
काठमाडौं । लक्जम्बर्गका बब हेलर र स्लोभाकियाकी मारगेटा बिकानोभाले एसिया कप ट्रायथलनको उपाधि जितेका छन् । हेलरले पुरुष र बिकानोभाले महिलातर्फको उपाधि जितेका हुन् ।
७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौडको दूरी हेलरले ५५ मिनेट ५५ सेकेन्डमा पूरा गरेका थिए । बिकानोभाले एक घण्टा चार मिनेट ५१ सेकेन्डमा दूरी पूरा गरी उपाधि जितेकी हुन् ।
शनिबार पोखरामा नेपाल ट्रायथलन संघले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ उज्वेकिस्तानका एलेक्जेन्डर कुरिसोभले ५५ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गरी दोस्रो स्थान हासिल गरे । तेस्रो भएका लक्जम्बर्गका स्टेफान जाकोसले ५६ मिनेट ०१ सेकेन्डमा दूरी पूरा गरेका थिए ।

जापानका क्योतारो याशिकावा ५६ मिनेट ०९ सेकेन्डमा दूरी पूरा गरी चौथो भए । न्युजिल्यान्डका ओलीभर लारकोम्बेले ५७ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गरी पाँचौँ स्थान हासिल गरे ।
महिलातर्फ जापानकी मिनोरी इकेनो र चिसातो नाकाजिमाले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । मिनोरीले एक घण्टा पाँच मिनेट १८ सेकेन्ड र चिसातोले एक घण्टा पाँच मिनेट ३० सेकेन्डमा दूरी पूरा गरेका थिए । रोमानियाकी एन्तोनेला मानाक चौथो र जापानकी युका सातो पाँचौँ स्थानमा रहे । मानाकले एक घण्टा ६ मिनेट चार सेकेन्ड र सातोले एक घण्टा सात मिनेट ३७ सेकेन्डमा दूरी पूरा गरेका हुन् ।
प्रतियोगिताको विजेताले ६३० अमेरिकी डलर पुरस्कार जिते । दोस्रो र तेस्रो हुने प्रतियोगीले क्रमशः ५२५ र ४२० डलर पुरस्कार प्राप्त गरे । चौथो हुनेले ३१५ र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले २१० डलर पाए ।