन्न । भित्रभित्रै मन पोल्न थाल्यो ।

मैला, थोत्रा, टालेका लुगा लगाउने हुन् अथवा सुकिला–मुकिला लगाउने हुन्, एकै आँगनमा एकापसमा खेलिरहेका हुन्थे । आफ्नो दुःख–सुख साटिरहेका हुन्थे । सुदामा र कृष्णको कथालाई जीवन्त बनाइरहेका हुन्थे ।

अचेल मजस्ता न्यून मध्यमवर्गीयलाई छोराछोरीको शिक्षाका लागि बढी पिरोलिरहेको देख्छु । घरपरिवारको कमाइको ठूलो हिस्सा शिक्षामा खर्च भइरहेको प्रस्ट देखिन्छ । तर, जीवनोपयोगी शिक्षाको अभावमा शैक्षिक बेरोजगारको ताँतीले शिक्षाको लगानी बालुवामा पानी भनेजस्तो भएको भान हुँदै आएको छ ।

एक दिन छोरीले आफ्नो ‘म्याथ टिचर’लाई स्कुलबाट हटाइएकोमा दुःखमनाउ गरिरहँदा ‘किन हटाइएको ?’ भनेर सोधेँ ।

छोरीले ‘आई डन्ट नो’ भन्ने अबोध जवाफ फर्काइन् । पछि बुझ्दै जाँदा ती शिक्षक लगातार एक हप्ता हाजिर नहुँदा कारबाहीमा परेका रहेछन् । यसै बेला सम्झिएँ, उता सामुदायिक विद्यालयका शिक्षकहरूले वर्षौँ सट्टामा शिक्षक राखेर तलब पचाइरहेको र दलको झन्डा बोकेर महिनौँ गायब भएको समाचार छापिएको । यो दुरावस्थाले मलाई झन् पीडा बोध गरायो ।

मैले चिन्ता लिएर के हुन्छ, नीति निर्माताले ध्यान नदिएपछि ! आफैँलाई सम्झाउन खोजेँ ।

आफ्नो गृहकार्य गर्न थालिसकेकी छोरीले फेरि अनायास प्रश्न गरिन्, ‘ह्याज युवर म्याम इभर गिभन यु अ स्माइल फेस ह्वाइल चेकिङ होमवर्क ?’

मैले मलाई पढाउने म्याम नभएको र सरले मात्रै पढाएको भनेँ । उनले ‘बट ह्वाई ?’ भनेर प्रतिप्रश्न गरिन् । मैले जवाफ दिन सकिनँ र विषयान्तर गर्न खोज्दै छोरीलाई नेपाली गीत सुनाउन भनेँ ।

(सैँबु, ललितपुर)
 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्