
काठमाडौं । होटेल पौवा प्रा.लि.ले पोखराको लेकसाइडमा सेवा सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित पोखराको लेकसाइडस्थित स्ट्रिट नं. १ बाट आफ्नो ११औं शाखा सञ्चालनमा ल्याएको हो ।
पौवाको ११औ शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत्र १० गते बिहान १० बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
विविध कार्यक्रमका साथ पौवाले शाखा सञ्चालनको औपचारिक शुभारम्भ गर्न लागेको कम्पनीले जानकारी दिएको हो । शुभारम्भको अवसरमा चैत १०, ११ र १२ गते ३ दिनमा फुड टेस्ट, पौवाका सबै शाखाका सेफहरूबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।
उद्घाटन कार्यक्रमसहित विविध कार्यक्रमको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले पौवामा आएर खानाको स्वाद चाख्न सबैलाई आग्रहसमेत गरे ।

“कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनायो । त्यसमा पनि होटेल व्यवसाय झन् बढी मारमा पर्यो । तर, पछिल्लो समय विस्तारै बाह्य पर्यटकहरूको आगमन बढ्न थालेसँगै होटेल उद्योगहरू पनि चलायमान हुन थालेका छन् ।” ज्ञवाली भने ।
१० वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले ११औं शाखाको रूपमा पोखरामा करिब १० करोड बढी लगानी गरेको बताइएको छ । पोखरामा अझै थप लगानी गर्न योजना रहेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए ।