
सोल । उत्तर कोरियाले अमेरिकी सैन्य चालहरुको आणविक शक्तिमार्फत प्रतिउत्तर दिन सक्षम रहेको बताएको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास विस्तारका कारण सिर्जित तनावले खतराको अधिकतम विन्दुतर्फ धकेलिरहेको समयमा बिहीबार उत्तरले आणविक शक्तिको बलमा आफू प्रतिउत्तरका लागि सक्षम रहेको जवाफ दिएको हो ।
अमेरिकी रक्ष मन्त्री लोयड अस्टिनले मंगलबार सोलमा अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासलाई मजबुत बनाउने क्रममा कोरियाली प्रायद्विपमा लडाकु विमान र विमानवाहकहरु लगायत अत्याधुनिक सैन्य उपकरणहरुको तैनाथी बढाउँदै लग्ने बताएपछि प्योङयाङको विदेश मन्त्रालयले यो विज्ञप्ति जारी गरेको हो ।
सन् २०२२ मा उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकामाथि लक्षित आक्रमण गर्न सक्ने आणविक हतियार बोक्न सक्षमसहितका दर्जनौँ क्षेप्यास्त्र परीक्षण प्रक्षेपण गरेपछि सोलको सुरक्षा आशंका बढ्न थालेको बीबीसीले लेखेको छ ।
दशकौँदेखि उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैनिक अभ्यासलाई आफूमाथि आक्रमण गर्ने पूर्वाभ्यासको संज्ञा दिँदै आएको छ । तर, वासिंगटन र सोलले यसलाई प्रतिरक्षात्मक अभ्यास मात्र भएको बताउँदै आएका छन् ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले आफ्नो पश्चिमी जलीय भागमाथि बुधबार गरिएको एक अभ्यासमा अमेरिकाले बी–१बी बमवर्षक र एफ–२२ र एफ–३५ लडाकु विमानहरु उडाएको जनाएको छ ।