
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध डकवर्थ लुइस पद्दतिमा नौ रनको रोमाञ्चक जित निकाल्दै नेपालले शीर्ष तीनमा स्थान पक्का गर्यो । यूएईविरुद्धको यो जितसँगै नेपालले जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान पक्का गर्यो ।
सन् २०१९ देखि सुरु भएको लिग–२ मा सात टिमले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये शीर्ष तीन टिमले जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गरे । यस्तै, पुछारका चार टिमले भने विश्वकप छनोटका लागि पनि नामिबियामा हुने प्लेअफ खेल्नुपर्ने भयो ।
लिगका शीर्ष पाँच टिमले विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीबाट प्राप्त हुने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता चार वर्षका लागि जोगाउन सफल भए । पुछारका दुई टिमको एकदिवसीय मान्यता भने विश्वकप छनोटको प्लेअफ र त्यसपछि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटको प्रदर्शनका आधारमा तय हुनेछ ।
सुरुआतमा खराब लयबाट गुज्रिएको नेपालले अन्तिमका १२ खेलमा उत्कृष्ट पुनरागमन गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउँदै विश्वकप छनोटमा आफ्नो स्थान पक्का गरेको हो । अन्तिमका १२ खेलमध्ये ११ खेलमा जित निकाल्दै नेपालले जिम्बाब्वेको टिकट काटेको थियो । नेपालले लिग–२ का अन्तिम तीन त्रिदेशीय शृंखलामध्ये घरेलु मैदानमा भएको दुई शृंखलामा ‘क्लिन स्विप’ गर्यो ।
जिम्बाब्वेमा हुने उक्त आईसीसी विश्वकप छनोट प्रतियोगितामा क्रिकेट विश्वकप सुपर लिगको पुछारमा रहने पाँच टिम पनि हुनेछन् । सुपर लिगमा आईसीसीका १२ पूर्ण सदस्य र आईसीसी क्रिकेट विश्वकप लिग च्याम्पियन बनेको नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसबाट जिम्बाब्वे र नेदरल्यान्ड्स तल झर्ने पक्का छ । अन्य टिमको टुंगो लाग्न बाँकी छ । र, नामिबियामा हुने विश्वकप छनोटको प्लेअफबाट दुई टिम आउनेछन् । १० टिमले प्रतिस्पर्धा गर्ने छनोटबाट दुई टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।
सन् २०१९ देखि सुरु भएको लिग–२ का सात टिमको कूल १४० खेल भए । जसमा हरेक टिमले समान ३६ खेल खेले । नामिबियाका गेरहार्ड इरास्मस आईसीसी क्रिकेट विश्वकप लिग–२ मा सबैभन्दा धेरै रन बनाउने खेलाडी बने । इरास्मसले ३४ खेलमा एक हजार २९८ रन बनाए । यसक्रममा इरास्मसले एक शतक र ११ अर्धशतक प्रहार गरे । । यस्तै, ओमानका बिलाल खान ३५ खेलमा ७६ विकेटसहित सबैभन्दा धेरै विकेट लिने खेलाडी बने ।
लिग–२ मा नेपालबाट आसिफ शेख ९३४ रनसहित सर्वाधिक रन बनाउने ब्याटर र सन्दीप लामिछाने ७२ विकेटसहित सर्वाधिक विकेट लिने बलर बने ।
नेपाली ब्याटरको प्रदर्शन
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष ५० भित्र नेपालका ६ ब्याटर अटाएका छन् । नेपालबाट आसिफ शेख, कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आरिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्ल यो सूचीमा समावेश छन् ।
लिग–२ मा नेपालबाट सर्वाधिक रन जोड्ने खेलाडी बन्नेक्रममा नेपाली टिमका ओपनर आसिफले ३० खेलमा एक शतक र सात अर्धशतकसहित ९३४ रन जोडे । नेपालबाट सर्वाधिक रन जोड्ने ब्याटर बनेका आसिफ समग्रमा भने प्रतियोगितामा सबैभन्दा धरै रन बनाउने खेलाडीको सूचीमा १२औँ स्थानमा छन् ।
आसिफपछि कप्तान रोहितकुमार पौडेल नेपालका लागि सर्वाधिक रन जोड्ने खेलाडी बने । १३औँ स्थानमा रहेका रोहितले ३३ खेलमा ९०९ रन जोडे । रोहितले ६ अर्धशतक प्रहार गरेका छन् ।
नेपालबाट सर्वाधिक रन जोड्ने खेलाडीको तेस्रो नम्बरमा छन्, कुशल भुर्तेल । समग्रमा १९औँ स्थानमा रहेका भुर्तेलले २९ खेलमा ६८१ रन जोडे । यसक्रममा उनले एक शतक र पाँच अर्धशतक बनाए ।
आसिफ शेखका दाइसमेत रहेका आरिफ शेख नेपालबाट सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा छ । आरिफले २९ खेलमा ५९५ रन बनाएका छन् । लिग–२ को २७औँ स्थानमा रहेका आरिफले पाँच अर्धशतक प्रहार गरे ।
नेपालबाट सर्वाधिक रन जोड्ने खेलाडीको पाँचौँ स्थानमा रहेका छन्, ज्ञानेन्द्र मल्ल । समग्रमा ३१औँ स्थानमा रहेका ज्ञानेन्द्रले लिग–२ मा ५७२ रन जोडे । यसक्रममा ज्ञानेन्द्रले पाँच अर्धशतक बनाए ।
नेपालबाट सर्वाधिक रन जोड्ने खेलाडीको छैटौँ स्थानमा रहेका कुशल मल्लले ४०४ रन जोडे । यसक्रममा कुशलले चार अर्धशतक प्रहार गरे । लिग–२ मा भने कुशल सर्वाधिक रन बनाउने खेलाडीको ५०औँ स्थानमा छन् ।
नेपाली बलरको प्रदर्शन
लिग–२ मा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष ५० भित्र नेपालका सात बलर अटाएका छन् । नेपालबाट सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित नारायण राजवंशी र सुशन भारी छन् ।
लिग–२ मा ७२ विकेट लिएका सन्दीप नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी हुन् । लिग–२ कै दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका सन्दीपले ३१ खेल खेले । सन्दीप शीर्ष स्थानका बिलाल खानभन्दा चार विकेटले पछि रहे । यसक्रममा सन्दीपले पाँच खेलमा चार विकेट र दुई खेलमा पाँच विकेट लिए ।
नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा छन्, करण केसी । समग्रमा छैटौँ स्थानमा रहेका करणले ३० खेलमा ५० विकेट लिए । करणले लिग–२ का समान तीन खेलमा चार विकेट र तीन खेलमा पाँच विकेट लिए ।
लिग–२ को १६औँ स्थानमा रहेका सोमपाल कामी नेपालबाट तेस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् । सोमपालले ३१ खेलमा ३६ विकेट लिए । यसक्रममा सोमपालले एक खेलमा चार विकेट लिए ।
नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीको चौथो स्थानमा छन्, दीपेन्द्रसिंह ऐरी । लिग–२ को ३१औँ स्थानमा रहेका दीपेन्द्रले ३२ खेलमा २३ विकेट लिए । कुशल मल्ल नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीको पाँचौँ स्थानमा छन् । समग्रमा ४४औँ स्थानमा रहेका कुशलले १८ खेलमा १६ विकेट लिए ।
यस्तै, ललित नारायण राजवंशी र सुशन भारी नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीको क्रमशः छैटौँ र सातौँ स्थानमा छन् । लिग–२ मा ४५औँ स्थानमा रहेका ललितले १० खेलबाट १५ विकेट लिए । यसक्रममा ललितले एक खेलमा चार र एक खेलमा पाँच विकेट लिए । सातौँ स्थानका सुशनले १० खेलबाट १४ विकेट लिए । लिग–२ को ४६औँ स्थानमा रहेका सुशनले एक खेलमा चार विकेट लिएका थिए ।