
काठमाडौं । भारत–पाकिस्तानबीच बढ्दै गएको तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीच धर्मशालामा हुने खेल १०.१ ओभरपछि रोकिएको छ ।
पहिलो इनिङको १० ओभरपछि रंगशालामा रहेको एउटा लाइट टावर बन्द हुँदा खेल रोक्नुपरेको हो । र त्यसपछि आयोजकले खेलाडीहरूलाई मैदानबाट बाहिरिन लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को आधिकारिक वक्तव्यअनुसार, खेल रोक्नुको कारण एचपीसीए रंगशालामा 'गम्भीर प्राविधिक समस्या' भएको जनाइएको छ ।
“यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएकाले एचपीसीए रंगशालाको एउटा लाइट टावरले काम गर्न छाडेको हो । रंगशालामा उपस्थित दर्शकहरूलाई परेको असुविधाप्रति बीसीसीआईले क्षमा प्रकट गर्दछ,” बोर्डको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लाइट बन्द हुँदा दुवै टिम र दर्शकहरूलाई एचपीसीए रंगशालाबाट सुरक्षितरूपमा बाहिर ल्याइएको छ । क्रिकबजका अनुसार, खेलाडी र प्रशिक्षकहरूलाई बसमार्फत टिम होटेलमा पुर्याइएको जनाइएको छ ।