
विराटनगर । चाइना फाउन्डेसन फर पोर्भटी एलिभिएसनको आर्थिक सहयोगमा मोरङका विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिकाका तीन विद्यालयलाई फाउन्डेसनको सहयोगमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
पथरीशनिश्चरे नगरपालिका–७ को लामाटोलीस्थित दुर्गा मावि, वडा नम्बर २ स्थित सरस्वती आधारभुत विद्यालय र विश्वनाथ संस्कृत विद्यालयका विद्यार्थीलाई ती सामग्री प्रदान गरिएको छ ।
फाउन्डेसनले विद्यार्थीका लागि पुस्तक बोक्ने ब्याग, स्टेसनरी र हाइजिनसम्बन्धी सामग्री सहयोग गरिएको हो । त्यस अवसरमा बोल्दै पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्बापोले मित्रराष्ट्र चीनको सहयोगी संस्थाबाट प्राप्त सहयोग विद्यार्थीका लागि उपयोगी हुने बताए ।

“मित्र राष्ट्र चीनले हाम्रो देश विकासका लागि विभिन्न ढंगले सहयोग गर्दै आएको छ । शैक्षिक क्षेत्रलाई समेत मध्यनजर गरेर भएको सहयोग सराहनीय छ,” तुम्बापोले भने, “शैक्षिक क्षेत्रमा अझ ठूला सहयोगहरुको हामी अपेक्षा गर्दछौं ।”