site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
ममता मिश्रका दुई कविता 

शब्दहरू  
यस्तै छ यहाँ, 
शब्दहरूको होडबाजी चल्छ 
कैले शब्दका जालहरू फ्याँकिन्छन् 
कैले शब्दहरू नै जालमा जाकिन्छन् 
कैले भावनाका छालमा बरालिन्छन् शब्दहरू 
कैले शब्द शब्द आफैँमा जेलिन्छन् ।

शब्दमै जुट्छ मानिस, शब्दले नै टुट्छ 
हरेक दिन शब्दसँगै लड्छ मानिस
अनि, शब्दले नै लडाउँछ 
शब्दसँगको लडाइँमा
कैले हार्छ 
अनि कैले जित्छ मानिस ।

शब्दले नै अहंकारी मानिस 
शब्दले नै विषालु  
शब्दमै छ सबै, शब्दले नै मायालु 
शब्दैशब्दका तालहरूमा 
शब्दसँगै नाच्छ मानिस     
शब्दसँगको भागदौडमा 
आफ्नो अस्तित्व खोज्छ मानिस  
यस्तै छ यहाँ,
शब्द रोपी शब्दकै खेती गर्छ मानिस 
शब्दमै आक्रोश 
अनि, शब्दमै विनम्र मानिस 
शब्दले नै दिन्छ पीडा
शब्दले नै पीडित मानिस 
शब्दले नै रुवाउँछ, शब्दले नै हँसाउँछ  
शब्दमै मन बहलाउँछ मानिस 
शब्दले नै बहकाउँछ ।

Himalayan Bank
Dabur nepal
Agni Group

कैले दुखाउँछन् शब्दहरू   
वाण बनी रोपिन्छन् मुटुको भित्ताभित्तामा
कैले दुख्छन् आफैँभित्र शब्दहरू 
छाँद बनी अड्किन्छन् हृदयको कुनाकुनामा 
यस्तै छ यहाँ, शब्दमै मित्रता 
अनि, शब्दमै युद्ध गर्छ मानिस ।

शब्दकै जाल फ्याँकेर 
शब्दकै चाल चल्छ मानिस
शब्दले नै बलियो मानिस 
शब्दले नै कमजोर पनि 
शब्दको होडबाजीमा 
कैले अघि, कैले पछि पर्छ मानिस
शब्दमै छ सबै शक्ति 
शब्दले नै बेग्लै मानिस !

Global bank

०००

मायाको गहिराइ
न नाप मेरो मायाको गहिराइ
सक्दैनौ उत्रिन तिमी 
एकपल्ट डुबेपछि ।

लाग्दैन विश्वास भने 
डुबुल्की मारेर हेर 
सक्दैनौ तैरिन तिमी 
फेरि चाहेर पनि ।

नसा त्यो मोहनीको
कडा मदिराको भन्दा 
पिएर घुँट त्यो नसाको 
सक्दैनौ छोड्न लत
एकपल्ट लागेपछि ।

नराख मूल्य मेरो मायाको 
जोखेर माया तराजुमा
अमूल्य त्यो मायाको ऋण 
सक्दैनौ तिर्न एकपल्ट लागेपछि ।

पत्यार छैन भने
मेरो मायालाई तिम्रो मुटुमा समेटी हेर 
नजरसँग नजर एकपल्ट जुधाएर हेर 
सक्दैनौ भुल्न यो नजरको तृष्णा 
एकपल्ट लागेपछि ।

सक्दैनौ मेट्न त्यो मायाको प्यास 
एकपल्ट जागेपछि ।
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय