
दुःखको गाँस खाएर सुखको आस गर्दै
पलपलमा बल जगाई भरोसाको सास फेर्दै
हँसिया, डोको बोकी उकाली ओराली झर्दै
आफ्नाका लागि चट्टान बनेर साथ दिने
सृष्टिकर्ता सबै नारी जातिमा
अनन्त सलाम छ
जसका निम्ति जन्मघर छोडी डोलीमा घुम्टो ओढेर
आफू डुबेर भए पनि अरूलाई उतार्ने महान् भावझैँ
आफू नांगिएरै भए पनि पुरुषलाई जिउ समर्पण गरी
इज्जतको च्यादरमा फूलझैँ मालामा बेरिएर
अगाध स्नेह, मायाको बाहुपासले मायाको आँचल छर्दै
पुरुषवादी समाजको चिन्तन छेक्ने लाख प्रयास चिर्न
हरदम लागिपर्छिन् उनी विभेदको पर्दाफास गर्न
कहिले उन्युका राइज्वाइडझैँ
कहिले ठिंगो गाडिएको बाँसझैँ
सलाम छ ती स्वप्नसुन्दरी नारीमा
अनन्त सलाम छ
समाजका तीव्र उतारचढाव बीच ट्रान्जिसन ग्यापसँग अड्याप्टेसन हुँदै
मुट्ठी चामले पूरै परिवारको भोक मेटाउने जादु छरी
भोक, निद्रा, प्यासमा आफूलाई टाढा राखेर
मनको सिंहासनमा राख्दछिन् आफ्ना खसमलाई
अनि दश धारा दूध चुसाएका आफ्ना गुँडका बचेराहरूलाई
परिवेश आएमा चण्डी, काली, दुर्गाको रूप धारण गरी
संकटहरण माता बनेर रक्षाकवच बज्रबाहिनी
ती सबै नारी जातिमा
लाखौँलाख नमन छ
पुष्पगुच्छा, कोपिला अनि मञ्जरीबाट फक्रिएकी
षोडशी नवयौवना भोगको लालसामा निदाएको
पुरुषको कामवासना तृप्त गराई
हर्मोनल डिसअर्डरबाट बचाउँछिन् जो
ओखती बनेर दिलको पुर्जा जोडी
क्लनेफेल्टर सिन्ड्रोम देखिँदैन जहाँ
न त देखिन्छ डाउन्स सिन्ड्रोम नै
शरीरसँग होइन, मनसँग प्रेम गर्न सिकाँउछिन् जो
भमरा र फूल होइन, बत्ती र पुतलीको प्रेम सिकाउँछिन् जो
ती महान् पुष्प बाटिकाको शालीनताप्रति
कोटीकोटी नमन छ
भीमदत्त–३, कञ्चनपुर