
काठमाडौं । काठमाडौंबाट करिब ११० किलोमिटरको दूरीमा अवस्थित छ, नोहक गुफा । धादिङको बेनीघाट रोराङ गाउँपालिका–८, घाङमाङ गाउँमा रहेको नोहक गुफा यति बेला चर्चाको विषय बनेको छ ।
गएको शनिबार बेनीघाट रोराङ गाउँकार्यपालिकाको बैठक गुफा प्रांगणमा बसेको थियोे । बैठकपश्चात् जनप्रतिनिधि, अतिथि र सञ्चारकर्मीसहितको टोलीले गुफाको दृश्यावलोकन गरेको थियो । गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयले यसलाई दक्षिण एसियाकै ठूलो गुफा भएको दाबी गरेका छन् ।
गुफासम्म पुग्न पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको चरौँदीबाट करिब २६ किलोमिटर उकालो साँघुरो र जोखिमपूर्ण सडक पार गर्नुपर्छ । उक्त सडकको स्तरोन्नतिका लागि यो वर्ष वाग्मती प्रदेश सरकारले ९९ करोड रुपैयाँ विनियोजन गरेको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले जानकारी दिए ।
भौगोलिक रूपमा विकट भए पनि राम्रोसँग प्रचारप्रसार र आउने बाटो सहज भएमा गुफा हेर्न आन्तरिक र विदेशी पर्यटकको घुइँचो लाग्ने अध्यक्ष थपलियाको विश्वास छ ।
गुफाभित्र छिर्ने बाटो, त्यहाँभित्र खानेपानी, विद्युत्, सञ्चारलगायत भौतिक पूर्वाधारको विकास र गुफाको सुन्दरता झल्काउने काम अगाडि बढाइँदै छ । गुफासम्म विद्युत् पुर्याउन यति बेला पोल गाड्ने काम भइरहेको छ ।
घाङमाङका चेपाङ समुदाय गुफाको संरक्षणमा लागिपरेको छ । चेपाङ समुदायका अगुवाका अनुसार गुफाभित्र मनमोहक दृश्य, विभिन्न कलाकृति र झरना समेत छ । उनीहरू आन्तरिक र विदेशी पर्यटकलाई गुफामा घुमाउने गर्छन् । उनीहरूका अनुसार नोहक गुफा पूरै अवलोकन गर्न करिब तीन/चार घण्टा लाग्छ ।
थप तस्बिर हेर्नोस्–