
इस्लामाबाद । पाकिस्तानी सहर पेशावरस्थित एउटा मस्जिदमा भएको बम विस्फोटमा कम्तीमा ३२ जनाको ज्यान गएको छ । अन्य १५० जना घाइते भएका छन् ।
मस्जिद भवनको एउटा खण्ड ध्वस्त भएको छ भने सरकारी अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन् ।
मारिनेमध्ये अधिकांश प्रहरी बलका सदस्यहरू रहेका छन् । बम आक्रमण नै उनीहरूमाथि लक्षित रहेको विश्वास गरिएको छ ।
अघिल्लो खबरअनुसार अग्रपंक्तिमा बसिरहेका एकजना व्यक्तिले आत्मघाती विस्फोट गराएका थिए । तर, यो खबर पुष्टि भइसकेको छैन । अहिलेसम्मब कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
पेशावर नगर प्रहरी अधिकारी मुहम्मद इजाज खानले विस्फोटको समय सो क्षेत्रमा २०० देखि ४०० प्रहरी अधिकारी रहेको स्थानीय सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।
प्रधानमन्त्री सेहवाज सरिफले यस घटनाको कडा शब्दमा भर्त्सर्ना गरेका छन् । उनले एक विज्ञप्तिमार्फत भनेका छन, “यस घटना पछाडिका मानिसहरूको इस्लामसँग कुनै सरोकार छैन । सम्पूर्ण मुलुक आतंकवादका खतराविरुद्ध एकजुट भएर उठिरहेको छ ।”
अफगानिस्तानको सीमासँग जोडिएको यस उत्तर पश्चिमी सहरको मस्जिदमा अपराह्नको प्रार्थना सभापछि विस्फोट भएको हो ।
बीबीसीबाट ।