site stats
बाह्रखरी :: Baahrakhari
कला
‘गोर्खा वारियर’मार्फत विदेशमा नेपाली चलचित्रको बजार खोज्दै मिलन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’ले विदेशमा बजार खोज्ने प्रयास गर्ने भएको छ । नेपाल र नेपालीको गौरव र पहिचानको विषय गोरखा सैनिकलाई मुख्य विषय बनाएको चलचित्रले अन्तर्राष्ट्रिय बजार खोज्ने प्रयास गरिरहेको छ । 

बेलायत, अमेरिका, सिंगापुर, भारत, अष्ट्रेलिया, क्यानडा, हङकङलगायत देशमा फोकस गर्ने निर्देशक मिलन चाम्स बताउँछन् । “हामीले त सकेसम्म चलाउने विश्वभर नै हो,” उनी भन्छन्, “माथि उल्लेख गरेका देशमा थप फोकस गर्ने हो । किन भने यी देशलाई गोर्खा सैनिकबारे धेरैलाई थाहा छ । आफूले थाहा पाएको विषयमा चलचित्र भएकाले हेर्छन् भन्ने हाम्रो अपेक्षा हो ।”

बेलायतमा दश हजार दर्शक क्षमताको हलमा सिनेमाको ग्रान्ड प्रिमियर गराउने आफ्नो योजना रहेको उनको भनाइ छ । मिलन विदेशमा बसेका नेपालीलाई मात्रै चलचित्र देखाएर नेपाली चलचित्रको बजार विस्तार नहुने बताउँछन् । 

Argakhachi Cement Island Ad

“हामीले हाम्रो आफ्नै देशको कथा भनेमात्रै विदेशमा सहज रूपमा जान सक्छौँ । गोर्खा सैनिकको योगदान र बहादुरी झन राम्रो आफ्नै कथा हो । विश्वले नेपाली भनेर गोर्खालीलाई चिन्ने भएकाले पनि यो कथामार्फत विदेशीमाझ जाँदा हामीलाई थप सहज हुन्छ भन्ने लाग्छ,” निर्देशक मिलन भन्छन्, “गोर्खाली भनेर विश्वले हामीलाई चिन्ने भएकाले पनि गोर्खा वारियरमार्फत हामी हाम्रो सिनेमा लिएर अन्तर्राष्ट्रिय बजारमा जाँदा माइलेज पाउन सहज हुन्छ भन्ने हाम्रो अपेक्षा हो ।” 

यो चलचित्रलाई लिएर विश्वलाई उत्सुक बनाउन सकिने उनको विश्वास छ । जुनपायो त्यही विषय र चलचित्रबाट विश्वको ध्यान खिच्न नसकिने बताउने उनी यो नै उपयुक्त समय र विषय भएको दाबी गर्छन् । 

कम्युनिटी हलमा सिनेमा देखाएर नेपाली चलचित्र विश्वमा चल्याे भन्नु गलत भएको उनी बताउँछन् । सेन्सर भएर सिनेमा हलमा नियमित नचलेसम्म विदेशमा सिनेमा चल्यो भन्न नमिल्ने उनको जिकिर छ । अक्सर अहिले विदेशमा कम्युनिटी हलमा नेपाली सिनेमा चलाउने गरिएको उनको भनाइ छ । 

‘गोर्खा वारियर’ सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीलाई प्रस्तुत गर्ने चलचित्र हो । 

नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा चलचित्र प्रदर्शन हुने निर्देशकको भनाइ छ । अंग्रेजी सबटाइलभन्दा पनि भाषा नै त्यही भयो भने त्यसको अझ बढी प्रभाव पर्ने अपेक्षा आफूले गरेको मिलन बताउँछन् । 

चलचित्रमा विजय लामा, रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवनसिंह राई, दिग्गज खत्री, सरोज खालिङलगायत कलाकारको अभिनय छ । विजय लामा सैनिक मेजरको भूमिकामा छन् । 

नेपाल र मलेशियामा खिचिएको चलचित्रमा मिलन र गिरिराज घिमिरेको लेखन रहेको छ । चलचित्र सन् २०२३ मा रिलिज हुनेछ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ०५:०७
प्रतिक्रिया दिनुहोस्