site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरमा झन्डा रहुन्जेल म आउँदिनँ भनेर हिँडे भूपी 
Tiktok banner adTiktok banner ad

बिहानै झ्यालको पर्दा खोल्दा पर माछापुच्छ्रेको शिर टल्कियो । मनै आनन्दित भयो । पोखराको सौन्दर्यमा केही बेर तैरिएँ । उत्निखेरै सम्झिएँ, कवि तीर्थ श्रेष्ठलाई ।

केही बेरपछि फोन गरेँ । कुराकानी हुँदा तीर्थ दाइले भने, “आज भूपी जन्मजयन्ती हो । दिउँसो एउटा कार्यक्रम छ । त्यतै व्यस्त हुन्छु । साँझतिर लिटरेचर फेस्टिभलमै भेट होला ।”

पुस १० गते । ‘बाह्रखरी कथाका अन्तरकुन्तर’ शीर्षकको बहस त्यसै दिन थियो । फलतः गोविन्द दाइ (गोविन्द अधिकारी) र मेरो दिन लेकसाइड र फेवातालपूर्वस्थित लिटरेचर फेस्टिभलस्थलमै बित्यो ।

पुसको साँझ । छिट्टै अँध्यारो हुनु अस्वाभाविक थिएन । झमक्क भएपछि गोविन्द दाइ र मैले समारोहस्थल छोड्यौँ । र, दाइसँगै पुगेँ एक समय कवि भूपी शेरचनसँग निकट सम्बन्ध रहेका नीलकण्ठ शर्माकहाँ ।

गोविन्द दाइले नीलकण्ठ शर्मा र भूपी शेरचनबीचको सम्बन्धका बारेमा बताएपछि शर्माजीसँग भेट नगर्ने कुरै थिएन । त्यसमाथि दिन पनि भूपी जन्मजयन्तीको । भूपीजयन्तीमा भूपीबारे कुरा गर्न पाउनु मेरा लागि अहोभाग्य थियो ।

शैक्षिक क्षेत्र र राजनीतिमा लामो समय बिताएका शर्माले आफ्नो र भूपीको सम्बन्धबारे बताए । उनले भूपीको साहित्यभन्दा पनि भूपीसँगको सम्बन्धको कुरा सुनाए ।

एक से एक कविता लेखेर नेपाली साहित्यिकवृत्तमा विशिष्ट उचाइ कायम गरेका भूपीसँग नीलकण्ठको सम्पर्क भूपीका दाजु योगेन्द्रमान शेरचनका कारण भएको थियो ।

योगेन्द्रमान र शर्माबीच निकटता थियो । दुवै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय । योगेन्द्रमानकै कारण उनका कान्छा भाइ भूपीसँग शर्माको सम्बन्ध विस्तार भयो ।

शर्माका अनुसार भूपी साह्रै मनकारी मानिस थिए । कविता खरो लेख्थे, तर मन कमलो थियो । अप्ठेरोमा परेकालाई भूपीले सहयोग गर्ने गरेको शर्मा स्मरण गर्छन् ।

साँझ लेकसाइडस्थित उनको निवासमै भेट हुँदा शर्माले भने, “भूपीलाई मैले चिनेको उनका दाजु योगेन्द्रमानकै कारण हो । पछि म उनीसँग नजिक भएँ । भूपीको साहित्यका विषयमा त म त्यति जान्दिनँ, तर भूपीसँग भएका कतिपय रोचक घटनाको साक्षी म पनि भएको छु ।”

एकपटक योगेन्द्रमानले शर्मालाई भूपीसमक्ष केही भन्न पठाए । भूपीका अगाडि पुग्दा उनले आफ्ना दाजुले के भन्न खोजेका हुन् भन्ने कुरो थाहा पाएजस्तै गरी व्यवहार गरे ।

शर्मा भन्छन्, “योगेन्द्रमानजीले भूपीलाई सम्झाइबुझाइ गरेर काठमाडौं ल्याऊ भनेर मलाई पोखरा पठाए । योगेन्द्रजी त्यसबखत जेलबाट छुटेर काठमाडौंमा बसेका थिए । भूपीले सिधै भने, ‘काइँला दाजुले पठाउनुभएको होला, मेरो धेरै माया गर्नहुन्छ । तर, मलाई यसै ठिक छ । मन्त्री हुन्जेल त्यो घरमा जान्नँ ।’ र, आफूले भनेझैँ भूपी उनको कार्यकालभरि काठमाडौंको घरमा छिरेनन् ।”

शेरचन परिवारको घर काठमाडौंको ठमेलमा थियो । संयुक्त परिवारको बसाइ थियो । जब २०१६ सालमा कांग्रेसले सरकार बनायो, योगेन्द्रमान मन्त्रीमा नियुक्त भए । मन्त्री भएपछि घरमा झन्डा हालियो ।

तिनताक भूपी काठमाडौंमै थिए । उनले दाजु योगेन्द्रमानलाई ढोग्दै भनेछन्— जबसम्म यस घरमा झन्डा रहन्छ, म यस घरमा आउँदिनँ ।

यति भनेर पोखरा हिँडेका भूपी बेलाबखत काठमाडौं आए पनि ठमेल घरमा गएनन् । बरु, बाहिरै बसे । त्यसपछिका दिनमा भूपीको धेरै समय पोखरामै बितेको शर्मा सम्झिन्छन् ।

भूपीसँग शर्माको संगत दिनानुदिन बाक्लिँदै गयो । भूपी कतिपय कुरा शर्मासँग साझा गर्थे । एकपटक भूपीले नै रूपातालछेउको एउटा गाउँमा भएको घटना आफूलाई सुनाएको उनले सम्झिए ।

भूपी कम्युनिस्ट विचारधाराबाट प्रेरित थिए । कविता लेख्ने मात्र होइन, भाषण गर्नमा पनि उनी त्यत्तिकै पोख्त थिए । बोली प्रभावशाली थियो । कविता पढ्दा उनका विचार त्यहाँ स्पष्ट पाइने शर्मा सुनाउँछन् ।

एकपटक कामविशेषले भूपी रूपातालछेउको गाउँमा पुगे । उनले त्यहाँ आम नागरिकमाझ सम्बोधन गरे । सम्बोधनका क्रममा ठाउँठाउँमा जोडले ताली बज्यो । त्यस गाउँमा कम्युनिस्टको बाहुल्य थियो । त्यसमाथि भूपीको भाषण । ताली स्वाभाविक थियो ।

कार्यक्रम सकिएपछि भेटघाटको शृंखला सुरु भयो । एकजनाले भूपीलाई भनेछन्, ‘तपाईंले ठिक भन्नुभयो, काजी । अब पर्धानमन्त्री बनाउने भनेकै तपाईंले भनेजस्तै बिधान पर्सादलाई हो ।’

शर्मा भन्छन्, “भूपीले मसँग भने, ‘मैले भाषणका क्रममा विधान परिषद्को कुरो उठाउँदा तिनले किन बेस्मारी ताली बजाए भन्ने कुरो त्यसपछि मात्रै थाहा पाएँ ।’ मलाई यो कुरा सुनाइरहँदा भूपी आफैँ छक्क पर्दै थिए ।”

उनले भूपीको ‘यो हल्लै हल्लाको देश’ सम्झिए । अनि, सम्झिए भूपीको छोटाछोटा तर चोटिला मुक्तक ।

शर्मा भन्छन्, “भूपीका कवितामा गजबको शक्ति छ । काव्यिक भाव अभिव्यक्ति सुन्दर छ । उनको गधालाई पनि हजुर भन्न मन लाग्छ कविता कति चोटिलो छ, भन्नुस् त ।”

भूपीको यस मुक्तकले भन्छ–
प्रत्येक पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ
प्रत्येक रंगीन चरालाई बनको मजुर भन्न मन लाग्छ
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो
अब त बाटामा कुनै गधा देखे पनि हजुर भन्न मन लाग्छ 

शर्माले एउटा अर्को प्रसंग सुनाए, “एकचोटि भूपीलाई ग्यास्ट्रिकले नराम्ररी दुःख दिएछ । भूपीले डाक्टरकहाँ जाने कुरो गरे । म पनि उनीसँगै गएँ । भूपीका साथी नै डाक्टर रहेछन् । दुवैमा तँतँ मम चल्ने । साथीलाई भूपीले आफ्नो समस्या बताए । भूपीका डाक्टर साथीले भने, ‘तँ गइस् अब ! तैँले अब केही खानु हुँदैन । चिल्लो, पिरो, अमिलो, चुरोट, रक्सी, क्यै क्यै खानु हुँदैन ।’

म छेउमै बसेर दुवै मित्रका कुरा चाख मानेर सुनिरहेको थिएँ । त्यसै बेला भूपीले भने, ‘तेरो कुरा सकियो ? अब सुन्, यो त मलाई पनि थाहा छ । जाबो तेरो उपदेश सुन्नका लागि म हिँडेर तँकहाँ किन आउँथे र ! म तेरो भाषण सुन्न आएको हुँ र ! भाषण त म आफैँ गर्छु । म तँकहाँ आएको कारण रक्सी पनि खान मिल्ने र मर्दा पनि नमर्ने कुनै औषधि दिन्छस् कि भनेर हो !’

यसरी भूपीले बोल्न सुरु गरे । उनका डाक्टर साथी चुप्प लागेर बस्या बस्यै भए । हामी हाँस्यौँ र केही बेरपछि त्यहाँबाट हिँड्यौँ ।”

शर्मा नेपाली कांग्रेसका कार्यकर्ता र भूपीका दाजु योगेन्द्रमानको साथी भएकोले एउटा बेग्लै किसिमको सम्बन्ध थियो, उनीहरू बीचमा । भूपी शर्माको साथीका भाइ थिए । तर, सम्बन्ध आत्मीय र मधुर रहेको उनका कुराबाट थाहा हुन्थ्यो ।

यी प्रसंग सुनाउँदै गर्दा नीलकण्ठ शर्माले पुराना दिन सम्झिए, सायद । उनी हाँसे । धमिलो उज्यालोमा शर्माको अनुहारमा मृदुमुस्कान फैलिएको देखियो ।

शर्माले भूपीका केही कविताको चर्चा गरे । त्यसबखत भूपी धेरै माथिका कवि भइसकेको र उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, ‘यो हल्लै हल्लाको देश’ले सबैलाई आकर्षित गरेको शर्मा सम्झिन्छन् । भूपीका कविताले नेपाली जनजीवनका कथा बोलेको उनको भनाइ छ । तर, आफूलाई साहित्यको गहिरो ज्ञान नभएको बताउँछन् ।

शर्मा भन्छन्, “मैले अघि नै भनेँ, म साहित्यिक मानिस होइन । त्यसैले भूपीको साहित्यका बारेमा बोल्न सक्दिनँ । तर, भूपीसँग मेरो संगत निकै राम्रो रह्यो ।”

शर्माले योगेन्द्रमान, भूपी शेरचनको पारिवारिक कुरा सुनाए । शर्माका अनुसार शेरचन राजनीति गर्ने परिवार थिएन । व्यापार–व्यवसायमा सक्रिय थियो ।

भूपी आफ्नो भित्री मनको प्रेरणाले कम्युनिस्ट भएको शर्मा बताउँछन् । योगेन्द्रमानलाई कांग्रेसी बनाइएको उनको भनाइ छ ।

शर्माका अनुसार हितमान सुब्बा पश्चिमाञ्चल क्षेत्रका सबैभन्दा धनी व्यक्ति थिए । उनकै कारण थाकखोलातिरका थकालीलाई काजी भन्ने गरिन्थ्यो । थकालीहरूको त्यत्तिकै मान र इज्जत पनि थियो ।

भूपी पनि काजी नै थिए । तर, कम्युनिस्ट विचारमा यस्तरी लागे, उनलाई अरू कुनै कुराको मतलब रहेन । काजी र सुब्बा उपाधिसँग उनको कुनै लेनादेना थिएन ।

शर्माले सुनाए, भूपी परिवारको बेलीविस्तार । हितमान सुब्बाका पाँच भाइमध्ये अनङ्गमान शेरचनले कांग्रेसलाई ठूलो गुन लगाएका थिए । तर, राणा र दरबारसँग तिनको नितान्त निजी सम्बन्ध थियो । पछि दरबारसँगको सम्बन्ध विस्तार भएर गएको थियो ।

योगेन्द्रमानका माहिला दाजु कृष्णमान सुब्बा भैरहवा बस्थे । उतै व्यापार–व्यवसाय गर्थे । उनको प्रसिद्धि बेग्लै थियो । उनले आफूहरूलाई सहयोग गरेको शर्माले सम्झिए ।

शर्मा भन्छन्, “योगेन्द्रमानजी बनारस बसेर पढ्नुहुन्थ्यो । बीपी कोइराला उहाँलाई ‘इनसाइक्लोपिडिया’ भन्नुहुन्थ्यो । एकदमै मेधावी हुनुहुन्थ्यो, योगेन्द्रजी । कान्छा भूपी एक त कवि, त्यसमाथि कम्युनिस्ट । बाँकी अरू सबै दाजुभाइलाई कसले के गर्ने कसले के गर्ने भन्ने घरायसी जिम्मेवारी दिइएको थियो । त्यसै मेसोमा काइँला योगेन्द्रमानजीलाई कांग्रेसी राजनीतिमा लगाउँदा सहज हुने देखेर उहाँलाई राजनीतिमा ल्याइएको थियो । र, योगेन्द्रजीले पनि एकदम इमानदारीपूर्वक पार्टीको काम गर्नुभएको थियो ।”

शर्माका अनुसार भूपीका कुरा खसोखास हुन्थ्यो । कवितामा उनको विचार स्पष्ट झल्किन्थ्यो । उनी जे लेख्थे, स्पष्ट लेख्थे । लुकाउँदैन थिए । २०१४ सालभन्दा अगाडि नै भूपी रुस पुगेर आएका थिए । त्यस बेला उनको कविता चर्चामा थियो । बीपी कोइरालाले पनि भूपीको कविता र साहित्यिक पक्षको प्रसंशा गर्थे ।

शर्माले फेरि भूपीका कुरा सुनाए । भूपीसँग भेट हुँदा उनी केही न केही रोचक प्रसंग सुनाइरहन्थे । शर्माले भूपीले सुनाएको एउटा अर्को टुक्का हामीलाई सुनाए ।

“एकजना राजाले आफ्नो राज्यमा सबैभन्दा राम्रो कविता कसले लेख्न सक्छ भनेर खोजी गरेछन् । खोज्दै जाँदा एकजना कवि फेला परे । उनलाई राजाले कविता लेख्न भने । उनले लेख्नलाई केही समयसँगै कागज र कलम मागे । कविका लागि सबै कुरोको व्यवस्था गरियो ।

राजाले एक–दुई दिन बिराएर सोध्ने गर्थे– कविता लेखेर सिध्यायौँ ?

तर, कवि भने ‘लेखिसकेको छैन सरकार’ भन्थे ।

यसरी दुई–चार दिन हुँदै दुई चार हप्ता बित्यो । तर, कविले कविता लेखेर राजालाई सुनाएनन् । अनि, एक दिन राजाले भनेछन्– खै त कविता लेखेर मलाई सुनाएको ?

कविले भनेछन्– लेख्दै छु सरकार ।

राजालाई झोँक चलेछ । भनेछन्– तिमीले यतिका दिनसम्म पनि कविता लेखेनौ, म पनि त कविता लेख्छु भन्ने थाहा छैन तिमीलाई ? म त चर्पीमा बस्दा पनि कविता लेख्न सक्छु ।

अनि, कविले भनेछन्– हो सरकार, त्यसैले त सरकारका कविता चर्पीजस्तै गन्हाउँछन् !” 

शर्माले हाँस्दै भने, “यस्ता रमाइला कुराहरू मैले भूपीसँग धेरैपटक सुनेको छु । भूपीसँग बस्दा उनी यस्ता रमाइला कुरा सुनाइरहन्थे । वास्तवमा भूपीमा जतिखेर जसलाई जे भन्नुपर्ने हो, त्यो सामर्थ्य थियो ।”

जतिखेर नीलकण्ठ शर्मासँग भूपीको सम्बन्ध र सम्पर्क थियो, त्यस बेलाको परिस्थिति नै फरक थियो । इतरपक्षकाहरूको तारोमा यी सधैँ रहन्थे । त्यो समयमा साहित्य लेख्नेले पनि घुमाएर लेख्नुपर्ने, बोल्दा पनि विचार गरेर बोल्नुपर्ने समय भएको शर्मा बताउँछन् ।

शर्माले भन्छन्, “यस्तै थियो भूपीसँग मेरो सम्बन्ध । खासमा म आफ्नो काममा व्यस्त रहन्थे । त्यसबाहेक राजनीतिमा पनि सक्रिय थिएँ । त्यसैले भूपीसँग बेलाबखत मात्रै भेट हुन्थ्यो । भूपी सहयोगी स्वभावका थिए । कम्युनिस्ट भएकै कारण उनले कसैलाई निर्देशन दिएर हिँडेको मलाई थाहा छैन । तर, आँचोखाँचो साथीभाइलाई सहयोग गर्थे उनी । तर, भूपीसँग मेरो भेटघाट र सम्पर्क २०२७/०२८ सालदेखि पातलिएर गयो ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro