काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को तथ्यांकलाई आधिकारिक मान्ने हो भने बिहीबार नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १२ हजार समर्थक पुगेका थिए । तर, मैदानमा उपस्थित समर्थकको चाप हेर्ने हो भने क्यानको यो तथ्यांक गलत छ भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो । त्रिवि क्रिकेट मैदानको कम्पाउन्डभित्र जति समर्थक थिए, कम्पाउन्डबाहिर त्यतिकै ठूलो संख्यामा दर्शक थिए । समर्थकहरू बेलाबेला सुरक्षाकर्मीको घेरा तोडेर गेटभित्र छिर्न सफल भएका थिए । कम्पाउन्ड वरपर रहेका रुखहरूका हाँगासमेत खाली थिएनन् । दिनभर समर्थक रूखमा बसेर खेल हेरिरहेका थिए । नेपाली खेलाडीको हौसला बढाइरहेका थिए । अन्तिम बलसम्म पनि समर्थकले खेलाडीको साथ छाडेनन् ।
मैदानमा उपस्थित हजारौं समर्थकमात्र होइन सञ्चारमाध्यमबाट पछ्याइरहेका लाखौँ समर्थकलाई नेपाली टिमले पनि निराश हुन दिएन । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले यूएईलाई डकवर्थ लुइस पद्धतिमा ९ रनले हराउँदै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोटमा स्थान पक्का गर्यो ।
नेपाली टिमका लागि यो एक खेलमा जितमात्र थिएन । समर्थकका लागि यो जित ‘नेपालले यूएईलाई हरायो’ भन्ने शीर्षकमा मात्र सीमित पनि थिएन । यो नेपाली टिम र समर्थकका लागि एक गर्विलो क्षण थियो । नेपाली क्रिकेट इतिहासमा स्वर्ण अक्षरले लेखिने ‘अभूतपूर्व दिन’ पनि थियो । त्यही अभुतपूर्व दिनको प्रत्यक्ष साक्षी बस्न समर्थक कीर्तिपुरमा उर्लिएका थिए ।
आखिर भइदियो पनि त्यस्तै, २०७९ चैत २ गते बिहीबार नेपाली क्रिकेटका लागि अविश्मरणीय दिनका रुपमा दर्ज भयो । तर, पछिल्ला ११ मध्ये १० खेलमा जित हासिल गरेको नेपाली टिमलाई त्यो दिन जित सहज भएन । नेपाली कुनै पनि बलर प्रभावकारी नहुँदा घरेलु टिमले जितका लागि ३११ रनको विशाल लक्ष्य पाएको थियो । उक्त लक्ष्य पूरा गर्ने क्रममा नेपाली ब्याटिङ लाइनअप पनि पटक–पटक धर्मराएको थियो । तर, गुल्सनको छक्का र लगातारको तीन चौकाले नेपालको जित सुनिश्चित गरिदियो ।
यूएईको आलटाल र गुल्सनको अविजित इनिङ
टस जितेर ब्याटिङ थालेको यूएई सुरुआतदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको थियो । सुरुआतमा कप्तान मुहम्मद वसिम अर्धशतक र अन्तिममा आसिफ खानको विस्फोटक शतकमा यूएईले नेपालसामू ३१० रनको विशाल योगफल तयार पारेको थियो । ओपनर वसिमले ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रन बनाउँदा सातौं नम्बरमा ब्याटिङका लागि आएका आसिफले ४१ बलमा शतक पूरा गरेका थिए । १०१ रनमा अविजित रहेका आसिफको यो शतक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो छिटो शतक थियो । र, एसोसियट राष्ट्रका खेलाडीले बनाएको सबैभन्दा छिटो शतक । यूएईको विशाल योगफल बनाउन दुई ब्याटरलाई बृत्या अरविन्दले गज्जवको साथ दिए । पहिलो इनिङ्सको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच हुनुअघि अरविन्दले टिमको खातामा ९४ रन थपिसकेका थिए ।
५० ओभरमा जितका लागि नेपाललाई ३११ रन चाहिन्थ्यो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लक्ष्य पछ्याउने क्रममा नेपालले अहिलेसम्म ३०० रनको विन्दु पनि छुन सकेको थिएन । त्यसमाथि सुरुआतमै तीन विकेट गुमाएपछि रंगशाला वरपर जितको आशासहित उपस्थित हजारौं र सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण हेरिरहेका समर्थकको मुहारमा कालो बादल मडारिन थालेको थियो ।
नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाउँदा टिमको खातामा ३७ रनमात्र थियो । क्रिजको एक भागबाट लगातार विकेट गुम्दा अर्कोतर्फ जमिरहेका ओपनर कुशल भुर्तेलले समर्थकको आशलाई सहजै निराशमा परिणत हुन दिएनन् । नेपाली टिमको इनिङ्स सम्हाल्ने कुशलको यो प्रयासमा मध्यक्रमका ब्याटर भीम सार्कीले संयमीत साथ दिए । कुशल ५० रन जोडेर जुनैद सिद्दिकीको बलमा विकेटकिपर अश्वन्थ वाल्थापाबाट क्याच हुँदा नेपालले ९८ रन जोडिसकेको थियो । अब, क्रिजमा रहेका भीमलाई साथ दिन पुगे आरिफ शेख । ठूला प्रहार नखेल्ने तर मध्यक्रममा टिमको इनिङ सम्हाल्ने छवि बनाएका आरिफले यूएईविरुद्ध छविअनुरुपकै प्रदर्शन गरे । भीम ६७ रनमा आउट भए ।
भीम आउट हुँदासम्म नेपालको स्कोर १८१ रन थियो । यसपछि ब्याटिङमा आएका गुल्सन नेपालका लागि ‘म्याच विनर’ बने । मध्याह्न १२ बजेदेखि नै कालोमैलो बनेको आकाशबाट अपराह्न पाँच बजेपछि छिटपुट वर्षा हुन थालिसकेको थियो । सिमसिम पानी खस्न लाग्दासम्म नेपालले पाँच विकेट गुमाएर २०० रन कटाइसकेको थियो । अर्थात केही हदसम्म खेल नेपालको पक्षमा ढल्केको थियो ।
तर, पानी पर्न सुरु भएपछि ठूलो वर्षाको पखाईमा यूएईका खेलाडी बलिङ गर्न ढिलाई गरिरहेका थिए । वर्षासँगै दिन ढल्कँदै जाँदा खराब प्रकाशका कारण खेल पूरै ओभर सम्भव थिएन । त्यसकारण नेपाली खेलाडी चाँडो धेरै रन जोड्न चाहन्थे भने यूएई बलिङमा ढलाई गरिरहेको थियो ।
यूएईका खेलाडीहरू अम्पायरसँग दर्शकप्रति ‘शिकायत’ गर्नेदेखि जुत्ताको लेस बाध्ने, घाइते भएको बहानामा फिजियोलाई बारम्बार मैदानमा बोलाउने र बलैपिच्छे फिल्डिङमा परिवर्तन गर्नेजस्ता कार्यहरू गरिरहेका थिए ।
पानी छिट्याउन सुरु हुँदा नेपाल २२५–६ को अवस्थामा थियो । त्यसबेला खेल रद्द हुँदा नेपालले डीएलएस अनुसार झिनो अन्तरको हार्ने निश्चित थियो । डीएलएसमा अघि रहन नेपाललाई केही बाउन्ड्रीको आवश्यक थियो । सोही आवश्यकतालाई परिपूर्ति गर्न आरिफले ठूलो सट खेल्ने प्रयास गरे । तर, आरिफको प्रयास सफल हुन सकेन । उनी जहुर खानको बलमा अरविन्दको हातबाट क्याच भए । विकेट गएपछि डीएलएसमा नेपाल झनै पछि पर्यो । आरिफपछि क्रिजमा आएका दीपेन्द्रसिंह र गुल्सनको लामो सट खेल्ने प्रयास सफल बन्न सकिरहेको थिएन । त्यसबेलासम्म सिमसिम पानी पनि रोकिसकेको भए पनि मधुरो प्रकाशका कारण अम्पायरले कुनै पनि समयमा खेल अन्त्यको घोषणा गर्नसक्ने अवस्था थियो । मैदानमा उपस्थित सबै दर्शकको मुहार त्यसबेलाको आकाशजस्तै अँध्यारो थियो ।
तर, गुल्सनले ४२औं ओभरका लागि आएका यूएईका कप्तानको स्पेलमा आफ्नो वास्तविक क्षमता प्रस्तुत् गरे । उक्त ओभरको पहिलो बल डट हुँदा दोस्रो बलमा गुल्सनले दुई रन लिए । तेस्रो बलमा गुल्सनले छक्का हाने । केहिसमय अघिसम्म धुम्म परेका दर्शकको मुहार अब पानी परेपछिको आकाशजस्तै खुल्न लागे । त्यसपछि गुल्सनले बाँकी तीन बलमा लगातार चौका प्रहार गरे । त्यो ओभरमा मात्र नेपालले २० रन जोडन सफल भयो । र, डीएलएस लक्ष्यभन्दा टिमको स्कोरलाई अघि राख्यो ।
त्यसपछि ढिलाई गर्ने पालो नेपालको आयो । पवेलियनमा रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले रिजर्भ अम्पायर विनयकुमार झामाथि बारम्बार दबाब दिइराखेका हुन्थे । त्यस्तै प्रतिश जिशी एकै ओभरमा दुईतीन पटक पानी बोकेर क्रिजसम्म कुदेर पुग्थे । क्रिजका अम्पायरले उनलाई पटक पटक चेतावनी दिइसकेका थिए । तर, प्रतिश कुदेर क्रिजमा पुग्न छाडेका थिएनन् । नेपाललाई कुनै पनि हालतमा जित्नु थियो । त्यसैले डीएलएसमा अघि भएका कारण नेपाल ढिलाई गरिरहेको थियो । किनकी खराब प्रकाशले रोकियोस् भन्ने चाहना थियो । दिन धेरै ढल्किसकेको थियो ।
४३औँ ओभरमा नेपालले ६ रन र ४४औँ ओभरमा आठ रन जोड्यो । त्यसबेलासम्म नेपाल डिएलएस लक्ष्यभन्दा नौ रन अघि पुगिसकेको थियो । ४४औँ ओभरपछि क्रिजमा रहेका अम्पायरद्वय नेपालका बुद्दि प्रधान र श्रीलंकाका रविन्द्र विमलासिरीले खेल अघि बढाउन नसक्ने भन्दै विकेटमाथिको बेल झिक्दै खेल अन्त्यको इशारा गरे । यूएईका खेलाडीले असन्तुष्टि पोखिरहेका थिए । पवेलियनमा रहेका नेपाली खेलाडी खुसी मनाउँदै क्रिजमा पुगिसकेका थिए । नेपालले नौ रनको जित दर्ता गर्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोटमा स्थान पक्का गर्यो ।
नेपालको जितमा गुल्सनले ४२औँ ओभरमा २० रन जोड्नु नै खेलको ट्रनिङ प्वाइन्ट बन्यो । नेपाललाई जितसम्म डोेर्याउने क्रममा गुल्सन ५० रनमा अविजित रहे । १७ वर्षीय गुल्सनको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो अर्धशतक थियो ।
‘जादुगर देसाई’
लिग–२ को शीर्ष तीनमा रहनेक्रममा नेपालले अन्तिमका १२ खेलमध्ये ११ खेलको नतिजा आफ्नो पक्षमा पार्यो । नेपाली क्रिकेटको इतिहासमा यो अहिलेसम्मको उच्चतम लय थियो । र, यो लयका सारथी थिए जादूगर मोन्टी देसाई । देसाईले ३९ दिनअघि नेपाली टिमको प्रशिक्षण सम्हाल्दाको अवस्था हेर्ने हो भने उनको आगमन नेपाली क्रिकेट टिमका लागि कुनै ‘जादुगर’ को भन्दा कम छैन ।
त्यसबेला नेपाललाई एकदिवसीय मान्यता जोगाउन पनि १२ मध्ये नौ खेलमा जित आवश्यक थियो । तर, त्यसबेला नेपालले २४ खेल खेल्दा आठ खेलमा मात्र जितको अनुभव गरेको थियो । टिमको यस्तो खराव लयका कारण नेपाली समर्थक लिग–२ को शीर्ष तीनमा अटाउनु त परको कुरा एकदिवसीय मान्यता जोगिनेमा पनि शंका थियो ।
तर, देसाईले नेपाली टिममा जादूको छडी चलाए । उनको आगमनअघि र आगमनपछि नेपाली टिमको प्रदर्शनमा अहिले आकाश–पातालको फरक छ । सधैँ ‘ब्याटिङमा खराव प्रदर्शन’ शीर्षकसहित सम्प्रेषण हुने समाचारहरू अब ‘कीर्तिमानी लक्ष्य प्रस्तुत्’ र ‘कीर्तिमानी लक्ष्य भेट्टायो’ भन्ने शीर्षकमा परिणत हुन थाले । देसाई स्वयम्ले भने नेपाली टिमको यो प्रदर्शनलाई क्रिकेटप्रतिको ‘बेपरवाह माया’को नतिजा भएको बताएका थिए ।
बिहीबार खेलअघि आइतबार पनि नेपालले यूएईविरुद्ध १७७ रनको फराकिलो जित निकालेको थियो । उक्त खेलपछि टिमका खेलाडी, मैदान र समर्थक उही रहँदा नेपालको प्रदर्शन एकाएक उत्कृष्ट बनाउन के जादु गर्नुभयो ? भन्ने प्रश्नमा देसाईले क्रिकेटप्रतिको ‘बेपरवाह माया’ कारण यो सम्भव भएको प्रतिक्रिया दिएका थिए ।
“म जादूबारे बोल्न सक्छु जस्तो लाग्दैन । कुनै पनि चीजप्रतिको बेपरवाह माया निकै शक्तिशाली हुन्छ । र, यस्तो माया यो देशका क्रिकेट माया गर्ने हरेक व्यक्तिबाट आउँछ । बेपरवाह माया राम्रो कुरा र उद्देश्यका लागि ल्याउँदा सबैजना यसका लागि एकजुट हुन्छन् । र, उनीहरू आफैँ आफू के बन्न चाहने भन्नेबारे केन्द्रित हुन सुरू गर्छन् । व्यक्तिगत रुपमा र टिमको लागि । अहिलेलाई म यतिमात्र भन्न सक्छु, मेरो लागि यो क्रिकेटप्रतिको बेपरवाह मायाको नतिजा हो,” राष्ट्रिय टिममा भएको जादूबारे देसाईको प्रतिकृया यस्तो थियो ।
बिहीबारको जितपछि भावुक देखिएका देसाई खुसीको आँशु लुकाउन ठूलै कसरत गरिरहेका देखिन्थे । देसाईले विश्वकपको छनोटमा पुग्नु आफ्नो लागि ठूलो कुरा नभए पनि आफूमा खेलाडीको अनुभवलाई महसुस गर्ने चाहना रहेको बताए ।
“मलाई भन्दा खेलाडीहरूका लागि यो ठूलो कुरा हो । मैले फरक–फरक ड्रेसिङ रुमबाट विश्वकप पुग्नुको अनुभव लिइसकेको छु । अबको २४ वा ४८ घण्टा म आफूभन्दा पनि टिमका खेलाडीहरूलाई महसुस गर्न चाहन्छु । उनीहरू कस्तो महसुस गरिरहेका छन् जान्न चाहन्छु । र, अब विश्वकप छनोटको लागि हामीसँग स्पष्ट रणनीति छ,” जितपछि देसाईको भने ।
जिम्बाब्वेमा हुने छनोटमा स्थान बनाएपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेल पनि नतिजाको श्रेय प्रशिक्षक देसाईलाई दिन कञ्जुस गरेनन् ।
“१२ खेलअघि एकदिवसीय मान्यता जोगाउनु र विश्वकपको छनोट खेल्नु हाम्रो लागि सपनाजस्तै थियो । अहिले त्यो सपना पूरा भएको छ । यसको श्रेय सम्पूर्ण खेलाडीलाई जान्छ । १२ खेलका प्रत्येक खेलमा फरक–फरक खेलाडीले योगदान दिएका छन् । र, सबैभन्दा ठूलो श्रेय सर (मोन्टी देसाई)लाई जान्छ । सर आउनुभएदेखि नै हामीले लय समात्न सक्यौँ । र, अहिले जस्तो शान्त ड्रेसिङ रुम बनेको छ । यसको सम्पूर्ण श्रेय मोन्टी सरलाई जान्छ,” रोहितले भने ।