
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफू पक्राउ पर्नसक्ने भन्दै आफ्ना समर्थकहरूलाई व्यापक विरोध प्रदर्शन गर्न आग्रह गरेका छन् ।
तर, ट्रम्पका वकिलले भने कुनै कानुनी निकायबाट जानकारी नपाएको बताएका छन् । ट्रम्पले मिडिया रिपोर्टहरूलाई आधार मान्दै यस्तो टिप्पणी गरेको बताइएको छ ।
अभियोजकहरूले ट्रम्पविरुद्ध यो हप्ता सम्भावित अभियोग हेरिरहेको बताइएको छ । यदि ट्रम्प पक्राउ परेमा यो अमेरिकी पूर्वराष्ट्रपति विरुद्धको पहिलो आपराधिक मुद्दा हुनेछ।
यो मुद्दा सन् २०१६ को राष्ट्रपति निर्वाचन अघि ट्रम्पका वकिलले गोप्य जानकारी सार्वजनिक नगर्न पोर्न स्टार स्टर्मी डेनियललाई पैसा दिएको विषयमा केन्द्रित छ ।
७६ वर्षीय ट्रम्पमाथि लागेका कयौं आरोपमध्ये यो एक हो, तर उनले सबै आरोप अस्वीकार गर्दै आएका छन् । यसअघि दुई पटक महाअभियोग लगाउने प्रयास, रुसी संलग्नताको अनुसन्धान र उनको निवासमा र अलागोमा छापा हान्ने जस्ता विषयहरूले ट्रम्पलाई चर्चामा ल्याएको छ ।
ट्रम्पविरुद्ध यो हप्ता कुनै आपराधिक सजाय तोकिदै छ । पछि ती सजाय वा कारबाही कस्ता हुनेछन् भन्ने कुनै जानकारी भने आएको छैन ।
सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटल हिलमा भएको विरोध प्रदर्शनले ट्रम्पका समर्थकहरूले उग्र विरोध गर्न सक्छन् भन्ने देखाएको थियो ।
ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रथ सोसलमा उनले म्यानहट्टनको सरकारी जिल्ला वकिल कार्यालयबाट लिक भएको सूचनामा आफू मंगलबार पक्राउ पर्न सक्ने संकेत गरेको छ भनेर लेखेका थिए ।
ट्रम्पले लेखेका छन्, "प्रमुख रिपब्लिकन उमेदवार र संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपतिलाई मंगलबार गिरफ्तार गरिनेछ, विरोध गनहोस्, हाम्रो देशलाई फिर्ता ल्याउनुहोस् ।"
जिल्ला सरकारी वकिलको कार्यालयले भने, यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । रिपब्लिकन पार्टीका अमेरिकी सभामुख केभिन म्याकार्थीले यो अनुसन्धानको आलोचना गर्दै जिल्ला अधिवक्ताद्धारा शक्तिको अपमानजनक दुरुपयोग गरिएको भनेका छन् । बीबीसी