1679102625.jpg)
म्यान्ली रोमाञ्च
(नियात्रासंग्रह : तेजप्रकाश श्रेष्ठ)
साहित्यकार तेजप्रकाश श्रेष्ठ विभिन्न विधामा कलम चलाउँछन् । उनका थुप्रै कृति प्रकाशित छन् । कथा, उपन्यास, कविता, बालसाहित्यलगायत कृति ल्याइसकेका छन् ।
केही समयअघि प्रकाशित उनको नवीन नियात्राकृति हो, ‘म्यान्ली रोमाञ्च’ । यसभन्दा पहिले उनका आधा दर्जन नियात्राकृति प्रकाशित भइसकेका छन् ।
श्रेष्ठ आफ्नो भनाइमा लेख्छन्, “यो मेरो पहिलोपटकको अस्ट्रेलिया यात्रा हो । यसभन्दा पहिले अमेरिकाको यात्रा दुईपल्ट भोगिसकेको छु । त्यसका अतिरिक्त भारतबाहेक विश्व भ्रमणको अन्य अवसर पाइनसके पनि नेपालका कुनाकाप्चा चाहारेको छु । फलतः मेरा छओटा नियात्रात्मक कृतिहरू प्रकाशित भइसकेका छन् ।...।” (पृष्ठ — २६२)
उनका दुई दर्जनजति नियात्रा यसभित्र समावेश छ । कृतिमा साहित्यकार छविरमण सिलवालले ‘नियात्रासँगै इतिहासको सम्झना’ शीर्षकको आफ्नो मन्तव्यमा लेखेका छन्, “मैले उहाँका प्रायः सबै पुस्तकहरू पढ्ने अवसर पाएको छु । उहाँका सिर्जनाले हाम्रो समाजका विविध पक्षहरूलाई केलाएको पाइन्छ । उहाँ पनि यही समाजको एउटा सचेत नागरिक भएकोले उन्नत समाजको निर्माणमा एउटा सर्जकको भूमिका ठूलो रहने गर्दछ । यस मानेमा उहाँका सिर्जनाहरू निकै ओजपूर्ण रहेको पक्कै छ ।” (पृष्ठ — २६०)
कृतिभित्रको शीर्षक नियात्रामा नियात्राकार श्रेष्ठ लेख्छन्, “यात्रुहरूको भिडभाडसँगै हामी म्यान्ली बजार हुँदै अगाडि बढ्यौँ । रमणीय पर्यटकीय क्षेत्र रहेछ म्यान्ली बजार । चहलपहल राम्रै देखियो पर्यटकहरूको । बन्दरगाहको ठिकविपरीत दिशामा रहेछ म्यान्ली बिच अर्थात् पर्यटकहरूलाई लोभ्याउने समुद्री तट । आजको हाम्रो गन्तव्यस्थल ।” (पृष्ठ — ८४)
पाँचपोखरी प्रकाशन गृहद्वारा प्रकाशित २६४+४ पृष्ठको यस कृतिको मूल्य ३८५– रुपैयाँ राखिएको छ ।
०००
छाता
(लघुकथासंग्रह : शेखरकुमार श्रेष्ठ)
लघुकथाकार शेखरकुमार श्रेष्ठको नयाँ लघुकथाकृति हो, ‘छाता’ । यसभन्दा अगाडि उनका अरू कृतिहरू पनि प्रकाशित भइसकेका छन् । पहिलो लघुकथाकृति वि.सं. २०६० सालमा ल्याएका थिए । त्यसको करिब दुई दशक अवधि छिचोल्दा कृतिको संख्या एक दर्जन पुर्याइसकेका छन् ।
कृतिभित्र लता केसीले भूमिका लेखेकी छन्, “...भ्रष्ट चरित्रप्रति व्यंग्य, सिद्धान्त र नियमविपरीतको विद्रोह, मानवताविरोधी पाइलाहरूप्रति असन्तुष्टि, न्याय व्यवस्थाप्रति खबरदारी, सबै अवस्थाका मानिसहरूको मनोविज्ञान, विचार र दर्शनको प्रयोग— आदि विशेषताहरू बोकेर छाता लघुकथाकृति जन्मिएको छ भन्नुमा कुनै अपवाद नरहला ।”
कृतिभित्रको एउटा लघुकथामा शेखरकुमार लेख्छन्, “...‘त्यही त सूर्यको प्रकाश पृथ्वीमा ठोक्किएपछि नै त चन्द्रमा प्रतिविम्बित हुने हो,’ उनी अझ नजिकिएर भन्न थालिन्, ‘तापनि कति राम्रो छ, चन्द्रमाको प्रकाश हेर त ?’ मैले उनको चन्द्रमा प्रतिविम्बित नजर हेर्दै भनेँ ।” (पृष्ठ — १७)
सुसेली साहित्यिक प्रतिष्ठानद्वारा प्रकाशित १३२+४ पृष्ठको यस पुस्तकको मूल्य २२५– रुपैयाँ राखिएको छ ।
०००
यात्रा जिन्दगीको
(आत्मकथात्मक उपन्यास : महेशराज खरेल)
पछिल्लो समय महेशराज खरेल कविता लेखनमा क्रियाशील छन् । बैंकिङ सेवाबाट निवृत्त भएपछि साहित्य लेखनमा उनको सक्रियता बढ्दो छ । खरेलले संस्मरणात्मक निबन्ध लेखनमा पनि कलम चलाइरहेका छन् । यसै मेसोमा केही समयअघि प्रकाशित औपन्यासिककृति हो, ‘यात्रा जिन्दगीको’ ।
यस पुस्तकभित्र डा. गोविन्दराज भट्टराईले भूमिका लेखेका छन् । उनी लेख्छन्, “महेशको यो कृति पढिसक्ता यो मन करुणा र स्नेहले भरियो । यो कृति वर्तमानमा बसेर मृत्युहरूले छोपेको बेला स्मरण गरेको अतीत हो । ठाउँठाउँमा वर्तमान पनि जोडेका छन् । उनका सम्झनामा चढेर आफ्नो परिवार समाज आएका छन् ।”
प्रा. डा. यादवप्रकाश लामिछानेको भूमिकामा उल्लेख छ, “सिनामका घिवाला गोविन्द खरेलको प्रारम्भिक र उत्तरवर्ती जीवन तथा परिवारको स्थितिले आम रूपमा नेपालीले भोगेको जीवनको प्रतिच्छाया उतारिएको छ ।..।”
जीवनका आरोह–अवरोह प्रस्तुत गर्ने उपन्यासकार खरेलले पुस्तकमा आफ्नो भनाइ यसरी राखेका छन्, “सिंगो मानिसको जीवनमा एउटा कथा मात्र हुँदैन । उसले जीवनयात्रामा कथा मात्रै सुन्दैन, गीत पनि सुन्छ, आहान मात्र बुझ्दैन, श्लोक वा कविता पनि बुझ्छ । अर्थात्, उपन्यास सिंगो जीवनको प्रस्तुति हो भने सिंगो जीविनभित्र यावत् पक्ष अन्तरघुलित भएर बसेको हुन्छ ।”
पुस्तकको एउटा अंशमा उल्लेख छ— आमा पनि मझेरीमा मूल खाँबो समातेर रुन थाल्नुभयो । मैले बुवालाई हेरेँ, नमिठो फोस्रिएको अनुहार निबु निचोरिएको झैँ थियो । सहाराका निमित्त झुन्ड्याइएको डोरी देब्रे हातले समातेर दाहिने हातले आँसु पुछ्दै हुनुहुन्थ्यो । (पृष्ठ — ११३)
शब्द संयोजन मासिकले प्रकाशनमा ल्याएको ३४४+४ पृष्ठको यस कृतिको मूल्य ७५०– रुपैयाँ राखिएको छ ।
०००
जनैको डर
(निबन्धसंग्रह : शार्दूल भट्टराई)
साहित्यिकार शार्दूल भट्टराईको निबन्धकृति हो, ‘जनैको डर’ । ‘विचार, स्मृति र यात्रा’ उपशीर्षक दिइएको यस संग्रहमा उनका दुई दर्जन निबन्ध समेटिएको छ ।
मूलतः कवितामा कलम चलाउने शार्दूल नाटक पनि लेख्छन् । उनको नाटककै दुई कृति प्रकाशित छन् ।
शार्दूलको कृतिमाथि ब्लर्ब लेखिएको छ, “निबन्ध लेखनमा उनले सामाजिक जीवन र चरित्रलाई महत्त्व दिने गरेका छन् । विचारका कुरा हुन् वा यात्रा र अतीतको स्मृति, उनका निबन्ध समाजसँग जोडिएर प्रस्तुत भएका छन् । आफूले देखेभोगेका र सुनेपढेका समाजका अनेकन् घटना, चरित्र र चिन्तनलाई उनले विषयवस्तुका रूपमा उपयोग गरेका छन् ।”
शीर्ष निबन्ध ‘जनैको डर’मा उनले लेखेका छन्, “निधारमा मेटिँदै गएको पहेँलो–पहेँलो टीका छ । शरीरमा मोटो न मोटो जनै झुन्डिएको छ । कम्मरमुनि छोटो र मैलो कछाड छ । त्यसभन्दा तल र माथि वस्त्रको नाममा केही छैन । जाडोले कठ्यांग्रिएका ती मानिसलाई देखेर हामीलाई अलिकति दया पनि लाग्यो र डर पनि ।” (पृष्ठ — ५५)
भृकुटी एकेडेमिक पब्लिकेसन्सद्वारा प्रकाशित २४८+४ पृष्ठको यस कृतिको मूल्य ४९५– रुपैयाँ राखिएको छ ।