
आमै, म त मरेँ रेन्त !
सबैसबै त्यसो भन्छन्,
थाहा छ ।
मलाई मर्न मन लागेकै थिएन
अझ भनौँ,
म मर्ने बेला हुँदै भएको होइन !
मभन्दा धेरै पहिले जन्मिएकाहरू
मैलेभन्दा धेरै भोटो फटाएकाहरू
मज्जाले बाँचिरहेका छन्
बाँचेर, रोएर, हाँसेर हिँड्दै गर्दा
टाढा होइन, नजिककाले नगरेको वास्ता
आकाशबाट बर्सिएको असिनाजस्तै
बरर्र
बर्सिएको छ
सञ्जालको भित्ताभरि
वास्ताहरू
ज्ञात–अज्ञात मनहरूको मनदेखि
श्रद्धासुमन र रिपको ढाँचामा ।
आमा,
म नजन्मेको, नहुर्केको,
नखेलेको, नपुगेको
कहिल्यै सपनाहरूमा समेत नडुलेको
पराई माटोमा
मर्न आएकै होइन
अलिकति आफ्नो
अलिकति तिम्रो
अलिकति भविष्यको
सपनाहरू बोकेर
आफ्नै पैसामा आफैँलाई बेचेर
मुग्लान झरेको थिएँ ।
अलि अबेला आउनुपर्ने काल
बेलैमा आएर
तिम्रो, मेरो सपनाहरूमाथि
मृत्युको भयंकर चट्याङ परेर
आशाका कलिहरू
खुसीका दिवसहरू
सबका सब तहसनहस भएको छ ।

आमै,
मेरो मरण कसैको लागि केही होइन
बिचरा मरेछ, कठै ! भन्लान्
तर, तिम्रा लागि
मेरो मृत्यु सबथोक गुम्नु मात्रै होइन
आधा मुटु बोकी बाँच्नु हो ।
याद आउँछ होला है आमा !
तिम्रो मनको गैरी खेतमा
कति धेरै आशाको बेर्ना काटेर आ’को थिएँ म
वर्षौँदेखि लगाएर फाटेको तिम्रो मजेत्रो फेर्ने,
बाले मुखियाकामा जाली तमसुक बनाएर
धितोमा राखेको जग्गाको पुर्जा
फिर्ता ल्याउने,
स्यानेलाई सदरमुकाम राखेर
औँरेजी स्कुलमा पढाउने,
तिमी र बालाई चारधाम
तीर्थयात्रा गराउने
सबका सब सपनाहरूमा
नमिठो पैरोजस्तै भयो ।
अब आमा,
लाचार सरकारको लाजको लिलामी गरेर
मेरो मृत्युको नाउँमा
मजस्तै श्रमिकहरूबाट
अलिअलि पैसा उठाएर
कहिल्यै बूढो नहुने तन्नेरी लास
एउटा काठको बाकसमा प्याक भएर आउनेछु ।
मेरो बासी लाससँगै देखेको थुप्रै
आधा–अधुरा सपनाहरू
त्यहीँ हुनेछ आमा !
म मर्छु भनेर मरेको होइन
मेरो गुमनाम मृत्युलाई
स्वीकार्नु है आमा !
फेरिफेरि पुनर्जन्म मिल्ने भए
तिम्रै कोखबाट जन्मौँला ।
(काभ्रे, पाँचखाल । हाल लिमासोल, साइप्रस)