
विराटनगर । विराटनगरमा जारी प्रथम रेडमन्ड इन्डो–नेपाल मैत्रीपूर्ण महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लब एन्ड एकाडेमी (बीसीसीए) ले जितेको छ ।
तीन खेलको टी–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएनलाई सोमबार ४९ रनले पराजित गरी २–१ ले शृङ्खलामा बीसीसीएले कब्जा गरेको हो ।
पहिलो खेलमा भारतलाई ९ विकेटले पराजित गरेको बीसीसीए टोली आइतबार भएको खेलमा ६ विकेटले पराजित भएको थियो । अब मंगलबार ३० ओभरको एक खेल खेल्न बाँकी छ ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २० ओभरमा तीन विकेट गुमाई १३७ रनको विशाल स्कोर बनाएको थियो ।
घरेलु टोलीका लागि सम्झना खडकाले नटआउट ५५ रन बनाउँदा कविता जोशी पनि ११ रनमा नटआउट भइन् । त्यस्तै नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री ५१ रन बनाएर आउट भइन् । भारतकी कप्तान रितु भोस्लले, रिना रानी र निधि भाग्यसियाले १–१ विकेट लिए ।
जवाफमा १३८ रनको लक्ष्य पछ्याएको भारतीय महिला टोलीले पूरै ओभर खेल्दै ७ विकेट गुमाए ८८ रनमा सीमित भयो । भारतकी अरपिताले नटआउट ३७ बनाउँदा निधि भाग्यसियाले नटआउट १७ रन बनाइन् ।
बीसीसीएकी कप्तान रुविना क्षेत्री, सवनव राई, कविता जोशी र अस्मीता कर्मचार्यले समान १–१ विकेट लिइन् ।