काठमाडौं । चलचित्र विकास बोर्डले भारतीय फिल्ममेकर अनुपम बर्वेको उपस्थितिमा आयोजना गरेको तीनदिने चलचित्रको पटकथा लेखन र निर्देशन कार्यशाला सम्पन्न भएको छ । चैत ३ गतेदेखि ५ सम्म सञ्चालित कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता थियो । पामे फिल्म फेस्टिभलले कार्यशाला व्यवस्थापन गरेको थियो ।
विभिन्न पुरस्कार विजेता भारतीय फिल्ममेकर तथा पूर्वएफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)का एसोसिएट प्रोफेसर बर्वेले आफूले नेपालमा केही अनुभवी तथा केही नयाँ फिल्ममेकरहरूसँग तीनदिन बिताउँन पाएको बताए ।
“मैले भिन्न वातावरणमा फरक अनुभूति गरेको छु । प्रशिक्षार्थीहरूले मसँग बाँड्नुभएका कथा र कथाका शैलिहरू मेरो लागि पनि निकै नयाँ थिए र मैले पनि सिक्ने अवसर पाएँ,” उनले भने ।
प्रशिक्षार्थीको रूपमा सहभागी नेपाली चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले भने, “हामी फिल्ममेकरहरूले कहिल्यै पनि सिक्ने अवसरलाई छोड्नु हुँदैन । म अन्य सहभागीहरूभन्दा सिनियर भत पनि मैले सँगै बसेर सिक्न कुनै अप्ठेरो महसुस गरिनँ ।”

चलचित्र विका बोर्डका अध्यक्ष भुवन केसीले सफल चलचित्र निर्माणमा संलग्न हुन पटकथा लेखन तथा निर्देशनमा गहिरो ज्ञान हुनु आवश्यक रहेकाले सोही उद्देश्यसहित कार्यशालाको आयोजना गरिएको स्पष्ट पारेकाे बोर्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
“स्क्रिप्टिङ, कास्टिङ, निर्देशन र पोस्ट–प्रडक्सनसम्मको अवधारणाको विकासदेखि कार्यशालाले फिल्म निर्माणका सबै पक्षहरूलाई समेटेको छ,” उनले भने ।