
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ ।
बुटवल–११, देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले दोसल्ला ओढाएर सम्मानपत्र र नगद ५० हजारसहित सम्मान गरेका हुन् ।
कार्यक्रममा नेपाली क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मानपछि बोल्दै नगरप्रमुख खेलराज पाण्डयले कुशल मल्लले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताएका थिए ।
उनले आगामी दिनमा अरु प्रगति गर्दै नेपाली राष्ट्रिय क्रिकेट टीमको क्याप्टेन बन्ने गरी मेहनत गर्न शुभकामना दिँदै बुटवलले हरेक हिसाबले साथ दिने बताए ।
नगरमा खेलकुद क्षेत्रको विकासको लागि तीन करोड भन्दा बढी बजेट विनियोजन गरिएको भन्दै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।
कार्यक्रममा बोल्दै क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले बुटवलले सम्मान गरेर खेलक्षेत्रको हौसला बढाएको बताए । उनले बुटवलमा खेलकुदको धेरै सम्भावना रहेको भन्दै बुटवल उपमहानगरको प्रयास उत्कृष्ट रहेको र यसमा खेलक्षेत्रको साथ रहने बताए ।
खेलाडी मल्लले बुटवल उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताएका थिए ।