site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
समिट अपार्टमेन्ट प्रकरण– सामान निकाल्न पनि पाएनन् छिमेकीले 

काठमाडौं । ललितपुरको कुपण्डोल हाइटमा निर्माणाधीन समिट रेसिडेन्सी (अपार्टमेन्ट)का कारण छिमेकीको घर नै भत्किएको छ ।

ललितपुर–१ मा रहेको समिट होटललाई भत्काएर समिट रेसिडेन्सी बनाउन लागिएको हो । उक्त अपार्टमेन्ट बनाउन जग खन्दा त्यस वरिपरीका घरमा बसोबास गर्ने स्थानीय भागाभागको स्थितिमा पुगेका छन् ।

शुक्रबार राति स्थानीय पवित्रा विष्टको घर जनिनमुनि भासिएको थियो ।  उनका अनुसार पहिलेदेखि नै भुइँमा राखिएका इटा भाँचिन थालेका थिए । 

Argakhachi Cement Island Ad

निर्माणमा खटिएका कर्मचारीलाई यो विषयमा कुरा गर्दा केही नहुने र सानोतिनो समस्या आए पनि त्यसलाई ‘रेट्रोफिटिङ’ गरिदिने भन्दै आएका थिए । त्यसका लागि एक साताको समय मागेका थिए ।

summit91681134399.JPG

तर त्यसरी समय मागेको दुई दिनमा नै घर जमिनमुनि भासिएको उनी बताउँछिन् । 

“यो घर मैले भाडामा दिएको थिएँ । म अर्काे घरमा बस्दै आएकी छु । घरको पछाडि राति काम गर्दा घर हल्लिने भाडामा बस्नेले जानकारी दिएपछि मैले निर्माण कम्पनीका कर्मचारीलाई घरमा प्रभाव पर्ने गरी काम नगर्नुस् भनेर पहिले नै भनेकी थिएँ,” उनले भनिन्, “मेरो देवरको घर पहिलेदेखि नै चर्किएको रहेछ । उहाँले काम रोक्न महानगरमा उजुरी पनि दिनु भएको रहेछ । तर, काम रोकिएन । अहिले मेरो घरको यस्तो अवस्था भयो । यसको क्षतिपूर्ति कसले दिन्छ ?”

अपार्टमेन्टको जग खन्दा तीनवटा घर पूर्ण रूपमा काम नलाग्ने भएका छन् । 

summit71681134398.JPG

यी घरहरू जमिनबाट दुईतला तल भासिएका छन् । ती घरहरूमा जान सक्ने अवस्था छैन । त्यस वरिपरिका अन्य घर पनि चर्किन थालेका छन् । 

एउटा व्यापारिक प्रयोजनका लागि निर्माण गर्न लागिएको यो अपार्टमेन्ट निर्माताको लापरवाहीका कारण वरिपरीका घरहरू प्रभावित भएका हुन् ।

अपार्टमेन्ट कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरी र व्यवसायी हरिभक्त श्रेष्ठको लगानीमा बन्न लागेको हो ।

महानगरमा नक्सा पासको विवरण बुझाइएन

कुनै पनि स्थानीय तहमा घर बनाउनुभन्दा पहिले नक्सा पास गर्नुपर्छ । 

तर, यो समिट रेसिडेन्सीको भने नक्सा पास नगराइएको पाइएको ललितपुर महानगरपालिकाका सूचना अधिकारी तथा सामाजिक विकास शाखा प्रमुख देवप्रसाद गुरागाईंले बताए । 

स्थानीयले महानगरमा उजुरी दिएपछि महानगरले पहल गरेर जग खन्न स्थगित गरेको उनले बताए ।

summit81681134398.JPG

“अहिले घरहरू भत्किएको कुरा आएको छ । समस्या समाधान गर्नका लागि एक करोड रुपैयाँको द्रुत राहत कोष स्थापना गरिएको छ । प्रभावित स्थानीयको समस्या तत्काल समाधान सम्बोधन गर्न उपमेयरज्यूको संयोजकत्वमा सर्वपक्षीय समिति पनि गठन गरिएको छ,” उनले भने, “यो समितिमा वडा नं. १ र २ का वडाअध्यक्ष ज्यू, प्रभावित स्थानीय, ललितपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत, ललितपुर महानगरपापिलकाका प्रवक्ता र प्रभावित व्यक्तिहरूको पक्षबाट तीन जना समेटिएको छ ।”

