काठमाडौं । विश्व चर्चित म्यागेजिन फोर्ब्सको प्रभावशाली महिलाको सूचीमा पर्नु सामान्य विषय होइन । केही वर्षदेखि नेपाली युवाहरुले फरक, नयाँ कामहरू गरेर त्यो सूचीमा नाम लेखाइरहेका छन् । ‘द फोर्ब्स थर्टी अन्डर थर्टी अर्थात ३० वर्षमुनिका ३० जना नर्थ अमेरिका २०२२’ मा प्रभावशाली युवाहरूको सूचीमा नेपालकी लिजिल वैद्य पनि छानिएकी छन् ।
लिजिल र उनको व्यावसायिक पार्टनर म्याडिसन क्याम्पबेल (लिडा हेल्थ)को लागि छानिएका हुन् । उनीहरूले सन् २०१९ मा संयुक्त राज्य अमेरिकामा यौन दुर्व्यवहार, यौन हिंसामा परेका पीडितहरुको लागि सहयोग पुग्ने टेक्नोलोजी विकास गरी उपकरण निर्माण गरेका हुन् । जुन कम्पनीले यौन दुर्व्यवहारबाट बचेकाहरूलाई अझ राम्रो तरिकाले सेवा प्रदान गर्न पुनः डिजाइन उपकरणहरू निर्माण गर्दछ । संयुक्त राज्य अमेरिकामा यौन दुर्व्यवहारको बारेमा सामना गर्नुपरेका केही चिन्ताजनक तथ्याङ्कहरूको अध्ययनपछि न्युयोर्कमा लिडा हेल्थको स्थापना गरे ।
आम नेपाली विद्यार्थी जस्तै उच्च शिक्षा हासिल गर्ने सपना बुनेर अमेरिका उडेकी हुन्, काठमाडौंकी लिजिल वैद्य ।
लिजिल अमेरिका उड्दासम्म त्यहाँ गएर कुन विषय पढ्ने भन्ने सोच बनाएकी थिइनन् । तर उनले पढाइ सकेसँगै टेक्नोलोजीमा करियर सुरुमात्रै गरिनन्, अरूलाई रोजगारी दिँदै विश्वमै पहिलोपटक यौन हिंसा तथा दुर्व्यवहारमा परेकाहरूको लागि एप्स र किट्सको निर्माण गरिन् । जुन विश्वकै लागि नयाँ प्रयोग पनि थियो । नेपाली युवाले आफ्नै कम्पनी स्थापना गरेर बेग्लै पहिचान बनाउनु अरू युवाहरूको लागि पनि प्रेरणा हुन सक्छ ।
साहित्यको माहोलमा बाल्यकाल
जर्मन नाम लिजिल, जसलार्ई एलिजाबेथको अर्को नामको रुपमा पनि लिइन्छ । लिजिलकी आमा जेनीले सोही नाम गरेको एक जना परीजस्तै बच्ची भेटेदेखि आफ्नो छोरीको नाम पनि लिजिल नै राख्ने सोचिसकेकी थिइन् । जतिबेला जेनीको उमेर १० वर्षको मात्रै थियो ।
आमाबुबा दुवै व्यस्त भएकोले लिजिलको बाल्यकालको प्रायः समय मामाघरको हजुरबुबा, हजुरआमासँग बिते । लिजिलको हजुरबुबा नेपाल भाषाका वरिष्ठ साहित्यकार तथा नेपाली लोककथा, दन्त्य कथाका सङ्कलक केशरलाल श्रेष्ठ हुन् ।
श्रेष्ठका कृतिहरू हिब्रु, जापानिज भाषामासमेत अनुदित छन् । लिजिल उनका हजुरबुबाका कृतिहरू पढ्दै, सुन्दै हुर्केकी हुन् । लिजिलको घर र हजुरबुबाको घर नजिकै थियो । स्कुल बसमा लाने र पुर्याउने काम बाजेकै थियो ।
राति सुत्न मात्रै घर जाने लिजिललाई पछि होस्टेलमै राखियो । हजुरबुबाले हरेक दिन लोककथाहरू, दन्त्यकथाहरू सुनाउने, नेपाल भाषाका कथा, कविताहरू पनि खुबै सुनाउँथे । साहित्यको माहोलमा हुर्केकोले पनि होला, उनी पनि कथा, कविताहरू लेख्थिन् । सिर्जनात्मक कुरामा रुचि राख्ने उनी उत्कृष्ट विद्यार्थी थिइन् । पढाइ, खेलकुद, आर्ट, साहित्य, सङ्गीत सबैमा उनी अब्बल थिइन् ।
स्कुले जीवनदेखि नै केही फरक काम गरौँ भन्ने उनमा लागि रहन्थ्यो । सबै साथीहरूले भविष्यमा डाक्टर बन्छु भन्थे । तर, उनलाई कहिले पनि डाक्टर बन्छु भन्न मन लागेन । सबै डाक्टर बन्ने भए म किन डाक्टर बन्ने ? उनमा मनमनै म फरक बन्छु, लिजिल वैद्य भनेर संसारलाई चिनाउँछु भन्ने इच्छा थियो । उनको बाल्यकालको सपना अहिले पूरा पनि भएको छ ।
बुबाको कन्स्ट्रक्सन कम्पनी थियो, सानैदेखि बुबाले बिदाहरूमा लिजिललाई पनि आफ्नो कन्स्ट्रक्सन साइडहरूमा लैजाने । त्यहाँ जाँदाजाँदै लिजिललाई आर्किटेक्ट बन्ने मोह जाग्यो । त्यसपछि उनको भविष्यको लक्ष्य आर्किटेक्ट बन्ने भयो । भवनहरू त धेरै बन्छन्, तर भवन निर्माणमा क्रियटिभ काम गर्छु भन्ने सोच्थिन् ।
सानैदेखि पियानो, भ्याइलिन, बाँसुरी सिकेकी हुन् । अरूलाई टिप्न धेरै समय लाग्ने धुनहरू, रागहरू उनी भने एकैपटक टिपी हाल्ने । आर्टमा पनि उनको राम्रो दक्खल थियो ।
साथै, साहित्य रचनातिर पनि उनको लगाव थियो । उनले कथा, कविता, निबन्धहरू लेख्ने र प्रकाशित गर्ने पनि गर्थिन् । उनलाई अहिले लाग्छ, उनको पढाइ राम्रो भएकोमा र कामप्रतिको लगाव सानैदेखि साहित्य, कला र सङ्गीतप्रतिको झुकावको परिणाम लाग्छ । यी कुराले एकाग्र बनाउने हुँदा सफल हुन सहयोग गर्छ ।
हजुरबुबा यतिसम्बन्धी खोजी, अनुसन्धानमा लागेका थिए । त्यसको लागि समय समयमा विभिन्न स्थानमा पदयात्राहरू जाँदा लिजिल पनि सहभागी हुन्थिन् । सन् २००५ मा सबैभन्दा कान्छो टोलीका सदस्यको रुपमा १० वर्षकै उमेरमा लिजिलले लुक्लामा स्वास्थ्य शिविर र स्याङ्बोचेको सबैभन्दा अग्लो होटेलमा रोटरी मिटिङमा स्वयंसेवकको रूपमा काम गरेका थिए ।
अमेरिकाको यात्रा
साथीहरू जस्तै लिजिल पनि उच्च शिक्षाको लागि अमेरिका जान चाहन्थिन् । एसएलसीपछि उनको यात्रामा दुई वर्ष ब्रेक लाग्यो ।
एक वर्ष हजुरबुबा र हजुरआमा बिरामी भएर हस्पिटलमा राख्नु परेको हुँदा उनी नेपालमै रहेर बिरामी स्याहार्नु पर्यो । त्यतिबेला लिजिलका प्राय साथीहरूले स्नातकको पढाइ सुरु गरी सकेको थियो । तर घर, परिवार र समयलाई बुझेकी लिजिललाई त्यही एक वर्ष घर र बिरामी स्याहार्दा आफू परिपक्व हुँदै गएको महसुस भयो । केही समयको अन्तरालमा हजुरआमा र हजुरबुबाको निधन भयो ।
त्यसपछि, बल्ल उनले आफ्नो उच्च शिक्षाको लागि अमेरिका जाने सोचिन् । अमेरिका उड्दासम्म पनि उनले के पढ्ने, के गर्ने कुनै प्लान बनाएकी थिइनन् । तर, टेक्नोलोजी अलि बढी मन परेको विषय भएकोले बफेलो युनिभर्सिटीमा टेक्नोलोजी पढिन् ।
