site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गभर्नरको सन्देश– ब्याजदर घट्न सक्छ ! आर्थिक गतिविधिमा सुस्तता नआएको निष्कर्ष 

काठमाडौं । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा देशका कार्यकारी प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै थिए । 

तर, महासंघको साधारणसभामा भाग लिन आएका उद्योगी व्यवसायीलाई भने प्रधानमन्त्रीको भाषणभन्दा २ घण्टापछि गभर्नर महाप्रसाद अधिकारीले आयोजना गर्ने पत्रकार सम्मेलनको चासो थियो ।

कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्रीले व्यवसायीको भेलामा गर्ने सम्बोधनभन्दा गभर्नर अधिकारीले गर्ने पत्रकार सम्मेलनमा हुने घोषणामा उनीहरूलाई राहत हुने आशा थियो । 

पत्रकार सम्मेलन हुने जानकारी पाएका व्यवसायीले साधारणसभामा उपस्थित पत्रकारहरुलाई ‘नयाँ के आउँदैछ छ’ भनेर प्रश्न राखेका थिए । 

तर, गभर्नर अधिकारीले नीतिगत निर्णय केही गरेनन् । राष्ट्र बैंकले नियमित प्रकाशन गर्दै आएको देशको वर्तमान आर्थिक अवस्थाको बारेमा जानकारी दिइएको थियो । 

कार्यक्रममा ८ महिनाको तथ्यांक प्रस्तुत गर्दै विभागका प्रमुख डा. प्रकाश श्रेष्ठले अहिलेको अर्थतन्त्रमा देखिएको समस्यामा ब्याजदरमात्र प्रमुख कारण नभएको बताए । 

उनले पछिल्लो समयमा शोधनान्तर बचतमा गएको चालु खाता घाटा घट्दै गएको र विदेशी सञ्चिति बढेको भन्दै बाह्य क्षेत्रमा सुधार भएको जानकारी दिए । 

कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय सबैको चासो ब्याजदरमा भएको भए पनि बैंकले पाउने ब्याज सीमित भएको बताए । 

बैंकको ब्याजदर बढे त्यसको फाइदा डिपोजिटरलाई भएको पनि बताए ।  ब्याजदरकै कारणले अहिलेको आर्थिक क्रियाकलापमा कमी नआएको उनले बताए ।

“ब्याजदर जति बढे पनि त्यसको फाइदा डिपोजिटरलाई हुने हो । बैंकले पाउने भनेको त राष्ट्र बैंकले छुट्याएको स्प्रेड दर नै हो । हामीले निक्षेपमा दिने ब्याजदर र कर्जामा दिने ब्याजदरको अन्तर ४.४ प्रतिशत तोकेका छौं,” उनले भने, “ब्याजदर जति बढे पनि बैंकहरूले पाउने ४.४  प्रतिशत मात्र हो । ब्याजदर घट्यो भने ऋणीले सहजता पाउने हो ।”

गभर्नर अधिकारीले अहिले बैंकको ब्याजदरले भन्दा अर्थतन्त्रमा पहिले नै परेको प्रभावले नछोडेको बताए । 

अहिले बैंकहरूमा पैसा भए पनि अवश्यकता हेरेर र दीगोपन हेरेर कर्जा प्रवाह गरेकाले पनि सहजै ऋण नपाउने अवस्था सृजना भएको बताए । 

कतिपयले ऋण लिएर नतिर्ने अनि आन्दोलन गर्ने गरेकाले त्यसलाई पनि बैंकहरूले नियालेको बताए । जोखिमलाई हेरेर पनि बैंकहरूले कर्जा प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

लघुवित्तहरूलाई राष्ट्र बैंकले कडाई गर्नुको पछाडि संस्थाको स्थायित्वका लागि भएको उनले बताए । 

लघुवित्तका लगानीकर्ताले अहिले नाफाको लाभांश लिने र संस्थालाई पछि जोखिममा पर्ने सम्भावना भएकाले सीमा तोक्नु परेको उनले बताए ।

ऋण लिएपछि सबैले तिर्नुपर्ने भन्दै गभर्नर अधिकारीले त्यसको पनि राष्ट्र बैंकले नजिकबाट नियालिरहेको र आवश्यक कारबाहीका लागि पहल पनि भएको बताए ।

पत्रकार सम्मेलनमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्र प्रस्तुत गर्दै अहिले देशको आर्थिक अवस्था सन्तुलन रहेको तथ्यांक देखाएका थिए । 

बैंकको ब्याजदर पनि बाहिर प्रचार गरेजस्तो बैंकमा तरलता असहज नभएको पनि बताइरहेका थिए । यता व्यवसायीहरू भने बैंकबाट ऋण पाउँन पनि पालो कुर्नुपरेको आपसमा कुरा गरिरहेका थिए ।

त्यस्तै कर्जाको ब्याजदर पनि अहिले बढ्न छोडेको श्रेष्ठले बताएका छन् । गत वर्ष साढे दुई खर्ब रुपैयाँ वस्तु तथा सेवा आयातमा गएकोले बजारमा पैसा अभाव रहेको पनि जानकारी दिए । त्यस्तै अहिले भने बजारमा तरलता सहज भएको उनले जानकारी दिए । 

सारमा आकस्मिक रुपमा गरिएको पत्रकार सम्मेलनले गभर्नर अधिकारीले ब्याजदर वृद्धिले समस्या नआएको बताए । आगामी दिन ब्याजदर घट्ने सन्देश दिए । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro