काठमाडौं । विराटनगरमा भइरहेको तीन दिने नेपाल भारत साहित्य महोत्सव १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा महोत्सव भएको हो ।
नेपाली साहित्यिक पुस्तक हिन्दी भाषामा र हिन्दी साहित्यका पुस्तक नेपाली भाषामा अनुवाद गरी दुवै देशको साहित्यलाई एक–अर्को देशमा प्रवर्द्धन गर्ने गरी १० बुँदे घोषणापत्र जारी गरिएको हो ।
घोषणापत्रमा महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारहरूसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने युवा स्रष्टाहरूलाई बढीभन्दा बढी सहभागी गराइने बताइएको छ । वार्षिक साहित्य महोत्सवबाहेक वर्षैभरि दुवै देशमा विभिन्न साहित्यिक कार्यक्रमहरू आयोजना गर्ने र एक–अर्का देशमा आमन्त्रण गर्ने, युवा साहित्यकारहरूलाई प्रोत्साहित गर्नेलगायतका विषयहरू घोषणपत्रमा उल्लेख छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्य महोत्सवको समापन गर्दै भाषा, साहित्य, कला र संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताए ।
महोत्सवमा नेपालका सात वटै प्रदेशसहित भारतका सबै राज्यबाट ३५० बढी साहित्यकारहरूको सहभागिता रहेको जनाइएको छ ।
महोत्सवमा कृति विमोचन, विभिन्न विषयमा बहस, अनुवाद साहित्यमाथि विमर्श, बहुभाषी गजल, मुक्तक, चारु, लघुकथा, कविगोष्ठीसमेत सम्पन्न भएको थियो ।