काठमाडौं । लघुवित्तबाट ऋण लिएका ऋणीहरूले पछिल्लो समय चरणबद्धरूपमा आन्दोलन गर्दै आएका छन् । लघुवित्तबाट ऋण लिएको र त्यो ऋण मिनाहा हुनुपर्यो भन्दै ‘लघुवित्तीय संस्थाहरूको ज्यादतीविरूद्ध देशव्यापी विरोध प्रदर्शन’ अभियान नै चलाएका छन् । उनीहरू अहिले देशव्यापी रूपमा दौडिरहेका छन् । उनीहरूको माग छ, ‘लघुवित्त खारेज’, ‘ऋण मिनाहा’ तथा ‘बिनाब्याज ऋण’ ।
मंगलबार (फागुन ३० गते) काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शन मा सयौँ ऋणीको सहभागिता थियो । उक्त आन्दोलनमा दुधे बालक बोकेर महिलाहरू सहभागी भएका थिए । उनीहरूको भनाइ थियो– लघुवित्तले हामीलाई घरबारविहीन बनायो ।
आन्दोलनमा सहभागीले आफूहरु स्वयंको सक्रियतामा आएको बताए । लघुवित्तले जति ऋण चाहिए पनि दिने अनि ऋण असुल्न जुनसुकै तहको काम गर्न थालेको उनीहरूको अनुभव छ ।
मासिक किस्ता तिर्न नसकेपछि आन्दोलनको विकल्प नभएको नवलपरासीकी बबिता कायतले बताइन् । उनी काठमाडौंमा भएको यो आन्दोलनमा ऋण लिएर सहभागी भएको बताउँछिन् । नवलपरासीबाट काठमाडौं आउन एक हजार ५०० रुपैयाँ लाग्ने कायतले बताइन् । उनले काठमाडौं आउन र घर फर्कन ऋण लिएर आएको बताइन् ।
“हामीलाई मणिराम ज्ञवाली सरहरूले ऋण मिनाहा हुन्छ, बोलाएको समयमा आन्दोलनमा सहभागी हुनु भन्नुभएको छ । हामी त्यही भएर ऋण काडेर भए पनि आन्दोलनमा सहभागी भएका छौँ,” उनले भनिन्, “मैले तीनवटा लघुवित्तबाट ऋण लिएकी छु । त्यो ऋणको किस्ता मासिक २५ हजार तिर्नुपर्छ । आम्दानीको बाटो छैन । केराखेती गर्न भनेर सुरूमा लघुवित्तबाट ऋण लिएको हो । केरा महिनैपिच्छे फल्दैन । त्यसको पनि अवधि हुन्छ । लघुवित्तबाट लिएको ऋण तिर्न अर्को लघुवित्त वा साहुसँग ऋण काड्नुपर्ने बाध्यता छ ।”
त्यसैगरी दाङबाट सहभागी भएका पूर्णप्रताप डीसी पनि आन्दोलनमा आउन पाँच हजार ऋण लिएको बताउँछन् । लघुवित्तकै कारण सात लाख रूपैयाँ ऋण भएको पनि उनले सुनाए । यो आन्दोलनमा सहभागी भए उनको ऋण मिनाहा हुन्छ भन्ने उनलाई विश्वास छ ।
“यो आन्दोलनमा कसैले पनि पैसा दिएर सहभागी छैनन् । ऋण तिर्न नसकेकाहरू नै सहभागी छन् । म पनि ऋण लिएर काठमाडौं आएको हो,” उनले भने, “अरू साथीहरू पनि कुखुरा र बाख्रा बेचेर आन्दोलनमा सहभागी भएका छन् । हामीले लिएको ऋण मिनाहा हुनुपर्छ । हाम्रो माग यही हो ।”
लघुवित्तको ऋण एकदमै महँगो भएको आन्दोलनमा सहभागी लघुवित्त पीडित संघर्ष समितिकी केन्द्रीय सचिव शुशिला थापाले बताइन् । यसले गर्दा यो आन्दोलन झन्–झन् चर्किएको उनको भनाइ छ ।
“एउटा संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएपछि दुई वर्षमा हामीले दुई लाखभन्दा बढी तिर्नुपर्ने बाध्यता छ । लघुवित्तबाट एक लाख ऋण लियो भने त्यसमा १५ हजार रूपैयाँ लघुवित्तले नै काट्ने गरेको छ,” उनले भनिन्, “त्यो पैसा बचतमा र बीमामा जान्छ भन्छन् । किस्ता सकिँदा हाम्रो त्यो पैसा फिर्ता आउँदैन । त्यसैगरी हामीले ऋणको किस्ता एक वर्षमा १३ महिनाको तिर्नुपर्छ । यो अन्याय हो ।”
त्यस्तै, समूहमा मासिक ५०० रुपैयाँ बचत भनेर जम्मा गरेको पैसा पनि लघुवित्तले फिर्ता नदिने गरेको उनको भनाइ छ । अब यस्तो बेथिति सहेर महिला नबस्ने उनले बताइन् ।
“महिला दिदी बहिनीहरू लघुवित्तको विरूद्धमा बोल्न नसकेर बसेको अवस्था थियो । लघुवित्तहरूले जे–जे गरे पनि सहनुपर्ने अवस्था थियो । तर, अब हामी उनीहरूको आवाज बोल्छौं । १५ प्रतिशत ब्याज भनेर ४० प्रतिशतभन्दा बढी ब्याज लघुवित्तले लिएका छन् । यसको अनुगमन हुनुपर्छ,” उनले भनिन्, “लघुवित्तका कारण धेरै दिदी बहिनीले आत्महत्या गरेका छन् । यसको पनि अनुसन्धान हुनुपर्छ । घरायसी झगडाले आत्महत्या गरिएको भन्ने रिपोर्ट बनाइन्छ । तर, त्यो सत्य हैन । यथार्थ लघुवित्तको ऋण तिर्न नसकेर कतिपयले आत्महत्या रोजेका छन् । लघुवित्तले गाउँगाउँमा गरिबी बढाएको छ ।”
त्यस्तै, लघुवित्त पीडित संघर्ष समितिकी उपाध्यक्ष विष्णु बुढाथोकीले पनि लघुवित्तको लापरवाहीले नै महिलाहरू आत्महत्या गर्न बाध्य भएको बताइन् । लघुवित्तले घरघरमा गएर ऋण लिन बाध्य पारेको उनको भनाइ छ ।
“दुःख पाएका दिदी बहिनीहरूलाई घरघरमा पैसा देखाएर ऋण भिडाउने लघुवित्त अपराधी हुन् । पैसा देखेपछि सबैलाई लोभ लाग्छ,” उनले प्रश्न गरिन्, “ऋण दिएकै दिनदेखि ब्याज लाग्ने अनि केही उद्यम नभएका महिलाले कसरी ऋण तिर्ने ? लघुवित्त पोस्न मिटरब्याजीलाई गुहार्न जानुपर्ने हो ? सरकार के हेर्दै छ ?”
सरकारले उद्यमीलाई प्राथमिकता नदिएको पनि बुढाथोकीको भनाइ छ । सरकारले अहिले बिचौलियाको संरक्षण गरेको उनले आरोप लगाइन् ।
नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस मसान्तसम्म ६४ लघुवित्त संस्थाबाट ३२ लाख ६० हजारले ऋण लिएका छन् । त्यस्तै, लघुवित्तका सदस्य संस्था ५९ लाख ८८ हजार पुगेका छन् ।