
काठमाडौं । होटेल संघ (हान)ले सरकारले सहयोग नगर्दा होटेल व्यवसायी समस्यामा परेको जनाएको छ । सोमबार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष सिर्जना राणाले कोरोना महामारीले थला परेको होटेल व्यवसायलाई सरकारले बेवास्ता गरेको बताइन् ।
पर्यटक नआउँदा होटेल सञ्चालन गर्न समस्या परेको उनले सुनाइन् । कोरोनाका कारण थला परेका व्यवसायी बैंकको चर्काे ब्याजदरका कारण झनै समस्यामा उनको भनाइ छ ।
पर्यटक आगमन कम हुँदा दैनिक खर्च चलाउन समेत मुस्किल परेको उनले बताइन् । “२०१९ मा १२ लाख पर्यटक नेपाल आएकामा २०२२ मा ६ लाख पर्यटक नेपाल आएका छन्,” उनले भनिन्, “सरकारी तथ्यांकानुसार नेपालमा आधा मात्र पर्यटक आएका छन् । यस्तो अवस्थामा होटेल सञ्चालन गर्न निकै चुनौतीपूर्ण छ ।”
सरकारले होटेल तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै कोरोनाकालीन सुविधा निरन्तर हुनुपर्ने माग उनले गरिन् ।

कोरोना महामारीको समयमा नेपाल राष्ट्र बैंकले ऋण तथा किस्ता भुक्तानीमा सहुलियत दिएको थियो । पुनर्कर्जा तथा पुनर्संरचनाको सुविधा समेत दिएको थियो । तर, पछिल्लो समय होटेल तथा पर्यटन सामान्य भएको भन्दै त्यो सुविधा कटौती गरिदिएको थियो ।
अध्यक्ष राणाले पर्यटन क्षेत्रलाई उद्योगको मान्यता दिनुपर्नेमा जोड दिइन् ।
संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले सरकारले सहयोग नगर्दा यस क्षेत्रबाट विस्थापित हुनेको संख्या बढ्ने बताए । “सरकारले जारी गरेको मौद्रिक नीति र वित्तीय नीतिअनुसार होटेल क्षेत्र सामान्य अवस्थामा फर्केको देखाएको छ । तर, हामी दैनिक रूपमा घाटामा चलिरहेका छौँ,” शाहले भने ।
दैनिक खर्च चलाउनका लागि ३५ प्रतिशत ‘अकुपेन्सी’ आवश्यक पर्ने उनले बताए । तर, २५ प्रतिशत अकुपेन्सीमा होटेल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको शाहले सुनाए । अहिले संकटको समयमा सरकारबाट केही सुविधा खोजेको उनले बताए ।