
काठमाठौं । कप्तान लियोनल मेसीले १०० गोलको कोसेढुंगा पार गरेको खेलमा अर्जेन्टिनाले बुधबार बिहान अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुरासाओविरुद्ध ७–० को फराकिलो विजय हासिल गरेको छ ।
मेसीले २०औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । जुन मेसीको १००औँ गोल थियो । उनले जियोभानी लो सेल्सोको पासलाई नियन्त्रणमा लिँदै विपक्षी रक्षकलाई कटाएर हानेको प्रहार कुरासाओका गोलकिपर इलोए रुमले ठम्याउन सकेनन् ।
त्यसको तीन मिनेट वित्न नपाउँदै निकोलस गोन्जालेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । ३३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेसीले ३७औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । यससँगै मेसीको अन्तर्राष्ट्रिय गोलसंख्या १०२ पुगेको छ । अन्तर्राष्ट्रिय फुटबलमा धेरै गर्ने खेलाडीको सूचीमा मेसीभन्दा अगाडि इरानका अली दाई र पोर्चुगलका क्रिष्टियानो रोनाल्डो छन् । अली दाईले १०९ र रोनाल्डोले १२२ गोल गरेका छन् ।
‘‘मेसीलाई शब्दमा वर्णन गर्न सकिँदैन । उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् । हरेक दिन हरेक खेलमा मेसीले आफूलाई प्रमाणित गरेका छन् । प्रत्येक पटक मेसीले बललाई छुँदा उनको मुहारमा मुस्कान छाउँछ,’’ आर्जेन्टिनाका फरवार्ड निकोलस गोन्जालेजले भने ।
यससँगै मेसी अर्जेन्टिनाबाट १०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । कतार विश्वकपको उपाधि विजेता मेसीले गत बिहीबार पानामाविरुद्ध गोल गर्दै व्यवसायिक करिअरमा ८०० गोल पूरा गरेका थिए । ३५ वर्षे मेसीले १७४ खेलमा १०० गोलको कोशेढुंगा पार गरेका हुन् । मेसीले २००६ मार्च १ मा क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।
मेसीले सबैभन्दा धेरै बोलेभियाविरुद्ध आठ गोल गरेका छन् । इक्वेडर र उरुग्वेविरुद्ध समान ६ गोल गरेका छन् । मेसीले लियोनल स्कालोनीको प्रशिक्षणमा सबैभन्दा धेरै ३७ गोल गरेका छन् ।
मेसीले ह्याट्रिक गर्नुअघि ३५औँ मिनेटमा इन्जो फर्नान्डेजले गोल गरेका थिए । घरेलु टोली अर्जेन्टिनाले पहिलो हाफमै ५–० को अग्रता लिएको थियो । ७८औँ मिनेटमा एन्जेल डी मारियाले पेनाल्टीमा छैटौँ गोल थपे भने गोन्जालो मोन्टेलले ८७औँ मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले सहज जित निकालेको हो ।
अर्जेन्टिनाले कतार विश्वकपको समूह चरणमा साउदी अरबसँग २–१ ले पराजित भएयता कुनै पनि खेल हारेको छैन । फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै विश्वकपको उपाधि जितेपछिको पहिलो खेलमा अर्जेन्टिनाले गत बिहीबार पानामालाई २–० ले हराएको थियो ।