न्यूयोर्क भए पनि न्यूयोर्क सिटीभन्दा धेरै टाढा सो युनिभर्सिटीमा अन्तर्राष्ट्रिय विद्याथीहरु धेरै थिए । त्यसमा पनि नेपालीहरू पनि धेरै नै थिए । कम्प्युटर साइन्समा कोडिङ पढेकी उनलाई कलेजपछि बसेर कोड गरी राख्न मन लागेन । त्यहीकारण उनी न्यूयोर्क सिटी लागिन् । न्यूयोर्क सिटीको मुख्य विशेषता भनेकै सबै क्षेत्रको मान्छे, संस्कृति, भाषा, खानाहरू सबै सहज हुनु हो ।
म्याडिसन क्याम्पबेलसँगको भेट र टर्निंङ प्वाइन्ट
लिजिलको म्याडिसनको भेट नै टर्निंग प्वाइन्ट बन्यो । सुरुमा म्याडिसनको प्रोजेक्टमा प्रोजेक्ट म्यानेजरको रूपमा उनले काम गर्ने थालिन् ।
नाइजेरियाको इन्जिनियहरुलाई प्रोजेक्टहरू दिइने प्रोजेक्ट थियो । त्यहाँ लगभग पाँच महिनाको कामपछि नै उनीहरू आफैँ केही गरौँ भनेर विभिन्न चरणमा छलफलमा जुटे । पढाइ सकेको ६ महिनाभित्रै बिजनेसको अवधारणामा उनीहरू जुटे ।
लिजिलले नेपालमा क्याप नेपालमा स्वयंसेवकका रूपमा काम गरेकी थिइन् । त्यहाँ हिंसामा परेका महिलाहरूको उदार कार्यमा पनि सहभागी हुने लिजिललाई महिलाहरूमा हुने हिंसाले भित्रैदेखि सताएको थियो ।
कतिपय घटनाहरू समयको अन्तराल, लोकलाजको डरले लुकाएर वा जनचेतनाको अभावले यौन हिंसा बाहिर आउँदैन र आए पनि प्रमाणहरू नहुँदा त्यो घटनाहरू त्यतिकै हराउँछन् । यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने थियो तर के गर्ने उनले सोचेकै थिइनन् । उनले आफ्नो बिजनेस पार्टनरलाई आफूहरूले पढेको टेक्नोलोजी र डिजाइनको माध्यमबाट केही नयाँ काम गर्ने प्रस्ताव राखिन् । त्यो प्रस्ताव स्वयंमा निकै चुनौतीपर्ण र नौलो विषय पनि थियो । त्यसपछि नै उनीहरू यसको लागि लागिपरे ।
लिजिल मानवताको भलाइको लागि उत्पादनहरू निर्माण गर्नमा केन्द्रित छिन् । आधारित फोरेन्सिक क्याप्चर हार्डवेयर र सफ्टवेयर समाधानबाट सुरु गरेर आपराधिक न्याय प्रणालीमा क्रान्ति ल्याउने अभियानमा छिन् उनी । मूलतः काठमाडौं, नेपालकी उनी एक नव प्रवर्तक हुन्, जसले यौन दुर्व्यवहारलाई समग्र स्तरमा हेर्ने तरिकामा क्रान्ति ल्याउने आशा गरेकी छन् ।
बफेलो विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा स्नातकको डिग्री प्राप्त गरेकी उनलाई यौन हिंसाका समस्याहरू जस्तै समस्याहरू समाधान गर्न टेक्नोलोजी डिजाइन र निर्माण सुरु गर्न आवश्यक सबै उपकरणहरू बनाउन थालिन् । लिडा हेल्थको सुरुआतमा उनीहरूले मी टू किट्स कम्पनीको नामबाट सञ्चालन गरेका थिए । तर मी टू मुभमेन्टसँग लिंक भएकोले कम्पनीको नाम लिडा हेल्थ राखेका हुन् ।
मी टू मुभमेन्टले जन्मेको अवधारणा
मी टू अर्थात् म पनि । म पनि यौन हिंसाको सिकार भएकी छु । हलिउडबाट उदाएको यो ह्यासट्याग अभियान मी टूको मूल भाव यही थियो । सन् २००६ मा अफ्रो–अमेरिकी तराना बर्कले यौन हिंसापीडितहरूलाई आवाज उठाउन प्रेरित गर्न र उनीहरू एक्ला छैनन् भन्ने महसुस गराउन यो शब्दको प्रयोग गरेकी थिइन् । उनको मी टू शब्दले एक दशकपछि विश्वव्यापीरूपमा यति धेरै चर्चा बटुल्छ भनेर सायदै तरानाले सोचेकी पनि थिइनन् होला ।
सन् २०१७ अक्टोबरमा हलिउड निर्माता हार्वी वाइन्स्टाइनमाथि ५० भन्दा बढी महिलाहरूले लगाएको यौन उत्पीडनसम्बन्धी आरोपले इतिहासमा लुकिसकेको शब्द मी टूलाई फेरि उजागर गरायो । बिस्तारै महिलाहरूले आफ्नो कथा भन्न थाले । लिजिललाई यो अभियानले छोयो । उनलाई लाग्यो, महिला हिंसा रोक्न यो अभियानमा लाग्नुपर्छ ।
लिजिल मी टू नभएको भए क्रमिक यौन हिंस्रकको वास्तविकता अझै कति वर्षसम्म लुक्ने होला ? उनी भन्छिन्, “मी टू यस्तो मोडमा छ, जहाँ कुनै महिलाले प्रमाणित गर्न नसकिने आरोप लगाइन् भने त्यस कुरालाई हामी अनुसन्धानबिनै गम्भीरताका साथ लिन्छौँ ।”
अमेरिकामा त यति धेरै यौन हिंसा, यौन दुर्व्यवहार हुन्छ र प्रमाणहरू जुटाउने पहुँचमा खासै काम हुँदैन भने नेपालमा धेरै नै गाह्रो भएको उनको सोच छ । त्यही भएर सुरुमा उनीहरूले कम्पनीको नाम पनि मी टू किट्स राखेका थिए । यही मुभमेन्टमा ऐक्यबद्धता गर्दे प्रोडक्टहरु डिजाइन गरेका थिए ।
लिडा हेल्थको प्रोडक्ट
सन् २०१९ मा म्याडिसन क्याम्पबेल र लिजिल वैद्यले संयुक्त राज्य अमेरिकामा यौन दुर्व्यवहारको बारेमा सामना गर्नुपरेका तथ्याङ्कहरू पत्ता लगाए । तर ७७ प्रतिशत दुर्व्यवहार त रिपोर्टसम्मै गरेको पाएनन् । लिजिललाई अमेरिकामा त यस्तो हुँदो रहेछ, नेपालमा कस्तो होला ? यसमा लाग्नैपर्छ भन्ने उनको संकल्प नै आजको सफलताको मूल कडी हो । जो आक्रमणपछि तुरुन्तै अस्पताल जान पनि सक्दैनन्, तिनीहरूलाई नै सोचेर यसको परिकल्पना गरेर बनाएका हुन् ।
यौन हिंसा तथा दुर्व्यवहार विषयको रोकथाममा टेक्नोलोजी उद्योगमा नयाँ काम गर्न सुरु गरेका हुन् । लिजिलको कम्पनी लिडा हेल्थले निर्माण गरिरहेको टेक्नोलोजीले यौन आक्रमण रोक्न मद्दत गर्छ ।
लिडा हेल्थ पहिलो कम्पनी हो, जसले यौन आक्रमणपछि समय–संवेदनशील फरेन्सिक प्रमाण सङ्कलनलाई सुलभ, सुरक्षित गर्न सजिलो प्रक्रिया बनाउँदछ । लिजिलको लिडा हेल्थले मुख्यतः यौन दुर्व्यवहारबाट बचेकाहरूलाई समग्र स्वास्थ्य सेवा प्रदान गर्दछ ।
प्रारम्भिक प्रमाण किटहरू, हेरचाह टोली, मानसिक स्वास्थ्य समर्थन, एक एकीकृत प्रयोगकर्ता र प्रयोगशाला पोर्टल, आपतकालीन गर्भ निरोधकहरू, यौन सञ्चारित सङ्क्रमण परीक्षण र परिवर्तनकारी न्याय मोडालिटीहरूमा पहुँच प्रदान गर्दछ । उनीहरूले अस्पतालहरू, संस्थाहरू, विधायकहरू र विश्वविद्यालयहरूसँग थप स्रोतहरूद्वारा सर्भाइभरहरुलाई सशक्त बनाउन काम गर्छन् ।
उनीहरुले यौन दुर्व्यवहार पीडितहरूको आवश्यकताहरू पूरा गर्न स्वयं–प्रशासित डीएनए सङ्कलन र यौन स्वास्थ्य परीक्षण गरिने जस्ता स्रोतहरू विकास गरेका छन् । उनी भन्छिन्, “हामीले फोरेन्सिक, कानुन, स्वास्थ्य सेवा, डिजाइनरहरू, इन्जिनियरहरू, राजनीतिक वैज्ञानिकहरू र यस्तै केससँग जोडिएको वकालतमा अनुभव भएकाहरूसँग सञ्जाल बनाएका छौँ ।”
अमेरिकामा १८ वर्ष हुनासाथ घरबाट बाहिरिन्छन् । त्यतिबेला उनीहरु पहिलोपटक पार्टी, अल्कोहलदेखि स्वतन्त्रताको अनुभव गर्छन् । प्रायः त्यहीबेला नै यौन हिंसा, दुर्व्यवहारका घटनाहरु बढी हुने लिजिलको तथ्याङ्कले बताउँछ । उनीहरू घरबाट निस्केको १२ हप्ताको समयलाई रेड जोनको रूपमा लिन्छन् ।
यौन हिंसाका घटनाहरु हुन सक्ने कारण क्लब, युनिभर्सिटी, आर्मी क्याम्पलगायत विभिन्न क्षेत्रहरुमा लक बक्स राखिएको हुन्छ । जहाँ स्मार्ट लक हुन्छ, लकले स्क्यान गरेपछि आवश्यक सामानहरू पाइन्छ । लक खोल्नलाई भने अनलाइन पार्टनरहरू छन् । त्यसको सहयोगबाट खोल्न सकिन्छ । लक बक्स भएको ठाउँसम्म पनि जान सकिएन भने लिडा हेल्थसँग आबद्ध भएको डेलिभरी कम्पनीहरूबाट १०, १५ मिनेटभित्रै किट्स डेलिभरी हुने व्यवस्था गरिएको छ ।
लिडा हेल्थको यो किट्सले अपराधीलाई कस्टडीसम्म लैजान मद्दत गर्ने हुँदा अमेरिकामा यसको माग छ । कसैले वास्ता नगरेको यस विषयमा टेक्नोलोजीको माध्यमबाट तयार पारेको यो डिजिटल सिस्टम र किट्सकै कारण उनीहरू अहिले चर्चामा छन् ।
कौतुहलता र आक्रोश नै सफलताको कसी
उनको सफलताको कथाभित्र उनले देखेका, सुनेका र दबाइएका घटनाहरूको आक्रोश पनि हो । हिंसा कसैले कसैलाई गर्नु हुँदैन । तर भइहाले भने त्यसको दोषीलाई सजाय हुनुपर्छ भन्ने उनको सोच हो । यसलाई आफूले जानेको, पढेको टेक्नोलोजीलाई कसरी प्रयोग गर्ने कौतुहलता पनि सफलताको कसी हो । उनी त्यसैको लागि टेक्नोलोजीमार्फत लडिरहेकी एक युवा हुन् । उनी भन्छिन्, “असफलतासँग नडराउनुहोस् । हाम्रा कमीकमजोरी हाम्रो बाधक होइनन्, अवसर हुन् । प्रत्येक गल्तीबाट सिक्नुहोस्, प्रत्येक गलत कदमबाट बढ्नुहोस् । र तपाईँले सिकेका कुराहरू अगाडि बढाउनुहोस् ।”
आफ्नो व्यावसायिक यात्राबारे उनी भन्छिन्, “आफ्नै कम्पनी बनाउनु भनेको बच्चा जन्माउनु जस्तै हो । बच्चालाई सही तरिकाले हुर्काउन पर्यो, त्यति नै माया पनि लाग्दो रहेछ । बच्चाको लागि हामी नराम्रो काम गरिँदैन नि । हो, आफ्नो कम्पनी भएपछि कसरी राम्रो र उत्कृष्ट बनाऊँ भन्ने मात्रै लाग्दो रहेछ ।”