तर, अब प्रारम्भिक कामहरू सम्पन्न नगरेसम्म काम अगाडि बढाउन नदिने गुरागाईंले बताए । 

उनका अनुसार समिट रेसिडेन्सीले नक्सा पास र वातावरणीय प्रभाव मूल्यांकनसहितको प्रगति विवरण पनि बुझाउन भनिएको उनले बताए ।

समिट होटलले भने प्रेस विज्ञप्ति जारी गर्दै उक्त भवनको नक्सा पास प्रक्रिया काठमाडौं विकास प्राधिकरणबाट अगाडि बढाइएको जानकारी दिएको छ । 

summit51681134397.JPG

यसको सम्पूर्ण विवरण ललितपुर महानगरपालिकालाई बुझाउने पनि जानकारी दिइएको छ । 

स्थानीयवासी, निर्माण कम्पनी र जनप्रतिनिधिको उपस्थितिमा सहमति भएकाले सोहीअनुसार काम अगाडि बढ्ने पनि बताइएको छ ।

विष्टले समिट होटलमा गुनासो गरेपछि प्राविधिक भन्दै एक व्यक्ति आउने र घर केही नहुने आफू इन्जिनियर भएको भन्दै जाने गरेको हाल भत्किएको घरमा सञ्चालित ‘अलादिन एड सोलुसन्स’का चिफ अप्रेटिङ अफिसर सचिन पाण्डे बताउँछन् । 

summit61681134397.JPG

उनका अनुसार पछि त्यो व्यक्ति इन्जिनियर नभएर अकाउन्टेन्ट भएको खुलेको पनि उनले जानकारी दिए ।

आफूले अफिसको केही पनि सामान झिक्न नपाएको उनले बताए । “अहिले अफिस भएको घर नै भत्किएको छ । यहाँबाट केही निकाल्न सकिएको अवस्था छैन । साढे दुई लाख रुपैयाँ पर्ने चारवटा ल्यापटप छन् । त्यसका साथै क्यामरा पनि त्यहीँ छन् । साढे २ तलाको घर हो,” उनले भने, “मेरो अफिसको क्षति भएको कसले व्यहोर्छ । भौतिक क्षति घर त देखिएला तर मेरो अफिसको सबै कागजपत्र त्यहीँ अड्किएको छ । जान सक्ने अवस्था छैन । दुई तला भासिएको छ ।”

summit31681134395.JPG

स्थानीयसँग १२ बुँदे सहमति

यसैबीच प्रभावित व्यक्तिहरुको समस्या तत्काल समाधान गर्नका लागि ललितपुर महानगरका उपप्रमुखको नेतृत्त्वमा अधिकार सम्पन्न समिति बनेको छ ।

summit21681134394.JPG

सहमतिअनुसार समस्या सम्बोधन गर्न तत्काल एक करोडको ‘र्यापिड रिलिफ फन्ड’को स्थापना गर्ने, कोषमा आवश्यकताअनुसारको खर्च व्यवस्थापकबाट थप गर्दै जाने सहमति भएको छ ।

summit11681134394.JPG

थप क्षति हुन नदिने सुनिश्चिततासहित आवश्यक काम कारबाही तत्काल व्यवस्थापनले अघि बढाउने र महानगरपालिकाबाट नक्सा पास स्वीकृत नगराई निर्माण कार्य गरेको देखिएको विषयमा महानगरपालिकाले सम्बन्धित पक्षलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने सहमति भएको छ ।

तस्बिर : सुनिल प्रधान
 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्