
उसको भाषण सुन्दा रिस उठ्थ्यो रहरलाई, “जहिल्यै जनता ! बन्चरोले चिर्नुपर्ने जिब्रो !”
समाचारमा उसको अनुहार देख्दा उत्तेजित हुन्थ्यो रहर, “अनुहार हेर्दै अपराधी ! हत्केलामा थुकेर त्यही हत्केलाले गाला चड्काइदिऊँजस्तो !”
बिचरो रहर सराप्नभन्दा बढी अरू केही गर्न सक्दैनथ्यो र प्रायःजसो निराश र हतास देखिन्थ्यो !
एक अनौठो दिन, खुसी हुन्छ होला भनेर मैले सत्य समाचार सुनाएँ रहरलाई, “सधैँ सराप्थिस्, ऊ त हिजो राति ‘तुम छ्याँ’ भएछ नि !”
अचम्म ! रहर पटक्कै खुसी देखिएन, “ला, आफैँ मरेछ ? अन्याय भो !”
“हो, आफैँ मरेछ । अब भन् कसरी अन्याय सच्याएर न्याय हुन्छ ?,” म जिज्ञासिएँ ।
रहरले काँचो पिँडालु चाटेको आवाजमा भन्यो, “अब सत्गत गर्छन् होला । हुने भए उसलाई नपोलियोस्, बरु गाडियोस् !”
“लौ किन ? उसको धर्मै परिवर्तन गरिदिने ? उसलाई त परम्पराअनुसार घ्यु र कपुरले दाउरा सल्काएर आगोमा पो पोल्छन् त !”
“न्यायको रहर हो, मिल्ने भए नपोलियोस् । गाडियोस् !”
मैले उसले रहर गरेजस्तै गाड्न लगाइदिएँ र खबर गरेँ, “ल, तैँले भनेजस्तै नजलाएर गाड्न लगाइदिएँ । अब त खुसी भइस् ?”
“भइनँ । खुसी हुने बेला अलि आइसकेको छैन । मेरो योजना बेग्लै छ ।”
“मरी त सक्यो, तेरै इच्छाबमोजिम गाडिइसक्दा पनि खुसी भइनस् ? केको थप योजना ? के बाँकी छ ?”
“भनेँ त, न्याय बाँकी छ । एक कालो रातमा कसैले नदेख्ने गरी सुटुक्क चिहानमा पुगेर खन्नु छ, उसलाई गाडिएको ठाउँबाट निकाल्नु छ ।”
“छ्या, कत्रो भुंग्रो रिस हो ! किन निकाल्नु हौ गाडिसकेको लासलाई ?”
“कुहिन थालेको लासलाई जसोतसो ठिंग उभ्याएर मनभरिको आरोप लगाउनु छ र त्यही आरोपको आधारमा आफैँले फैसला गरेर आफैँले फाँसी दिनु छ ! अनि मात्र अन्याय सच्चिन्छ ।”