site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशमा अब कसको नेतृत्वमा सरकार ? कांग्रेसले थाल्यो केन्द्रीयस्तरमा छलफल

विराटनगर । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कतिपय प्रदेशमा गठबन्धन सरकार गठन भएको छ । तर, राजनीतिक दलहरूले ‘विशिष्ट अवस्था’ भनेर परिभाषित गर्ने गरेको कोसी प्रदेशमा अब कसको नेतृत्वमा सरकार गठन हुने भन्ने अन्योल देखिएको छ ।
 
एमाले नेतृत्वको अहिलेको सरकारलाई नेकपा माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थन छ । केन्द्रमा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको छ । तर, कोसी प्रदेशमा माओवादीबाट एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै छ । 

“समर्थन फिर्ता लिई हाल्ने वा सरकार तत्काल छाड्ने भनेर हाम्रो दलमा छलफल सुरु नै भएको छैन,” माओवादी कोसी प्रदेश संसदीय दल नेता इन्द्र आङ्बोले भने, “हामी यही सरकारमा छौं । यस विषयमा खासै केही कुरा भएको छैन् । यो प्रदेशको अवस्था अलि विशिष्ट किसिमको छ । गठबन्धनले मात्र निर्णय गरेर हुने अवस्था पनि देखिँदैन ।”

माओवादी केन्द्रले नयाँ सरकार गठन प्रक्रियाबारे तयारी नथालिएको जनाए पनि नेपाली कांग्रेसले भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित गठबन्धन दलका शीर्षस्थ नेतासँग यस विषयमा छलफल चलाएको छ । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग काठमाडौंमा भेटघाट गरी सरकार गठनको गाँठो फुकाउन आग्रह गरिएिको हो । 

“हामीले प्रधानमन्त्रीसहित शीर्षस्थ नेतालाई अब कोसी प्रदेशमा नयाँ सरकार गठन गर्ने प्रक्रिया थाल्न आग्रह गरेका छौं,” नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने, “आलोपालोमा सरकारको नेतृत्व गर्ने गरी गठबन्धन दलले अब सरकार गठन गर्ने वातावरण बनाउन आग्रह गर्यौं ।” कार्कीका अनुसार नेपाली कांग्रेसले पहिले सरकारको नेतृत्व गरेर पछि माओवादी केन्द्र वा एकीकृत समाजवादी जसले भए पनि गर्न सक्ने भनेर आफ्नो धारणा राखेको सुनाए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले गठबन्धन सरकार गठन गर्न सभामुखको विषयमा समेत निर्णय गरेर अघि बढ्नुपर्ने भनेर प्रधानमन्त्रीसँग कुराकानी राखेको बताए । उनले भने,“सभामुखले निर्णायक मत दिनुपर्ने परिस्थिति भए पनि गठबन्धनले छाड्ने भन्ने नरहेको र  परिस्थितिअनुरुप निर्णय हुनुपर्ने भनेर प्रधानमन्त्री र दलका शीर्षस्थ नेतासमक्ष कुरा राखेका छौं । जसरी सरकार बन्छ सोहीअनुरुप हुन्छ ।” राईका अनुसार प्रदेशका संसदीय दलहरुबीच छलफल सुरु गरी केन्द्रको सुझावअनुसार कोसी प्रदेशमा नयाँ सरकार गठन हुनेछ । 

यस्तो छ अंकगणित
संसदीय अंकगणितअनुसार प्रदेशसभाको सांसद कायम संख्याले मात्र सत्ता गठबन्धनले सहजै सरकार फेर्न सक्ने अवस्था छैन । सरकार गठन गर्न वहुमतका लागि ४७ सांसद संख्या चाहिन्छ । ४६ सांसदले मत दिँदा निर्णायक मत सभामुखले दिनुपर्ने हुन्छ । 

संविधानको धारा १८६ मा ‘मत बराबर भएमा’मात्रै सभामुखले मत दिन पाउने उल्लेख  छ । “प्रदेशसभामा निर्णायका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन । तर, मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिनेछ,” संविधानको उक्त धारामा उल्लेख छ । 

कोसी प्रदेशसभामा ९३ जना सांसद छन् । कांग्रेसका २९, माओवादी १३, नेकपा (एस) ४ र जसपा १ गरी सहज वहुमत (४७) पुर्याउन सभामुखले राजीनामा दिए पुग्छ । तर, सभामुख बाबुराम गौतमसमेत यो पक्षमा छैनन् । सभामुख भएसँगै पार्टीबाट राजीनामा दिएको अवस्थामा त्यो अलि अफ्ठेरो हुनसक्ने गौतमको तर्क छ ।
 
एमाले, माओवादी, राप्रपा र जसपासहित ६० सांसदको समर्थन लिएर गत पुस २५ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनेका थिए । त्यसबेला एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाको एक सांसदले समर्थन दिएका थिए । अब माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिँदा एमालेसँग ४६ सांसदको मात्र समर्थन रहनेछ । राप्रपा र एमाले बाहेकको सरकार बन्ने अवस्थामा सभामुखको निर्णायक मतसहित मात्र गठबन्धनको ४७ पुग्छ । 

आलोपालोमा मुख्यमन्त्री
कोसी प्रदेशमा आलोपालोको सरकार गठनको निर्णय हुने कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले बताएका छन् । काठमाडौंमा भएको छलफलमा नेताहरूले आलोपालोमै सरकार गठन हुने भन्ने जानकारी गराएको बताए । 
कार्कीले भने,“राजनीतिको केन्द्रको अवस्था र गठबन्धनको निर्णयले नै सबै कुरा तय गर्ने हो, त्यसैले प्रदेशमा सरकार परिवर्तन हुँदैन भन्ने कुरै रहेन । छलफल अब कसले पहिले नेतृत्व गर्ने भन्ने विषय हो । सरकार गठनको प्रक्रिया राजनीतिक दलहरूले मिलाउने हो । कांग्रेस ठूलो दल भएकाले पहिलो नेतृत्व पाउनु पर्ने हामीले प्रधानमन्त्री र नेताहरूसमक्ष कुरा राखेका छौं ।”

आलोपालो सरकार गठन हुँदा पहिले कांग्रेसले नेतृत्व पाए अहिले संसदीय दलको नेतृत्व गरिरहेका उद्धव कार्की मुख्यमन्त्री बन्न सक्छन् । यसैगरी माओवादी केन्द्रले पाए इन्द्रबहादुर आङ्बो र एकीकृत समाजवादीको भागमा परे फेरि राजेन्द्र राईले सरकारको नेतृत्व पाउन सक्छन् । यसअघि गठबन्धनकै समर्थनमा राई एक वर्षभन्दा बढी समय मुख्यमन्त्री बनेका थिए ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro