
बेलका (उदयपुर) । सुनसरीको चतराबाट उदयपुरको मैनामैनी, रामपुर र ठोक्सिलातर्फ जानुपर्दा सप्तकोसीमा डुंगा चढ्नुको विकल्प थिएन । बेल्टार हुँदै पहाडतर्फ उक्लने यात्रुलाई सप्तकोसीको अवरोध थियो । दोस्रो विकल्प पहिल्याउनेहरू कोसी ब्यारेज तरेर सप्तरी हुँदै उत्तर जानु पर्दथ्यो । तर, चतराघाटमै सप्तकोसीमाथि पुल बनेपछि अहिले उदयपुरको पूर्वीक्षेत्र र बेल्टार हुँदै पहाडतर्फ जाने बाटो छोटिएको छ ।
नयाँ पुल र सडक बनेसँगै धेरै यात्रुले हिजोआज सुनसरीको धरानबाट चतरा हुँदै अथवा इटहरीको कान्छीचोकको उत्तरपश्चिमतर्फको बाटो रोज्दै उदयपुरतर्फको यात्रा सुरु गर्छन् । उदपयुर जिल्लाको पूर्वी भेगमा पर्ने बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिका धेरै क्षेत्रमा अहिले सडकले पारेको सकारात्मक प्रभाव महसुसन हुन सुरु भएको रामपुर बजारका होटल व्यवसायी चन्द्र विष्ट बताउँछन् ।“रामपुर बजारकै कुरा गर्नुहुन्छ भने खरले छाएका साना झुप्राझुप्रीबाहेक केही टिनले छाएका घरमात्र देखिन्थे, धेरै चहलपहल थिएन,” विष्टले भने, “अहिले चतराघाटमा पुल बनेपछि यहाँको सहरीकरण आँखैले देख्न सकिन्छ । बजारमा चहलपहल छ । नयाँ–नयाँ बजार बन्ने र थपिने क्रममा छन् ।”
रामपुरमा विष्ट होटल एन्ड लज संचालन गरिरहेका उनी खोटाङबाट बसाईं सरी आएका हुन् । अहिले त्यहाँ सहरीकरण बढेसँगै गरिखाने आधार पनि क्रमशः थपिँदै गएको विष्टले बताउँदै भने, “पहिले जंगल र कहालीलाग्दो भिरपाखामा को बस्छ भन्ने मानिस अहिले मास्तिरबाट बसाईं सरेर तल आउन थाले । केही नभए पनि सानो होटल खोलेर पनि मान्छेले गरिखाएका छन् । घर गाउँमा उब्जिएको बाली बजारसम्म झार्दा बाहिर बिक्री गर्न पठाउन सकिन्छ । बिरामी हुँदा सहजै धरान र विराटनगर चाँडै गरी पुग्न सकिन्छ ।” कोसी नदीमाथि पुल निर्माण हुनु र सडकको बन्नुले यो क्षेत्रमा विकासले गति लिएको विष्टले सुनाए ।
मनोज आचार्य कहिले काठमाडौं कहिले उदयपुर गरिरहन्थे । धेरैजसो काठमाडौं नै बस्थे । यतै आफ्नै घरगाउँमा केही गरौं भन्ने हुटहुटी पनि चलिरहन्थ्यो । अन्ततः उनले निर्ण लिएँ यतै रामपुरठोक्सिलामा व्यवसाय संचालन गर्ने । अहिले बेलका नगरपालिका ९ रामपुरमा सवारी मर्मत केन्द्र खोल्ने तयारीमा छन् । यही माघ २७ गतेको साइत पारेर सवारी मर्मत केन्द्र(ग्यारेज) उदघाट्न गर्ने तयारीमा छन् । भने,“सडक खुलेपछि यातायात साधन थपिएका छन् । म्याजिक भ्यानदेखि ठूला बस चतरा हुँदै गाईघाटसम्म चल्न थालेका छन् । बेल्टार हुँदै पहाडतिर जानेहरू पनि थपिएका छन् । त्यसैले व्यवसाय चल्ने देखेरै खोल्न लागेको हुँ ।”
चतराबाट गाईघाटसम्म सडक निर्माणको कार्य सम्पन्न भएसँगै सप्तकोसीका कारण निकै लामो समयदेखि ओझेलप्राय रहेको यो क्षेत्रमा विकास र सहरीकरणले गति लिएको स्थानीयले बताउने गरेका छन् । पहिले कोसी तर्न डुंगाको सहारा थियो । अहिले पुल बनेसँगै सुनसरीको धरान र झुम्का हुँदै इटहरी अनि विराटनगर झर्नेलाई सहज भएको हो । चतराबाट–गाईघाट हुँदै मकवानपुरको भिमानसम्म जोडिने सडकका केही भागमा पुलबाहेकका संरचना निर्माण भइसकेका छन् । काठमाडौबाट चतराहुँदै पूर्व आउनेका लागि यात्रा छोटिएको छ ।
बेल्टारमा होटल चौदण्डी संचालन गरिरहेका विनोद सेढाईं सडकले बेल्टारलाई नछिचोल्दा यो बजारलाई केही असर गरे पनि अन्यत्र विकासको राम्रो प्रभाव परेको बताउँछन् । “सहरीकरण र बजार विस्तार भएको देखिन्छ । तर, यातायातका साधन जुन ढंगले संचालन हुुनपर्दथ्यो अझै हुन सकेको छैन,” उनले भने, “रुट मिलाएर नियमित रुपमा यातायाताका साधन यताबाट संचालन हुन थाले व्यावसायमा अझ धेरै सकारात्मक प्रभाव पर्ने देखिन्छ ।” सेढाईंले सडक निर्माणपछि यो क्षेत्र गुल्जार बन्न निकै सहयोग पुगेको बताए ।