site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विषाक्त मदिरा सेवनबाट आठजनाको मृत्यु

नयाँदिल्ली । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट आठजनाको मृत्यु भएको छ । मदिरा पिएकामध्ये ६ जनाले आँखाको ज्योति गुमाएका अल इण्डिया रेडियोले जनाएको छ । 

विहारको राजधानी पटनाबाट करिब १०७ किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको लकरी नबगञ्जमा विषाक्त मदिरा पिएर एकजनाको मृत्यु भएको खबर आएको थियो ।

बिरामी परेका १४ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने सरकारी प्रसारणमा जनाइएको छ । मदिरापानबाट बिरामी भएकामध्ये ११ जनालाई पटना मेडिकल कलेज अस्पताल र तीन जनालाई गोरखपुर अस्पतालमा भर्ना गरिएको छ । 

हात निर्मलीकरण गर्ने स्यानिटाइजर बनाउने बहानामा कोलकाताबाट ल्याइएको ‘स्पिरिट’बाट नक्कली मदिरा उत्पादन गरिएको विहारका अतिरिक्त प्रहरी महानिर्देशक जेएस गङ्गबारले बताएका छन् । विषाक्त मदिरा बिक्री गरेको अभियोगमा १६ जनालाई पक्राउ गरिएको छ ।

विषाक्त मदिरा बेचविखनविरुद्ध अनुगमन नगरेको आरोपमा दुईजना अधिकारीलाई निलम्बन गरिएको छ । गत महिना विषाक्त मदिरा सेवनबाट विहारको शारण जिल्लामा ९० जनाले ज्यान गुमाएका थिए । रासस÷ सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १६:५९