site stats
अर्थ व्यवसाय
सरकारले नेपाली प्रविधिलाई प्राथमिकता दिएन : वरिष्ठ उपाध्यक्ष ढकाल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन् । 

मंगलबारबाट सुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उनले नेपाल टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको भएपनि सरकारले नेपाली इन्जिनियरहरुले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको उल्लेख गरे । 

S.A.U
Agani Group

नेपाली इन्जिनियरहरुले बनाएका टेक्नोलोजी विदेशीको तुलनामा कम नरहेको बताए । नेपालमा टेक्नोलोजी उत्पादन गर्ने प्राविधिकहरु कमी नभएको बताए । नेपालले टेक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँगपनि प्रतिस्पर्धा गर्नसक्ने अवस्था रहेको बताए । आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताए । 

“नेपाल आईटी सेक्टर वा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको छ । कतिपय प्रोडक्टहरु नेपाली प्रोडेक्टहरु जो नेपाली आइटी इन्जिनियरहरुले तयार गरेको सफ्टेवेयर, डिजिटलाइज गर्ने कुराहरुले हामी विश्वको कुनैपनि विदेशी आईटी कम्पनीको तुलनामा नेपालको आईटी प्रोफेसनलहरु कमी छ भन्ने मलाई लाग्दैन,” उनले भने, “हाम्रो जीवनमा आउनेसक्ने टेक्नोलोजीको हिसावले कताकता हामी नेपाली टेक्नोलोजीलाई अहिले प्रायोरिटि नदिएको हो की भन्ने मलाई लाग्छ ।”

Global bank

वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनैपनि क्षेत्रको विकास हुन सम्भव नरहेको बताए । “नेपाली प्रोडक्टमा १५ प्रतिशतसम्म हामी बढी मूल्य दिनसक्ने भन्ने किसिमको नीति रहेको छ । त्यही अनुरुप सरकारले टेक्नोलोजी उत्पादनलाई आन्तरिक उत्पादनलाई प्राथमिकता दिनुपर्छ,” उनले भने, “सरकारले जबसम्म नेपाली उत्पादन, सफ्टवेयर टेक्नोलोजीलाई हरेक निकायले प्राथमिकता दिएर अघि बढाउने प्रयास गर्दैनन् तबसम्म यो क्षेत्रले फड्को मार्दैन ।”  
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय