site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले मुख्यमन्त्री दाबी गर्दा एमाले सरकारमै रहने सम्भावना

जनकपुरधाम । संघीय सरकारमा गठबन्धन फेरिएसँगै प्रदेशमा पनि सत्ता समीकरणमा फेरबदल सुरु भएको छ । केन्द्रमा नेकपा (एमाले) सरकारबार बाहिरिएसँगै नेपाली कांग्रेसको प्रवेश भएको छ । यससँगै मधेस प्रदेशमा पनि सत्ताबाट ठूलो दल एमालेलाई ‘आउट’ गर्न प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेसले गृहकार्य सुरु गरेको छ ।

एमालेलाई सत्ताबाट ‘आउट’ गरेर कांग्रेस ‘इन’ हुने गरी छलफलहरु अगाडि बढाइए पनि कांग्रेसले मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दा एमाले सरकारमै रहनसक्ने सम्भावना रहेको पनि नेताहरुको तर्क छ ।

एमालेबाट मधेस सरकारमा सहभागी मन्त्रीहरु गत बुधबार मुख्यमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेका थिए । तर, मुख्यमन्त्रीको आग्रह तथा एमाले शीर्ष नेताहरुको निर्देशनमा राजीनामा नबुझाइएको एमालेबाट कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री रहेका राजकुमार लेखीले बताए । 

“आफनो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु बसेर राजीनामा दिने तयारी गरेका थियौं,” उनले भने, “तर, स्वयं मुख्यमन्त्री र हाम्रै पार्टी शीर्ष नेताहरुले तत्काल राजीनामा नदिन आग्रह गरेपछि हामीहरुले राजीनामा दिएनौँ । अब हेरौं के हुन्छ ।”

मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरेका कारण एमालेका मन्त्रीहरुलाई रोकेको बताइएको छ । जसपाले मधेसमा नेतृत्व छोड्न तयार छैन । अढाई वर्ष जसपाले कम्तिमा नेतृत्व गर्ने गरी एमालेलाई रोकेको छ । 

तर, मधेस प्रदेशको सरकारमा कांग्रेसले नेतृत्व पाउने पर्ने कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णाप्रसाद यादवले बताए । 

“ठूलो दलको हैसियतले पनि हामीले नेतृत्व मागेका छौं,” उनले भने, “अर्को कुरा जसपालाई यसअघि पनि जनताले हेरिसकेको छ । अब नयाँ नेतृत्व आउनु पर्छ ।” प्रधानमन्त्री र आफ्नो सभापतिलाई नेतृत्व पाउनुपर्ने जानकारी गराइसकेको पनि उनले बताए ।

मधेसमा एमालेबाट सभामुख रामचन्द्र मण्डल, भौतिक पूर्वाधारमा सरोजकुमार यादव, गृह तथा सञ्चारमा शत्रुधन सिंह कोइरी र राज्यमन्त्री केशव राय, महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहम्मद जैयद आलम र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्रीमा राजकुमार लेखी छन् । 

जसपाका अध्यक्ष उपेन्द्र यादव भने उपनिर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट साझा उमेदवारीको प्रतिवद्धताको पर्खाइमा छन् । सत्ता गठनबन्धनको साझा उमेदवार भएमात्रै प्रदेश सरकारमा अन्य दललाई सहभागी गराउने उनको इच्छा छ ।

जनमतलाई संकट

जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद डा. चन्द्रकान्त (सीके) राउतले केही दिनमा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष यादवविरुद्ध जनमत पार्टीले उमेदवारी दिने घोषणा गरिसकेका छन् । यो अवस्थामा जनमतले उमेदवारी दिए जनमतलाई सरकारबाट हटाउने मुख्यमन्त्रीको मनसाय छ ।

जनमत पार्टीले मधेस सरकार गठनको बेला साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति भएको थियो । अब त्यो पनि पूरा नहुने सम्भावना देखिएपछि जनमतले जसपा अध्यक्षलाई संसद् प्रवेशमा रोक लगाउने मोर्चा बनाइरहेको छ । जनमतबाट मधेस प्रदेशमा दुईजना मन्त्री र एकजना राज्य मन्त्री रहेका छन् ।

मधेसको प्रदेशसभामा एमालेको २४, कांग्रेसको २२, जसपाको १७, जनतम १३, लोसपा नौ, माओवादी नौ, नेकपा (एकीकृत समाजवादी) सात, नागरिक उन्मुक्ति र राप्रपाको एक÷एक प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro