
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण लगानी नबढ्दा बैंकहरूमा राखिने पैसाको ब्याजदर पनि घट्दै गएको छ । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा मुद्दती निक्षेपको ब्याजदर लगातार घटिरहेको छ । वैशाखमा वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याज औसत ६ प्रतिशतभन्दा कम छ ।
आगामी दुई महिना (जेठ र असार)मा पनि बैंकहरूको ब्याजदर नबढ्ने निश्चित जस्तै भएको छ । वैशाखका लागि ब्याजदर बढाएका एक–दुई वाणिज्य बैंकले केही बढाए पनि अरुले कि स्थिर राख्ने वा घटाउने रणनीति बनाएका छन् ।
बैंकमा निक्षेप बढ्दै गएको छ । कर्जा लगानी बढ्न सकेको छैन । वैशाख २६ गतेसम्म ६१ खर्ब ३३ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन भएको नेपाल बैंकर्स संघले जनाएको छ । सोही अवधिसम्म ऋण लगानी ४९ खर्ब आठ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.०९ प्रतिशत रहेको संघको तथ्यांक छ । यसको मतलब अझै पनि बैंकहरूसँग प्रशस्त लगानीयोग्य रकम छ ।
लगानीयोग्य रकम हुँदाहुँदै बजारबाट पैसा उठाउन बैंकहरूलाई प्रतिस्पर्धा गर्नुपर्ने आवश्यक छैन । यही कारण पनि आगामी महिना बैंकहरूले ब्याजदर नबढाउने भएका हुन् । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार, चालु आर्थिक वर्षभरी नै ब्याज नबढ्ने देखिन्छ । “अहिलेको अवस्थामा ब्याजदर बढ्दैन । सरकारले ल्याउने आगामी वर्षको बजेट र राष्ट्र बैंकको मौद्रिक नीतिलाई कुर्नुपर्ने देखिएको छ,” कोइरालाले भने ।
सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि जेठ १५ गते बजेट प्रस्तुत गर्दै छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्मा आइतबार (वैशाख २८ गते) कर प्रस्तावबाहेक विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिसकेका छन् । त्यसैगरी नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि साउन पहिलो साता मौद्रिक नीति ल्याउँछ । यी नै नीतिलाई बैंकरहरूले कुरिरहेका छन् ।
गत वर्ष ०८१ वैशाखयता बैंकहरूको ब्याजदर घट्दै गएको छ । बैंकहरूमा प्रशस्त तरलता भएसँगै महँगोमा बजारबाट पैसा नउठाउने पक्षमा उनीहरू देखिन्छन् । गत ०८१ वैशाखमा बैंकले मुद्दतीमा दिने ब्याजदर ८.५९ प्रतिशत थियो । त्यसैगरी साधारण बचतमा ३.७८ प्रतिशत र कुल बचतमा १.६ प्रतिशत थियो ।
त्यसपछि बैंकले निक्षेपकर्तालाई दिने ब्याजदर घट्दै आएको छ । हालसम्म आइपुग्दा बैंकहरूले सर्वसाधारणबाट लिने निक्षेपमा दिने ब्याजदर ५.९८ प्रतिशतसम्म झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, गत चैतमा मुद्दती निक्षेपको ब्याजदर ६.१० प्रतिशत थियो ।
चैतमा बैंकहरूको औसत आधारदर ६.२६ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकले नीतिगत दरलाई पाँच प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतमा राखेको छ ।
राष्ट्र बैंकले तोकेको ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमा र माथिल्लो सीमाको बीचमा बजारको ब्याजदर रहन्छ । उदाहरणका लागि राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा तोकेको छ भने बजारको ब्याजदर तीन प्रतिशतभन्दामाथि रहन्छ । यदि माथिल्लो सीमा ६.५ प्रतिशत तोकेको छ भने ६.५ प्रतिशतभन्दा तल रहन्छ ।
यसको अर्थ बजारको ब्याजदर तीन र साढे ६ प्रतिशतको बीचमा रहनेछ । यदि बैंकहरूले ब्याजदर बढाए वा घटाए भने पनि एकै चोटी बढी घट्बढ् गर्न पाउनेछैनन् ।
राष्ट्र बैंकको नीतिअनुसार हाल कायम ब्याजदरको १० प्रतिशत थपघट गर्न सक्छन् । जस्तैः हाल कुनै बैंकले औसत ६ प्रतिशत ब्याज दिँदै आएको छ भने यो बैंकले ६ प्रतिशतको १० प्रतिशत थपघट गर्न पाउँछ । त्यो बैंकले ब्याजदर बढायो भने ०.६ प्रतिशत विन्दुले बढाएर ६.६० पुर्याउँछ । त्यस्तै, घटायो भने ०.६ प्रतिशत विन्दु घटाएर ५.४० प्रतिशतमा झार्छ ।