site stats
खेल
खप्तड गोल्डकपमा देखियो नेपाली फुटबलकै दुर्लभ दृष्य

काठमाडौं । छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा निकै अचम्मको परिस्थिति देखियो । धनगढी रंगशालामा भएको प्रतियोगिताको सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध खेल्ने अफ्रिकी क्लब एभिनर एफसी नौ जना खेलाडी मात्र लिएर मैदान उत्रियो । अझ खेलका दौरान दुई खेलाडीले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि एभिनरले सात खेलाडीमा सीमित रहेर खेलका अन्त्य गर्‍यो ।

टिमका खेलाडीहरूले भिसा समस्याका कारण खेल्न नपाएपछि एभिनर नौ खेलाडीसहित मनाङ मर्स्याङ्दी क्बलविरुद्ध मैदान उत्रिएको हो । भिसा समस्याका कारण मैदान उत्रिनुपर्ने ११ खेलाडी नपुगेपछि नौ खेलाडीमै खेल्ने निर्णय गरेको एभिनरले यसअघिका रक्षकलाई गोलकिपरको भूमिकामा उतारेको थियो । खेल सुरु हुन गोलकिपर अनिवार्य रहेकाले एभिनर यसअघि रक्षकको रूपमा खेलेका लुई यो यानलाई गोलकिपर बनाएर मैदान उत्रियो ।

तर, खेलका दौरान थप दुई खेलाडीले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि एभिनरले सात खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको हो ।

Himalayan Bank
Agni Group

खेलको २६औँ मिनेटमा एभिनिएरका जे. जुनियर दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । यस्तै, ३१औँ मिनेटमा गोलकिपर यो यानले पनि सोझै रातो कार्ड पाएपछि एभिनर सात खेलाडीमा समेटिएको हो ।

नौ खेलाडीमा मैदान उत्रिएको घटनाबारे प्रतियोगिताको म्याच कमिस्नर दीपेन्द्र सिंहले भने यसरी खेलाउने मिल्ने जिकिर गरे ।

Global bank

“खेलाउन मिल्छ । यो हाम्रो प्रावधानमा पनि छ । सातजना हुँदासम्म खेलाउन मिल्छ । त्यसैकारण हामीले खेललाई निरन्तरता दिने निर्णय गरेका हौँ,” खेलका म्याच कमिस्नर दीपेन्द्र सिंहले भने ।

म्याच कमिस्नर सिंहले खेल्न पाउने दाबी गरे पनि कोभिड–१९ पछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एक टिममा कम्तीमा १६ खेलाडी नभए खेल नहुने नियम ल्याएको थियो । फिफाको यही नियमका कारण अहिले एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पनि १६ खेलाडी हुनैपर्ने नियम लागु गरेको छ ।

एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले गोल्डकपका लागि एन्फाले स्वीकृति दिए पनि खेलाडी पूरा नहुँदा आयोजकले एन्फासँग छलफल गर्नुपर्ने बताए । 

“प्रतियोतिगालाई एन्फाले स्वीकृति दिएको हो । तर, खेलाडी पूरा नभएपछि उनीहरूले हामीलाई एकचोटि सोध्नुपर्थ्यो । केही सोधेको छैन । यसबारे हामीलाई केही खबर छैन । खेलाडी पूरा नहुँदा पनि खेलाउनु निकै लाजमर्दो कुरा हो,” मिश्रले बाह्रखरीसँग भने ।

मिश्रका अनुसार सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेलमा टिम १६ खेलाडी नभए खेल नै सुरु हुँदैन । तर, एन्फाकै स्वीकृतिमा भइरहेको गोल्डकपमा भने एभिनर नौ खेलाडी लिएर मैदान उत्रिएको हो ।

यस्तै, एन्फाका प्रवक्ता सुरेश शाहले नौजनाविरुद्ध ११ को खेल हुँदै नहुने बताउँछन् ।

“मोफसल प्रतियोगिताका लागि हाम्रो नियमावली हुन्छ । तर, यसबारे के प्रावधान छ भन्ने चाहिँ हेर्नै पर्छ । नौ जनाविरुद्ध ११ जना त हुँदैहुँदैन । यसबारे अझ बुझ्छु । हामीले स्वीकृति दिए पनि त्यहाँ हेर्ने जिम्मा सबै आयोजकको हुन्छ । हामीले यहाँबाट रेफ्री पठाउने मात्रै हो । रेफ्रीले पनि कसरी खेलाए भन्नेबारे म बुझ्ने छु,” एन्फा प्रवक्ता शाहले बाह्रखरीसँग भने ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय